१९ असोज, काठमाडौं । राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित, मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ ।
मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा सार्वजनिक सवारीसाधनले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधार व्यवस्था गर्न आग्रह गरेको छ ।
लामो दुरीको यात्रामा यात्रुले विश्रामस्थलमा आधारभूत सेवा सहज प्राप्त गर्नुपर्ने भए पनि विभिन्न स्थानमा शौचालय लगायत न्यूनतम सुविधा तथा पहुँचयोग्य पूर्वाधार अभाव रहेको मन्त्रालयले जनाएको छ ।
यस्तो अवस्थाले विशेषगरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई थप समस्या हुने भएकाले विश्रामस्थलको पूर्वाधार समावेशी र पहुँचयोग्य बनाउन आवश्यक रहेको मन्त्रालयको पत्रमा उल्लेख छ ।
मन्त्रालयले निर्माण भइसकेका विश्रामस्थलमा आवश्यक शौचालय सुविधा सुनिश्चित गर्न र शौचालय सुविधा भएका स्थानमा मात्र सार्वजनिक सवारी रोक्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ ।
नयाँ विश्रामस्थल तथा अन्य सडक पूर्वाधार निर्माण गर्दा सुरुदेखि नै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकमैत्री हुने गरी पहुँचयोग्य संरचना निर्माण गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, ज्येष्ठ नागरिक सम्बन्धी ऐन तथा दिगो विकास लक्ष्यले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालयले उक्त पत्राचार गरेको हो ।
सम्बन्धित पूर्वाधार विकास सम्बन्धी कार्यालयलाई समेत आवश्यक निर्देशन तथा समन्वय गर्न आग्रह गर्दै मन्त्रालयले यस कार्यमा आवश्यक सहयोग, साझेदारी र समन्वय गर्ने जनाएको छ ।
चाडपर्व नजिकिँदै जाँदा लामो दुरीका सार्वजनिक सवारीमा यात्रु चाप बढ्ने भएकाले राजमार्गका विश्रामस्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधार आवश्यकता अझ बढ्ने मन्त्रालयले जनाएको छ ।
यात्रुले सुरक्षित, स्वच्छ र मर्यादित रूपमा विश्राम गर्न तथा आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्दै राजमार्गका विश्रामस्थललाई महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि सुरक्षित र पहुँचयोग्य बनाउने उद्देश्यले मन्त्रालयले पहल अघि बढाएको हो ।
प्रतिक्रिया 4