+
+
Shares
सम्झना :

निर्मल पुर्जा : नागरिकताको बहसभन्दा धेरै माथि उभिएको नेपाली गौरव

सामाजिक सञ्जालमा निम्स दाइको नागरिकताबारे भइरहेका टिप्पणीहरूले भने एउटा गम्भीर प्रश्न उठाएका छन्- हाम्रा नायकलाई उनीहरूको योगदानले चिन्ने हो कि नागरिकताको कागजले ?

रामशरण सिमखडा रामशरण सिमखडा
२०८३ साउन १८ गते १७:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनले नेपालले आफ्नो एक असाधारण साहसी सपुत र पर्वतारोहण जगत्ले एक उम्दा योद्धा गुमाएको छ।
  • पुर्जाले ६ महिना ६ दिनमा विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेर नेपाली क्षमताको पहिचान संसारभर स्थापित गर्न सफल भएका थिए।
  • नागरिकताको विवादमा नअल्झिई पुर्जाले राष्ट्रका लागि पुर्‍याएको योगदानको सम्मान गर्दै राज्यले गैरआवासीय नेपालीका जायज मागहरू सम्बोधन गर्न आवश्यक छ।

शनिबारको झिसमिसेमा पुराना मित्र तथा एनआरएनए (युके) का पूर्वअध्यक्ष योग फगामीजीको एउटा भावुक टेक्स्ट म्यासेज नियालेँ- ‘मित्र ! हाम्रा निम्स अब हामीबीच नरहेको करिब औपचारिक घोषणा हुन मात्र बाँकी छ। हामीले देश चिनाउने एक उम्दा अभियन्ता गुमाउँदै छौँ भन्दा मन भक्कानिएको छ।’

यो सामान्य शिष्टाचारको भाषा मात्र थिएन, उनीभित्रको पीडा, लगाव र निर्मल पुर्जाप्रतिको समर्पणको अभिव्यक्ति थियो। उसै त विगत २४ घण्टाबाट कुनै अलौकिक शक्ति छ भने निर्मलको सकुशल फिर्तीको कामना गरेरै पलपलको समाचार नियाल्दै बसेको म, योगजीको म्यासेजले ऐँठन गरायो नै।

केही घण्टापछि पुनम गुरुङ (एनआरएनए युकेकी अध्यक्ष र हाल केन्द्रकी सल्लाहकार) ले कामेको स्वरमा आफ्नै मौलिक शैलीमा भन्नुभयो, ‘सिमखडाजी- सुन्नुभयो नि हाम्रो निम्स भाइको खबर ? बर्बाद भो जस्तो छ, लौ न के गर्ने होला ?’

यी दुई प्रतिनिधि आवाज मात्र हुन्। सबैको मनमा ‘बित्यास भो’ भन्नुहुँदाहुँदै पनि कामना थियो- ‘कुनै दैवी शक्तिले दुनियाँलाई आश्चर्य पार्दै निम्स फर्कन्छन् कि !’ तर विधिको विडम्बना यस्तो भएन- हामीले सधैँका लागि एक योद्धा, जसले नेपाल र नेपालीलाई संसार चिनायो आफ्नै बलमा, अदम्य साहस र अद्भुत बहादुरीले, उनको पार्थिव शरीर फेला पर्दा-नपर्दा अनावश्यक र बेतुकको विवादमा पारिन खोजिँदैछ- नागरिकताको बेतुक उल्झनमा !

तत्कालीन नेपालले संसारलाई दुईवटा अमूल्य उपहार दिएको छ- हिमाल र ती हिमाललाई आफ्नो जीवनसँग जोडेर इतिहास लेख्ने साहसी मानिसहरू। तीमध्ये एक हुन्, निर्मल पुर्जा अर्थात् ‘निम्सदाइ’। आज उनी हाम्रो बीचमा नरहे पनि उनले बनाएको इतिहास, उनले जगाएको आत्मविश्वास र उनले विश्वसामु स्थापित गरेको नेपाली पहिचान धेरै पुस्तासम्म जीवित रहनेछ।

निर्मल पुर्जाको निधनको खबरले केवल एउटा परिवार शोकमा परेको छैन, देश स्तब्ध भएको छ। पर्वतारोहण जगत्‌ले एउटा असाधारण आरोही गुमाएको छ भने नेपालले आफ्नो एउटा साहसी सपुत गुमाएको छ। यस्तो क्षणमा सामाजिक सञ्जालमा उनको नागरिकताबारे भइरहेका टिप्पणीहरूले भने एउटा गम्भीर प्रश्न उठाएका छन्- के हामी हाम्रा नायकलाई उनीहरूको योगदानले चिन्ने हो कि नागरिकताको कागजले ?

