+
+
Shares

बच्चाले ओछ्यानमा पिसाब गर्‍यो ? यस्ता छन् दुर्गन्ध हटाउने सजिलो तरिका

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १४:१०

सानो बच्चा भएको घरमा ओछ्यान भिज्नु नौलो कुरा होइन । विशेषगरी राति निद्रामै पिसाब गर्ने बानी भएका बच्चाले कहिलेकाहीँ ओछ्यानमै पिसाब गरिदिन सक्छन् ।

नवजात शिशुको हकमा त यस्तो समस्या झन् सामान्य हुन्छ ।

तन्ना फेरेर ओछ्यान सफा गर्न सजिलो भए पनि तन्ना मूनि ओछाइएको डस्नामा परेको पिसाबको दाग र त्यसबाट आउने गन्ध हटाउन भने केही झन्झट हुन सक्छ ।

पिसाब डस्नासम्म सोसिएको छ भने बाहिरबाट सामान्य रूपमा पुछेर मात्र सफा हुँदैन । समयमै राम्रोसँग सफा नगर्दा दाग बस्ने र दुर्गन्धसमेत रहिरहने हुन सक्छ ।

कसरी गर्ने त यसको समाधान ?

बच्चाले पिसाब गरिसकेको थाहा पाउनेबित्तिकै तन्ना, ओढनी वा अन्य कपडा हटाउनु पर्छ । त्यसपछि सफा कपडा वा पेपर टावलले डस्नामा रहेको पिसाब सोस्न सकिन्छ ।

ध्यान दिनुपर्ने कुरा के हो भने डस्ना जोडले रगड्नु हुँदैन । रगड्दा पिसाब डस्ना वा म्याटरेसको अझ भित्रसम्म फैलिन सक्छ । त्यसैले, कपडाले हल्का थिचेर सकेसम्म धेरै तरल पदार्थ सोस्नु राम्रो हुन्छ ।

घरमै यसरी सफा गर्न सकिन्छ

डस्नाको दाग सफा गर्न सफा कपडा, पेपर टावल, चिसो पानी, सेतो सिरका, थोरै डिटर्जेन्ट र बेकिङ सोडा प्रयोग गर्न सकिन्छ ।पहिले दाग भएको ठाउँमा बेकिङ सोडा छर्किएर केही समय राख्न सकिन्छ । त्यसपछि सफा कपडाले बिस्तारै उठाउनु पर्ने हुन्छ ।

त्यसपछि एउटा स्प्रे बोतलमा पानी र सेतो सिरका बराबर मात्रामा मिसाउन सकिन्छ । त्यसमा थोरै मात्रामा हल्का डिटर्जेन्ट मिसाएर दाग भएको भागमा हल्का स्प्रे गर्न सकिन्छ ।

दागमा अत्यधिक तरल पदार्थ नहाल्न भने हुँदैन । डस्ना धेरै भिजेमा सुक्न लामो समय लाग्छ र भित्र चिस्यान रहन सक्छ । करिब १०–१५ मिनेटपछि सफा, सुक्खा कपडाले उक्त ठाउँलाई थिच्दै पुछ्नु सकिन्छ । डस्नामा पानी वा सफाइको घोल बाँकी नरहोस् भन्ने कुरामा ध्यान दिन सकिन्छ ।

दुर्गन्ध हटाउन बेकिङ सोडा

डस्ना सफा गरेपछि पनि पिसाबको गन्ध बाँकी छ भने बेकिङ सोडा उपयोगी हुन सक्छ । दाग भएको भागमा बेकिङ सोडाको तह बनाएर केही घण्टा छाड्न सकिन्छ ।

यसले डस्नामा बाँकी रहेको चिस्यान सोस्न र गन्ध कम गर्न मद्दत गर्न सक्छ । करिब ७–८ घण्टा राखेपछि भ्याकुम क्लिनर वा सफा ब्रसले बेकिङ सोडा हटाउन सकिन्छ ।

त्यसपछि डस्नालाई राम्रोसँग हावामा सुकाउन सकिन्छ । डस्ना पूर्ण रूपमा नसुक्दासम्म त्यसमा तन्ना बिछ्याएर प्रयोग नगर्नु राम्रो हुन्छ ।

दाग पुरानो पनि जान्छ ?

पिसाबको दाग पुरानो भइसकेको छ वा पटक–पटक त्यही ठाउँमा पिसाब भएको छ भने एकपटक सफा गर्दैमा दाग र गन्ध पूर्ण रूपमा नहट्न सक्छ । यस्तो अवस्थामा प्रक्रिया दोहोर्‍याउनुपर्ने हुन सक्छ ।

तर डस्नाको कपडा, रङ वा बनावटअनुसार सफाइको तरिका फरक हुन सक्छ । त्यसैले, कुनै पनि घोल पूरै डस्नामा प्रयोग गर्नुअघि सानो र नदेखिने भागमा परीक्षण गर्नु राम्रो हुन्छ ।

घरपालुवा जनावरले पिसाब गरिदिएमा ?

कुकुर वा बिरालोले पिसाब गरेको अवस्थामा पनि सकेसम्म छिटो सफा गर्न उचित हुन्छ । घरपालुवा जनावरको पिसाबको गन्ध हटाउन बजारमा पाइने एन्जाइम क्लिनर बढी उपयोगी हुन सक्छ । यस्ता क्लिनरले पिसाबमा रहेका जैविक अवशेष तोड्न मद्दत गर्छन् ।

कुनै पनि क्लिनर प्रयोग गर्दा त्यसको लेबलमा दिइएको निर्देशनअनुसार गर्नु सुरक्षित हुन्छ । बच्चा वा घरपालुवा जनावरको पहुँचबाट सफाइका सामग्री टाढा राख्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

एउटा कुरा याद राखौं

डस्ना सफा गर्नेभन्दा त्यसमा पिसाब नसोसियोस् भनेर सुरुमै सावधानी अपनाउनु सजिलो हुन्छ । बच्चाले राति ओछ्यान भिजाउने समस्या बारम्बार हुन्छ भने वाटरप्रुफ म्याट्रेस प्रोटेक्टर प्रयोग गर्न सकिन्छ । यसले डस्ना वा म्याटसम्म पिसाब पुग्न नदिई सफाइको झन्झटसमेत कम गर्छ ।

बच्चाले कहिलेकाहीँ निद्रामै ओछ्यान भिजाउनु सामान्य हुन सक्छ । त्यसैले, यस्तो हुँदा बच्चालाई गाली वा लज्जित गराउनुको सट्टा सहज रूपमा सफा गर्ने र बिस्तारै बानी सुधार्न सहयोग गर्नु नै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?