म पुरुष हुँ, मेरो पाठेघर छैन। म महिनावारी हुन्न। तर आज महिनावारीका विषयमा, खासगरी अहिले चर्चामा रहेको महिनावारी बिदा का विषयमा बहस गर्न आइपुगेको छु।
सायद केहीले प्रश्न गर्न सक्छन्, महिनावारी नहुने मान्छेले महिनावारीका विषयमा किन बोल्ने?
मेरो जवाफ सरल छ: महिनावारी शरीरको अनुभव हुन सक्छ, तर महिनावारीमाथिको विभेद सामाजिक अनुभव हो। त्यो अनुभव मैले गरेको छु। पाठेघर नभएको, महिनावारी नहुने म पुरुषले महिनावारीको विभेद पनि भोगेको छु।
शरीर फरक हुन सक्छ। पीडा फरक हुन सक्छ। अनुभव फरक हुन सक्छ। तर मर्यादा, समानता र सम्मान सबैको सामूहिक हो, अथवा साझा अधिकार हो। तर आज महिनावारीको पीडा बुझेको दाबी गर्न आएको होइन, म महिनावारीका कारण हुने विभेद नबुझेको समाजलाई यो लेखमार्फत प्रश्न गर्न आएको हुँ।
चर्चा कि बहस
अहिले हाम्रो संघीय निजामती सेवा विधेयकमा महिनावारी बिदाको विषय चर्चामा छ। विधेयकको दफा १२५ अन्तर्गत निजामती कर्मचारीले पाउने बिदामा महिनावारी/रजस्वला बिदा थप गर्ने प्रस्ताव गरिएको समाचार सार्वजनिक भएको छ।
कसैले भन्छन्, महिनावारी बिदा आवश्यक छ। कसैले प्रश्न गर्छन्, के महिनावारीका लागि छुट्टै बिदा आवश्यक छ? कसैले चिन्ता गर्छन्, यसले महिलालाई थप कमजोर देखाउने त होइन? कसैले भन्छन्, बिदा समाधान होइन, कार्यालयमै सुविधा र लचकता चाहिन्छ। मर्यादित महिनावारीमैत्री वातावरण चाहिन्छ।
यी सबै प्रश्न बहसका विषय हुन्। तर मलाई लाग्छ, हामीले बहसको पहिलो प्रश्न नै अलि फरक बनाउनुपर्छ। हामीले सोध्नुपर्ने प्रश्न महिनावारी बिदा दिने कि नदिने? मात्र होइन।
हामीले सोध्नुपर्ने प्रश्न हो, महिनावारी भएका कारण कुनै पनि कर्मचारीले आफ्नो कार्यालयमा विभेद, प्रश्न, अप्ठ्यारो, असहजता वा अपमान भोग्न नपर्ने वातावरण हामीले कसरी बनाउने? आजसम्म बनाएका छौँ? यदि बनाएका छैनौँ भने, महिनावारी बिदाले समस्या समाधान गर्छ? समस्या बिदामा छैन, कार्यस्थलको संस्कृतिमा छ। कार्यस्थललाई मर्यादित महिनावारीमैत्री बनाउन नसक्नुमा छ।
एक कर्मचारी
एकै छिन महिनावारी हुने एउटा कर्मचारी, त्यो पनि अधिकृत तहको कर्मचारीको कल्पना गरौँ। मानौँ, संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गर्ने कर्मचारी एक अधिकृत हुन्।
बिहान उठ्दा उनलाई पेट दुखिरहेको छ। शरीर भारी छ। कमजोरी महसुस भइरहेको छ। आज कार्यालयमा महत्त्वपूर्ण बैठक छ। उनको भूमिका पनि महत्त्वपूर्ण छ। उनी महिनावारी भइन्।
उनले आफूलाई सोध्छिन्: बिदा मागूँ कि काममा जाऊँ? फेरि सोच्छिन्, बिदा माग्दा अर्को प्रश्न आउला कि? महिनावारी भएकै हो? हरेक महिना बिदा चाहिने? कामको चाप हुँदा पनि? यति सामान्य कुरामा पनि बिदा?
अब उनका अगाडि दुई विकल्प छन्: बिदा माग्ने कि पीडा लुकाएर कार्यालय जाने?
बिदा मागिन् भने माथिने प्रश्न आउने देखिन्छ, सँगै उनको मनमा अर्को डर पनि छ- के भन्नुपर्ला? महिनावारी भएको हो भन्नुपर्ने त होला नि? पुरुष हाकिमले के सोच्लान? सहकर्मीले के भन्लान्?
