+
+
Shares

प्रहरी अधिकृतले रगत दिए, सुत्केरीको ज्यान बच्यो

बाजुरामा रगत आवश्यक पर्ने गर्भवती, सुत्केरी तथा अन्य बिरामीका लागि सेना, प्रहरी र स्वास्थ्यकर्मीलाई गुहार्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ असोज २० गते १५:४७

२० असोज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा सोमबार राति बडिमालिका नगरपालिका–७ की गंगा दमाइले शल्यक्रियामार्फत बच्चा जन्माइन् ।

तर, शल्यक्रियापछि अत्यधिक रक्तस्राव भयो । अवस्था जटिल बनेपछि उनलाई तत्काल रगत चढाउनुपर्ने भयो । अस्पतालमा रगत थिएन । त्यसैले अस्पतालले जिल्ला प्रहरी कार्यालय बाजुरामा खबर गर्‍यो ।

गंगालाई ‘बी पोजेटिभ’ रगत आवश्यक थियो । जिल्ला प्रहरी कार्यालयमा खबर पुग्नेबित्तिकै रक्त समूह मिल्ने दुई जना प्रहरी अधिकारी अस्पताल पुगे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहरा र प्रहरी निरीक्षक गगनसिंह भाटले राति अस्पताल पुगेर गंगालाई रगत दिए ।

रक्तस्रावका कारण आमाको ज्यान जोखिममा परेको अवस्थामा प्रहरीलाई खबर गरिएको र डीएसपी बोहरा तथा प्रहरी निरीक्षक भाटले रगत दिएर ज्यान बचाउन सहयोग गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. हरिश मल्लले बताए ।

गंगा यसअघि नै रक्तअल्पताबाट पीडित थिइन् । त्यसमाथि शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएपछि तत्काल रगत आवश्यक परेको स्वास्थ्यकर्मीले बताए । रगत खोज्ने क्रममा प्रहरीले सहयोग गरेको हो ।

बाजुरा प्रहरी प्रमुख डीएसपी बोहराले अस्पतालमा रगत अभावका कारण एक आमाको अवस्था जोखिममा परेको जानकारी पाएपछि आफूले रक्तदान गरेको बताइन् । ‘म पनि आमा हुँ । पीडामा परेकी आमालाई सहयोग गर्न पाउँदा निकै खुसी लाग्यो,’ उनले भनिन् ।

गंगा त उदाहरण मात्र हुन् । बाजुरामा रगत आवश्यक पर्ने गर्भवती, सुत्केरी तथा अन्य बिरामीका लागि सेना, प्रहरी र स्वास्थ्यकर्मीलाई गुहार्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

‘रक्तदान गर्नुपर्छ भन्ने चेतना छैन । रक्तसञ्चार केन्द्र नहुँदा पनि समस्या छ । रगत आवश्यक पर्ने बित्तिकै ब्लड ग्रुप मिल्ने मानिस खोजेर ल्याउनुपर्ने अवस्था छ । रगत अभावमा स्वास्थ्य सेवा प्रवाहमा असहज भएको छ,’ गिरीले भने ।

बाजुरामा रगतको अभाव लामो समयदेखि रहँदै आएको छ । ब्लड बैंक नहुँदा बिरामीका आफन्त रगत खोज्दै बजार चाहार्नुपर्ने अवस्था छ । रगत अभाव हुँदा आकस्मिक प्रसूति सेवा तथा शल्यक्रिया सेवा प्रभावित हुने गरेका छन् । बिरामीका आफन्त रगत खोज्दै भौँतारिनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

जिल्ला अस्पताल बाजुरामा जटिल प्रसूति सेवासँगै अन्य शल्यक्रिया सेवा सञ्चालनमा छ । शल्यक्रियामार्फत बच्चा जन्माउनुपर्ने अवस्थामा रगत आवश्यक पर्ने भएकाले पहिला नै रक्तदाता खोजेर मात्र शल्यक्रियाको तयारी गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताए ।

रक्तसञ्चार केन्द्रको अभावमा जिल्ला अस्पताल बाजुराको सेवा प्रभावकारी बनाउन समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालका अनुसार आवश्यक पर्ने रगतको ९० प्रतिशत बढी सेना, प्रहरी र स्वास्थ्यकर्मीबाट व्यवस्थापन हुँदै आएको छ । एक सातामा १० जनाभन्दा बढी बिरामीलाई रगत आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ ।

ब्लड बैंक नहुँदा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी रगत संकलन गर्नसमेत समस्या छ । आवश्यक परेको बेला मात्र आकस्मिक रूपमा रक्तदाता खोजेर रगत व्यवस्थापन गर्ने गरिएको छ ।

जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैंक नहुँदा यस्तो समस्या भएको हो । नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंक स्थापना गर्न दुई पटक डी–फ्रिज ल्याए पनि त्यसलाई सञ्चालनमा ल्याउन सकेको छैन ।

अस्पतालमा ब्लड बैंक नभएकाले आवश्यक परेको समयमा सुत्केरी तथा अन्य बिरामीले रगत नपाउने समस्या रहेको अस्पतालका प्रमुख डा. हरिश मल्लले बताए । स्थानीयस्तरमा रक्तदान गर्नुपर्छ भन्ने चेतनाको पनि कमी रहेको उनको भनाइ छ ।

‘बाजुरामा ब्लड बैंक आवश्यक छ । त्यसका लागि पहल हुन सकेको छैन । ब्लड बैंक स्थापना भएको भए रगत व्यवस्थापन गर्न सहज हुने थियो,’ मल्लले भने ।

सुदूरपश्चिम प्रदेश सरकारले समेत ब्लड बैंक स्थापनाका लागि पटकपटक केही बजेट व्यवस्थापन गर्दै आए पनि जिल्ला अस्पताल बाजुरामा ब्लड बैंक स्थापना हुन सकेको छैन । पर्याप्त बजेट व्यवस्थापन हुन नसक्दा ब्लड बैंक स्थापना गर्न नसकिएको सूचना अधिकारी गिरीले बताए ।

रगत नपाएर उपचारमा समस्या हुने तथा बिरामीलाई अन्यत्र लैजानुपर्ने बाध्यता रहेकाले जिल्लामा ब्लड बैंक स्थापना गर्नुपर्ने स्थानीयको माग छ । हाल जिल्लामा आकस्मिक रक्तसञ्चार सेवा जिल्ला अस्पताल बाजुरा, कोल्टी अस्पताल बाजुरा र टाँटे स्वास्थ्य चौकीमा रहेको छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?