निर्मल पुर्जा जन्मले नेपाली थिए। बेलायती गोर्खा सैनिकमा भर्ती हुन नेपाली नागरिक हुनु अनिवार्य थियो। उनले नेपाली नागरिककै रूपमा गोर्खा रेजिमेन्टमा प्रवेश गरे। आफ्नो असाधारण क्षमता र अनुशासनका कारण उनी बेलायती सेनाको सबैभन्दा प्रतिष्ठित विशेष फौज ‘स्पेसल बोट सर्भिस (एसबीएस)’ सम्म पुगे। विश्वका विभिन्न संवेदनशील क्षेत्रमा तत्काल परिचालन हुनुपर्ने त्यस्तो सेवामा कार्यरत रहँदा उनले बेलायती नागरिकता ग्रहण गरे। त्यो व्यक्तिगत महत्त्वाकाङ्क्षाभन्दा पनि पेसागत आवश्यकता थियो। तर नागरिकताको प्राप्तिले उनको नेपालीपन कहिल्यै परिवर्तन भएन।

उनीसँग सुरक्षित र सम्पन्न जीवन बिताउने सबै अवसर थिए। ६-७ लाख रुपैयाँ प्रतिमहिनाको जागिर थियो। थप ६ वर्ष सोही जागिरमा रहेको भए १ मिलियन पाउन्डको उपदान र पेन्सन सुरक्षित हुन्थ्यो, सम्मान र सुविधा थियो। उनीजस्तै आरोहीको बेलायतमै २-४ वटा आलिसान घर थियो, सम्पूर्ण सुख-सुविधा थियो। तर उनीसँग भएको एउटा घरसमेत बैङ्कमा राखेर, दुनियाँको अघि हात फैलाउँदै ५०औँ करोड जम्मा गरी सात महिनामा संसारकै सर्वोच्च १४ शिखर चढ्ने उच्च मनोबलका साथ एक महाअभियानमा निस्के।

जागिर छाडे, घर बन्धक राखे, परिवारलाई सम्झाए। उनले स्वेच्छिक अवकाशपछि रोजेको बाटो सजिलो थिएन। उनले नेपाल फर्केर हिमाल रोजे, जोखिम रोजे र संसारलाई नेपाल चिनाउने अभियान रोजे। उनले ‘प्रोजेक्ट पोसिबल’ मार्फत ६ महिना ६ दिनमै १४ वटा आठ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गरेर विश्व इतिहास रचे।

त्यसपछि पनि उनी रोकिएनन्। अक्सिजनबिना फेरि ती सबै हिमाल आरोहण गर्ने अभियानमा निस्किए। त्यो एउटा व्यक्तिगत कीर्तिमानका लागि मात्र थिएन, नेपाली क्षमताको अर्को प्रमाण दिनका लागि थियो। नेपाललाई संसारसामु आफ्नो बहादुरी पुनः प्रमाणित गर्नु थियो। यो पङ्क्तिकारको उनको ‘मिसन पोसिबल’को सुरुवाती दिनमा एनआरएनए युकेकै पहलमा आयोजित एक कार्यक्रममा आत्मीय साक्षात्कार भएको थियो।

मिसनको मध्यभागमा पुग्दा एक दिन फोन आयो, उनी नेपालमा रहेछन् र सानो अप्ठ्यारोमा भएको सुनाए। सम्भवतः उनकै दाइ कमल पुर्जा वा एनआरएनएका पूर्वअध्यक्ष भइसकेका योग फगामीजीको रायअनुसार हुनुपर्छ, सगरमाथा तिब्बततर्फबाट चढ्नुपर्ने भएकोले यो राष्ट्रिय गौरवको विषय र सरकारी तवरबाट अनुमतिका लागि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईसँग समय मिलाइदिन अनुरोध गर्नुभयो।

सहर्ष स्वीकार्दै एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङमार्फत गर्दा संस्थागत हुने सुझाउँदै सहजीकरण गरियो। सफल आरोहणपछि दूतावासको एक कार्यक्रममा जम्काभेट भो- उनले बिर्सेका रहेनछन्, हार्दिकताका साथ साह्रै ठूलो काम गरिदिएझैँ आभार व्यक्त गरे। यही हो गोर्खाजको पहिचान र इमानदारी !