अन्ततः दोधारकै बीच उनी चुप लाग्छिन्। औषधि खान्छिन्। पीडा सहन्छिन् र कार्यालय पुग्छिन्।
उनले काम त गरिन्, तर प्रश्न बाँकी नै रह्यो। उनले आफ्नो शरीरसँग सम्झौता गरेर काम गरिन् कि मर्यादाका साथ काम गरिन्? मर्यादित महिनावारीमैत्री कार्यालय संस्कृति भएको भए उनले कसरी सोच्थिन् होला?
महिनावारी र अवस्था
यहाँनेर मेडिकल साइन्सले पुष्टि गरेको अर्को महत्त्वपूर्ण विषय पनि छ— महिनावारी सबैका लागि एउटै अनुभव होइन, हुँदैन। महिनावारी सुरु हुनुअघि देखिने लक्षणहरू पनि सामान्य छैनन्। एउटा व्यवस्थित चिकित्सकीय समीक्षाले प्रजनन उमेर समूहका महिलामध्ये करिब ९५ प्रतिशतमा महिनावारी हुनुअघि कुनै न कुनै लक्षण देखिन सक्ने र करिब ५ प्रतिशतमा अत्यन्त गम्भीर तथा दैनिक जीवनमै असर पार्ने लक्षण हुन सक्ने उल्लेख गरेको छ।
पछिल्ला चिकित्सकीय समीक्षाहरूले पीएमएस र पीएमडीडब्लूडीका लक्षणले काम गर्ने क्षमतामै असर पार्न सक्ने देखाएका छन्। महिनावारीको पीडा महिनावारी सुरु भएको दिनबाट मात्रै सुरु हुँदैन।
कसैलाई खासै समस्या हुँदैन। कसैलाई सामान्य दुखाइ हुन्छ। कसैलाई अत्यधिक पेट दुख्छ।
कसैलाई टाउको दुख्ने, थकान, वाकवाकी, निद्राको समस्या वा अन्य लक्षणले सताउँछ। कसैलाई अत्यधिक रक्तस्राव हुन्छ।
महिनावारी सुरु हुनुअघि देखिने लक्षणहरू पनि धेरैमा हुन्छन्। केहीमा ती सामान्य हुन्छन्, केहीमा गम्भीर हुन्छन् भने केहीमा अति गम्भीर भई दैनिक जीवन र काममा समेत असर पर्न सक्छ। सामान्य रूपमा यसलाई पीएमएस भनिन्छ भने अत्यन्त गम्भीर अवस्थामा यही समस्या पीएमडीडब्लूडीका रूपमा देखिन सक्छ। त्यसैले महिनावारी भएका सबैलाई एउटै आँखाले हेर्नु ठीक हुन्छ त? त्यसैले त कार्यालयको व्यवहार र अभ्यास मर्यादित महिनावारीमैत्री हुनुपर्छ भनिएको हो।
कसैलाई बिदा चाहिन्छ, कसैलाई एक दिनले पुग्दैन, दुई वा तीन दिन आवश्यक पर्ला। कसैलाई केही घण्टा आराम चाहिन्छ होला। कसैलाई कामको समय मिलाइदिनुपर्ने हुन सक्छ। कसैलाई जिम्मेवारीमा अस्थायी लचकता चाहिन्छ होला। कसैलाई स्वास्थ्य परीक्षण वा उपचार पनि चाहिन्छ होला। ती सबै विषय के बिदाले मात्र समाधान गर्ला त?
त्यसैले मेरो बुझाइमा समाधानको सूत्र यस्तो हुन सक्छ: बिदा चाहिनेलाई बिदा दिने। सहजता चाहिनेलाई सहजता गरिदिने। आराम चाहिनेलाई आरामको व्यवस्था मिलाउने। उपचार चाहिनेलाई उपचारको व्यवस्था र जिम्मा लिने। तर सबैलाई मर्यादाको दृष्टिकोणबाट हेर्ने।
त्यही हो मर्यादित महिनावारीमैत्री अवधारणा।
महिनावारी बिदा दिएका देशहरूको अभ्यास
एकै छिन चर्चा गरौँ— बिदा दिएपछि के हुन्छ? यहाँबाट बहस अझ रोचक हुन्छ। महिनावारी बिदा भएका देशहरूको अनुभवले हामीलाई के सिकाउँछ?
