+
+
Shares

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको संन्यास, अन्तिम खेलमा एक गोल र दुई असिस्टपछि भावुक बिदाइ

अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ८:२४

२१ असोज, काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ ।

ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल खेलेका हुन् ।

अर्जेन्टिनाका लागि यो मेसीको २०८औं अन्तर्राष्ट्रिय खेल थियो । उनले खेलको १०औं मिनेटमा आफ्नो प्रसिद्ध १० नम्बरको जर्सीको सम्मानमा भएको एक मिनेटको तालीपछि मैदानमा भावुक क्षण बिताए ।

खेलमा भेट्रान डिफेन्डर निकोलस ओटामेन्डीले अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यसमा मेसीले असिस्ट गरेका थिए । त्यसपछि निको पाजले दोस्रो गोल गरे भने मेसीले ७१औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो १२६औं अन्तर्राष्ट्रिय गोल पूरा गरे ।

मेसीको अन्तिम खेललाई अर्जेन्टिनामा ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको थियो । खेलअघि नै उनी भावुक बनेका थिए । स्टेडियम पुग्ने क्रममा समर्थकहरूले भरिएको सडकमा अर्जेन्टिनी टोलीको बस अघि बढ्दा मेसीले आँसु पुछिरहेका थिए ।

मैदानमा प्रवेश गर्दा मेसी आफ्ना तीन सन्तानसँगै थिए । उनकी पत्नी एन्टोनेला रोकुज्जो र आमा सेलिया कुक्चिटिनीले भीआईपी बक्सबाट उनलाई हात हल्लाउँदै बिदाइ गरे ।

खेल सुरु हुनुअघि मैदानमा मेसीको १० नम्बरको जर्सीसहित ‘न्चबअष्बक’ अर्थात् ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो । त्यसपछि स्टेडियममा उपस्थित समर्थकहरूले मेसीको सम्मानमा ठूलो आवाजमा जयजयकार गरेका थिए ।

फकल्यान्ड युद्धका पूर्वसैनिक फाबियो सान्तानाले राष्ट्रिय गान गाएका बेला मेसी पुन: भावुक देखिए । त्यस अवसरमा ‘द माल्भिनास आर अर्जेन्टाइन’ लेखिएको ब्यानर पनि प्रदर्शन गरिएको थियो ।

खेल सकिएपछि स्टेडियममाथिको आकाशमा ड्रोन शो आयोजना गरिएको थियो । ड्रोनमार्फत मेसीको आकृति बनाउँदै आठपटकका बालोन डी’ओर विजेतालाई उनको अतुलनीय करियरका लागि धन्यवाद दिइएको थियो ।

‘मैले आफ्नो सबै दिएँ, मसँग केही बाँकी छैन’

मेसीको अन्तर्राष्ट्रिय बिदाइ अर्जेन्टिनाले स्पेनसँग विश्वकपको फाइनलमा १–० को हार बेहोरेको करिब साढे दुई महिनापछि भएको हो । अमेरिकाको न्यु जर्सीमा भएको उक्त खेलपछि मेसी आँसु झार्दै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि मेसीले आफूले अर्जेन्टिनाका लागि आफ्नो सम्पूर्ण क्षमता दिएको बताएका थिए । ‘मैले आफ्नो सबै दिएँ । अब दिनका लागि मसँग केही बाँकी छैन । साथै, उत्कृष्ट युवा खेलाडीहरू आइरहेका छन्, उनीहरूले आफ्नो अवसर पाउनुपर्छ,’ उनले त्यतिबेला लेखेका थिए ।

अन्तिम खेलअघि ब्युनस आयर्स विश्वविद्यालयले अर्जेन्टिना फुटबल संघ (एएफए) को मुख्यालयमा आयोजित समारोहमा मेसीलाई मानार्थ डक्टरेट उपाधि प्रदान गरेको थियो ।

‘म मानार्थ डाक्टर हुँ भनेर भन्न पाउनु !’ भन्दै मेसीले ठट्टा गरेका थिए । उनले उक्त सम्मानप्रति गर्वसमेत व्यक्त गरे ।

एएफए मुख्यालयबाहिर समर्थकहरूले मेसीको तस्बिरसहितको विशाल अर्जेन्टिनी झण्डा प्रदर्शन गरेका थिए । त्यसमा ‘द जोय अफ माइ लाइफ’ अर्थात् ‘मेरो जीवनको खुसी’ लेखिएको थियो ।

मेसीले अर्जेन्टिनाका लागि २०२२ को विश्वकप जिताउँदै ३६ वर्षपछि देशलाई विश्वकप उपाधि दिलाएका थिए । त्यससँगै उनी अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाका उत्तराधिकारीका रूपमा स्थापित भएका थिए ।

मेसीको अन्तर्राष्ट्रिय करियरमा अर्जेन्टिनाले एकपटक विश्वकप जितेको छ । उसले २०१४ र २०२६ मा विश्वकपको उपविजेता बनेको थियो । त्यस्तै २०२१ र २०२४ मा कोपा अमेरिका उपाधि जितेको थियो ।

मेसी हाल अमेरिकी क्लब इन्टर मियामीसँग २०२८ सम्मको सम्झौतामा छन् । यद्यपि उनका पिता जर्ज मेसीको दुई महिनाअघि निधन भएपछि उनले व्यावसायिक फुटबलबाट पनि अपेक्षाभन्दा चाँडै बिदा लिन सक्ने संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?