पहिलो पटक नेपाललाई एकैपटक ५०औँ करोड व्यक्तिहरूमा पुग्ने गरी, १३ वटा अन्तर्राष्ट्रिय भाषामा १७९ देशमा एकैपटक नेपाल र नेपालीको वीरगाथा पुग्ने गरी नेटफ्लिक्सको ‘फोर्टिन पिक्स्’ ले संसारलाई एउटा आरोहीको कथा मात्र सुनाएन, एउटा नेपालीको आत्मविश्वास, दृढता, उत्प्रेरणा र साहस देखायो। दशकौँदेखि विदेशी अभियानको सहयोगीका रूपमा चिनिएका नेपालीहरू नेतृत्व गर्न पनि सक्षम छन् भन्ने सन्देश निर्मल पुर्जाले संसारलाई दिए।

यति ठूलो योगदानका बीच पनि उनी नागरिकताको विवादबाट मुक्त हुन सकेनन्। सामाजिक सञ्जालमा कतिपयले बेलायती नागरिकता लिएपछि उनको नेपालीपनमाथि प्रश्न उठाए। तर एउटा तथ्य बिर्सनु हुँदैन- कानुनले नागरिकताको हैसियत परिवर्तन गर्न सक्छ, जन्मभूमिप्रतिको प्रेम परिवर्तन गर्न सक्दैन।

एक जना बेलायती नागरिक हिन्दुस्तानी, जो अफ्रिकामा जन्मेका, उनले कहिल्यै हिन्दुस्तानको माटो नटेकेका- जब रामदेवले आयोजना गर्ने शिविरमा देशको तिरङ्गा फहराउँछन्, ‘बन्देमातरम्’ गाउँदै ‘जय हिन्द’ को नारा लगाउँछन्- उनको नागरिकता भारतको छ कि, केन्याको छ वा बेलायतको छ, यो हेरिँदैन। हेरिन्छ त केवल उसको आफ्नो हजुरबाको विरासत रहेको देशप्रतिको अगाध स्नेह र माया अनि कर्तव्य।

नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ। तर त्यसको कार्यान्वयन र अधिकारबारे अझै बहस जारी छ। विशेषगरी गोर्खा सैनिक र तिनका सन्ततिका सन्दर्भमा राज्यले थप स्पष्ट र न्यायपूर्ण नीति बनाउने आवश्यकता लामो समयदेखि उठ्दै आएको विषय हो।

आज आवश्यकता निम्स दाइको नागरिकताको समीक्षा गर्ने होइन; उनले नेपालका लागि गरेको योगदानको सम्मान गर्ने हो।

निर्मल पुर्जाको जीवनले पनि यही बहसलाई फेरि स्मरण गराएको छ। गैरआवासीय अभियानको सुरुवाती दिनबाटै जोडिएको एक अभियन्ता र गत कार्यकालमा नागरिकता हेर्ने विभागसमेतको प्रमुख भएको नाताले भन्नैपर्ने भो- ‘यो बहस तबसम्म जारी रहन्छ जबसम्म राज्यले गैरआवासीय नेपाली र पूर्वगोर्खाजहरूको जायज मागलाई सम्बोधन गर्दैन !’

भलै हामी एनआरएनहरूले पनि पहल गरेका छौँ, सरकार परिवर्तन हुनेबित्तिकै फुलगुच्छा लिएर पुगेकै छौँ, मन्त्री-प्रधानमन्त्रीहरूसँग कुम जोडेर फोटो खिचेकै छौँ, मैले पनि खिचेँ होला- सामाजिक सञ्जालमा राखेकै छौँ। हामी यो झुटो आश्वासनमा अभिशप्त छौँ कि ‘यति गरेपछि हाम्रो काम फत्ते भयो।’

एउटा लघुकथाको याद आउँछ: जङ्गलमा सिंहको अत्याचार बढ्यो, सबै जीवहरूको बैठक बसेछ र नयाँ राजा छनोट गर्ने मत आएछ। लामो छलफलपश्चात् सबैभन्दा चतुर बाँदरलाई राजा छनोट गरेछन्। एक दिन बाख्रा रुँदै नयाँ राजाकहाँ सहयोग माग्न गएछ- ‘ब्वाँसोले मेरो पाठो लग्यो, लौ न सरकार सहयोग पाऊँ।’

चतुर राजा हत्त न पत्त सहयोगका लागि तयार भयो र हिँड्यो। स्वभावजन्य रूपमा ऊ यो रूखबाट अर्कोमा छलाङ मार्छ, अर्कोबाट अर्कोमा, कुदेको कुद्यै छ। बाख्री चिच्याउँदी रहिछन्- ‘लौ न सरकार मेरो पाठो त ब्वाँसोले खाइसक्यो, के गर्‍या यो ?’ राजा जङ्गिँदो रहेछ- ‘तिमीले देख्दैनौ ? मिहिनेत गरिरहेकै छु !’