जापानमा लामो समयदेखि महिनावारी बिदाको कानुनी व्यवस्था छ। दक्षिण कोरिया, इन्डोनेसिया र स्पेन लगायत देशमा पनि विभिन्न स्वरूपका व्यवस्था छन्। तर कानुनले बिदा दियो भन्दैमा सबै महिनावारी हुनेहरूले बिदा लिन सकेका छैनन्। त्यसको पछाडि कारण छ।
जापानको लैङ्गिक समानता तथा परिवारसम्बन्धी सरकारी कार्यालयले गरेको अन्तर्राष्ट्रिय तुलनामा जापान, दक्षिण कोरिया र स्पेनका व्यवस्थाबीच बिदाको प्रकृति र प्रयोगमा उल्लेखनीय फरक देखाइएको छ। जापानको अनुभवमा महिलाले महिनावारी बिदा प्रयोग नगर्नुका कारणमा सामाजिक संकोच र कार्यस्थलमा हुने दृष्टिकोण महत्त्वपूर्ण देखिन्छ।
स्पेनमा गरिएको १,८०० महिलामाथिको अध्ययनले महिनावारीका कारण पीडा र काममा असर अनुभव गर्नेहरू धेरै भए पनि बिदा माग्ने सङ्ख्या निकै कम रहेको देखायो। बिदा माग्दा पेसागत वातावरणमा नकारात्मक असर पर्न सक्ने र विभेदकारी व्यवहार भोग्नुपर्ने डर पनि यसको प्रमुख कारण देखिन्छ।
महिनावारी बिदा भनेको महिनावारी भएका महिलाहरूलाई पीडादायी चक्रसँग सम्बन्धित लक्षण वा रोगहरूको अनुभव हुँदा तलबसहित कामबाट बिदा लिन अनुमति दिने नीति हो। तर, बिदा आफैँले पनि विभेद जन्माउन सक्छ? यो प्रश्न सुन्दा असजिलो लाग्न सक्छ।
तर यसमा इमानदार र पेचिलो बहस हुनुपर्छ। अधिकारको कुरा गर्नेहरूले गम्भीर भएर सोच्नुपर्छ।
सन् २०२४ मा पाँच देशका कम्पनीहरूले घोषणा गरेको फ्ल्याक्सिबल लिभ पोलिसी को अध्ययनले महिनावारीबारे खुला छलफल र विभेद कम गर्ने सम्भावना देखाए पनि गलत ढङ्गले लागू गरिएमा यस्ता नीतिले महिलाहरू कम सक्षम र कमजोर हुन्छन् भन्ने लैङ्गिक स्टरियोटाइपलाई बलियो बनाउन सक्ने जोखिम पनि औँल्याएको छ।
त्यसैले अनुसन्धानकर्ताले महिनावारी बिदाभन्दा फराकिलो अवधारणालाई समानताको औजारका रूपमा हेर्न सुझाव दिएका छन्। त्यो अवधारणा भनेको मर्यादित महिनावारीमैत्री कार्यालय बनाउने नीतिगत व्यवस्था गर्नेबित्तिकै आफैँ सहज हुनेछ। यही कुरा नेपालले अहिलेको बहसमा गम्भीरतापूर्वक सोच्न सक्छ।
त्यसले एउटा गम्भीर प्रश्न जन्माउँछ— बिदा पाउने अधिकार ठूलो कि बिदा माग्न सक्ने वातावरण ठूलो? मेरो उत्तर छ: दुवै। तर, महत्त्वपूर्ण चाहिँ बिदा माग्न सक्ने वातावरण हो।
किनकि बिदा दिने कानुन बन्यो, तर बिदा माग्दा कर्मचारीले लाज मान्नुपर्यो, विभेद भोग्नुपर्यो भने त्यसको केही अर्थ रहला र? त्यसैले म महिनावारी बिदाको पक्षमा अन्धो भएर उभिएको छैन, तर यसको विरोध पनि गरिराखेको छैन।
एक कदम अगाडिको बहस
सरकारले बिदाको विषय निजामती सेवा विधेयकमा राखेर चर्चामा ल्याएको छ। त्यसलाई कसरी सोचिएको हो, पछि कार्यविधिले बोल्ला। तर यही अवसरमा महिनावारी बिदालाई अझ ठूलो अवधारणाभित्र राखौँ। त्यो अवधारणा हो— मर्यादित महिनावारी।
यस्तो कार्यालय जहाँ महिनावारी भएका कारण कसैलाई प्रश्न गरिँदैन। किन बिदा चाहियो? भनेर अनावश्यक व्यक्तिगत सोधपुछ हुँदैन। महिनावारी त सामान्य कुरा हो भन्दै उसको पीडालाई सानो बनाइँदैन। महिनावारीका कारण उसको क्षमता, कार्यसम्पादन, पदोन्नति वा अवसरमाथि प्रश्न उठाइँदैन।
