इभा गिरीबारे त धेरै भनिरहनुपर्दैन । उनी चर्चित कन्टेन्ट क्रिएटर हुन्, जसलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या थुप्रै छ । उनै इभा गिरी अब ठूलो पर्दामा देखिँदैछिन् । अक्सर बोल्ड देखिने इभा गिरी फिल्ममा भने सौम्य र सुशील देखिएकी छिन् । किनभने उनी पौराणिक पात्र द्रौपदी बनेकी छिन् ।
यो कुन फिल्म होला ?
केही दिनअघि सार्वजनिक पोस्टर याद गर्नुभएको छ भने तपाईंले पक्कै बुझिसक्नुभयो, यो फिल्म ‘पाँच पाण्डव’ हो । ‘पाँच पाण्डव’ ले पोस्टर रिलिज गरेसँगै धेरैको ध्यान आकर्षित गरेको थियो । कारण, धेरैजसो हास्य अभिनेता सुनौलो रथमा चढेर महाभारत युद्धको तयारी गरिरहेझैँ देखिन्थे ।
अहिले सोही फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको हो । अतः पोस्टरमार्फत द्रौपदीलाई रिभिल गरिएको छ ।
रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रौपदीको लुक्सले दर्शकको ध्यान खिच्छ । महाभारतकी द्रौपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले पोस्टरलाई थप सुन्दर बनाएको छ ।
पृष्ठभूमिमा चलचित्रका पाँच पाण्डव छन् । पहिलो पोस्टरको रथमा बसेका पाँच पाण्डवलाई दोस्रो पोस्टरको पृष्ठभूमिमा राखेर चलचित्रका मुख्य पात्रलाई रिकल गर्ने प्रयास गरिएको छ ।
‘पाँच पाण्डव’ को फर्स्टलुक पोस्टरमा युधिष्ठिर बनेका हरिवंश, भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नकुल बनेका महेश र सहदेव बनेका सुशीललाई देखाइएको थियो ।
निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रौपदी रूप दर्शकले मन पराउने विश्वास व्यक्त गरे । ‘हामीले यो सिनेमामा इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ’ उनले भने, ‘जसरी उहाँ युवा पुस्तामाझ लोकप्रिय हुनुहुन्छ, हाम्रो सिनेमाको क्यारेक्टरमा पनि त्यस्तै रुचाइनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
तिहारको छेको पारेर कार्तिक २० गते देखि रिलिज हुने प्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’ को अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फुल डल्बी एटमस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।
‘पाँच पाण्डव’ लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

प्रतिक्रिया 4