हाम्रो अवस्था यही हो- लागेको लाग्यै छौँ, तर परिणाममुखी नतिजा नआउँदा हामीलाई यसै भन्छन्। यो नागरिकताको माग जबसम्म सम्बोधन हुँदैन, तबसम्म ‘निम्स’ जस्ता राष्ट्रिय विभूतिहरू अब यो विवादको घेरामा पर्नेछन्, पारिनेछन्।
आज आवश्यकता उनको नागरिकताको समीक्षा गर्ने होइन; उनले नेपालका लागि गरेको योगदानको सम्मान गर्ने हो। निर्मल पुर्जाले आफ्नो सफलताको केन्द्रमा कहिल्यै आफूलाई राखेनन्। उनले सधैँ नेपाललाई राखे। विश्वका सबैभन्दा अग्ला हिमालमा नेपालको झन्डा फहराए। नेपाली पर्वतारोहणलाई नयाँ पहिचान दिए। संसारभरका लाखौँ युवालाई ‘असम्भव भन्ने केही हुँदैन’ भन्ने विश्वास दिलाए।

दुःखको कुरा, उनी संसारकै दुर्लभ इतिहास रच्ने अन्तिम यात्रामै प्रकृतिको क्रूरतासँग हार्न पुगे। ब्रोड पिकतर्फ अघि बढ्दा उनी अक्सिजनबिना १४ वटा आठ हजार मिटर अग्ला हिमाल दुई पटक आरोहण गर्ने संसारकै पहिलो व्यक्ति बन्ने लक्ष्यमा थिए। त्यो सपना अधुरै रह्यो। तर उनले बनाएको इतिहास अधुरो छैन।

हामीकहाँ एउटा प्रवृत्ति छ- जीवित हुँदा आफ्नै मानिसलाई शङ्का गर्ने, उनीहरू बितेपछि मात्र सम्मान गर्ने। निर्मल पुर्जाको जीवन र मृत्युले हामीलाई यही आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। आफ्ना नायकहरूको मूल्याङ्कन पूर्वाग्रहले होइन, उनीहरूले राष्ट्रलाई दिएको योगदानले गर्न सिक्नुपर्छ।

निर्मल पुर्जा अब एउटा व्यक्ति मात्र होइनन्। उनी नेपाली साहसको पर्याय बनेका छन्। उनी यस्तो प्रेरणा हुन्, जसले देखाए कि एउटा सामान्य नेपाली युवकले पनि संसारको इतिहास बदल्न सक्छ। उनको जीवनले सिकाएको सबैभन्दा ठूलो पाठ यही हो- प्रतिस्पर्धा अरूसँग होइन, आफ्नै सीमासँग गर्नुपर्छ।

आज उनको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने सबैभन्दा ठूलो तरिका आँसु बगाउनु मात्र होइन, उनले छाडेर गएको आत्मविश्वासलाई जोगाउनु पनि हो। किनकि निर्मल पुर्जा संसारबाट बिदा भए पनि उनले नेपाली हुनुको गर्वलाई संसारको सबैभन्दा अग्लो शिखरसम्म पुर्‍याइसकेका छन्। इतिहासले उनलाई विश्वकीर्तिमानी पर्वतारोहीका रूपमा सम्झिनेछ।

नेपालले भने उनलाई आफ्ना सपनालाई विश्वको उचाइमा पुर्‍याउने एउटा असाधारण छोराका रूपमा सम्झिरहनेछ । आमनेपाली र गैरआवासीय नेपालीले सम्झिरहनेछन् । ‘निम्स’ तिमीलाई- अलबिदा !

(लेखक गैरआवासीय नेपाली सङ्घका केन्द्रीय उपाध्यक्ष हुन्।)

लेखक
रामशरण सिमखडा

लन्डनमा बसोबास गरिरहेका सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उप-महासचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?