र, उसलाई आवश्यक पर्दा बिदा पनि हुन्छ, आराम पनि हुन्छ, लचकता पनि हुन्छ, उपचार पनि हुन्छ। महिनावारीको विषयमा खुलेर छलफल गर्ने वातावरण पनि हुन्छ।
महिनावारीको कुरा गर्दा अर्को पाटो पनि हेर्नुपर्छ। हामी महिनावारी सुरु भएको कुरा त गर्छौँ, तर महिनावारी सकिने समय अथवा मनोपज (रजोवृत्ति) का बारेमा भने प्रायः मौन हुन्छौँ। सायद, अहिले चर्चामा रहेको निजामती विधेयकभित्रको बिदाले पनि त्यसलाई सोचेको छैन होला।
महिनावारी बन्द हुने सङ्क्रमणकालमा पनि शरीर र मनमा विभिन्न परिवर्तन आउन सक्छन्। निद्रामा समस्या, थकान, डर, स्वभाव परिवर्तन र एन्जाइटीजस्ता लक्षणले काम गर्ने जीवनमा असर पार्न सक्छन्। त्यसैले महिनावारी हुने व्यक्तिको स्वास्थ्यलाई महिनावारी आयो-गयो भनेर मात्र हेर्न मिल्छ?
महिनावारी हुनेहरूको अथवा महिलाहरूको जीवनचक्रसँगै कार्यस्थलको नीति पनि संवेदनशील हुनुपर्छ।
अब बहसलाई एक कदम अगाडि लैजाऔँ
बहस सुरु भइसकेपछि संसद् भित्र र बाहिर पनि महिनावारी बिदा चाहिन्छ कि चाहिँदैन? भन्नेमा मात्र सीमित नरहोस्। बहस यी विषयमा केन्द्रित हुनुपर्छ:
- हाम्रो संस्थागत संरचना, कार्यस्थल र विद्यालय मर्यादित महिनावारीमैत्री छन् कि छैनन्?
- हाम्रो मन्त्रालय मर्यादित महिनावारीमैत्री छ कि छैन?
- हाम्रो निजामती सेवा मर्यादित महिनावारीमैत्री छ कि छैन?
- र, अन्ततः हाम्रो देशलाई कसरी मर्यादित महिनावारीमैत्री देश बनाउन सकिन्छ?
म फेरि भन्छु, म पुरुष हुँ। मेरा पाठेघर छैन, त्यसकारण म महिनावारी हुन्न। तर महिनावारी भएकै कारण कोही कसैले आफूलाई सानो, कमजोर, दोषी वा असहज महसुस गर्नुपर्ने समाज म चाहन्नँ।
- म यस्तो कार्यालय वा कार्यस्थल चाहन्छु, जहाँ महिनावारी लुकाउन नपरोस्।
- म यस्तो मन्त्रालय चाहन्छु, जहाँ महिनावारीका कारण करियरमा प्रश्न नउठोस्।
- म यस्तो निजामती सेवा चाहन्छु, जहाँ शरीरको प्राकृतिक प्रक्रियाका कारण कसैले विभेद भोग्न नपरोस्।
- र, म यस्तो देश चाहन्छु, जहाँ महिनावारीलाई समस्या मानिँदैन, महिनावारीका नाममा हुने विभेदलाई समस्या मानिन्छ र विश्वले हामीलाई मर्यादित महिनावारीमैत्री देश भनेर चिनोस्।
त्यसैले आज हाम्रो सवाल केवल महिनावारी बिदा देऊ भन्ने होइन, अझ ठूलो कुरा मर्यादित महिनावारीमैत्री कार्यालय बनाउनुपर्छ । मर्यादित महिनावारीमैत्री निजामती सेवा बनाउनुपर्छ । र, अन्ततः मर्यादित महिनावारीमैत्री देश बनाउनुपर्छ ।
किनकि महिनावारी प्राकृतिक हो, जुन कुरा बदल्न सकिँदैन। तर महिनावारीका नाममा बनाइएका लाज, मौनता, निषेध, प्रश्न, अपमान र विभेद समाजले बनाएका हुन्, जुन बदल्न सकिन्छ। त्यसकारण अब महिनावारीमाथिको विभेद पूर्ण रूपमा हटाउने र महिनाका २५ दिन र ५ दिनलाई समान रूपमा सम्मान गर्ने बहस गरौँ।
(लेखक सञ्चारकर्मी हुन् ।)
प्रतिक्रिया 4