+
+
Shares

मानवीय गतिविधिले डाँफेको आवाज फेरिँदै, बासस्थान पनि माथि सर्दै

पर्यटकीय क्षेत्रहरूमा बढेको सवारीसाधन र मानिसको आवाजका कारण डाँफेले आफ्नो आवाजको पिचसमेत परिवर्तन गर्न थालेको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते ११:१७

२१ असोज, काठमाडौं । मानवीय गतिविधि बढ्दै जाँदा हिमाली क्षेत्रको सुन्दर पन्छी डाँफेको बासस्थान र सञ्चार गर्ने शैलीमा समेत परिवर्तन आउन थालेको अनुसन्धानले देखाएको छ ।

पाँच वर्ष लामो दुई छुट्टाछुट्टै अध्ययनले पूर्वाधार विकास, पर्यटन र बढ्दो मानवीय चहलपहलले डाँफेको प्राकृतिक जीवनमा गम्भीर असर पारिरहेको देखाएको बीबीसीले जनाएको छ ।

डाँफे हिमाली वन क्षेत्रमा पाइने सुन्दर चरा हो । भाले डाँफे हरियो, निलो र ताम्र रंगका चम्किला प्वाँखका कारण विशेष आकर्षक देखिन्छ । नेपालमा राष्ट्रिय पक्षीका रूपमा चिनिने डाँफे भारतको उत्तराखण्ड राज्यको पनि राज्य पक्षी हो ।

अनुसन्धानका अनुसार मानवीय गतिविधिका कारण डाँफेको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । अर्कोतर्फ, पर्यटकीय क्षेत्रहरूमा बढेको सवारीसाधन र मानिसको आवाजका कारण डाँफेले आफ्नो आवाजको पिचसमेत परिवर्तन गर्न थालेको पाइएको छ ।

बासस्थान खोज्दै डाँफे उचाइतर्फ

उत्तराखण्डको हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालयका अनुसन्धानकर्ता डा. राजीव लोचन नेतृत्वको एउटा अध्ययनले जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेको उपयुक्त बासस्थान क्रमश: माथिल्लो भूभागतर्फ सर्दै गएको देखाएको छ ।

डाँफे सामान्यत: हिमाली वनको तल्लो क्षेत्रदेखि वन रेखाभन्दा माथिका उच्च हिमाली घाँसे मैदानसम्म मौसमी रूपमा आवतजावत गर्छ । तर हिमाली क्षेत्रमा पर्यटन तथा पूर्वाधार विकास बढ्दै जाँदा उसका परम्परागत बासस्थानमा मानवीय दबाब बढेको छ ।

अनुसन्धानकर्ताका अनुसार हिउँ पग्लिँदै जाँदा माथिल्लो क्षेत्रमा वनस्पति बढ्नुले डाँफेलाई केही नयाँ क्षेत्र उपलब्ध गराएको छ । तर त्यही क्षेत्रमा मानिसको अतिक्रमण र गतिविधि बढ्दा डाँफे थप माथि धकेलिँदै गएको छ ।

जलवायु परिवर्तनको प्रभावलाई समेत समेटेर गरिएको मोडलिङले सन् २१०० सम्म भारतीय हिमालयमा डाँफेको उपयुक्त बासस्थान निरन्तर खुम्चिन र अस्थिर हुन सक्ने देखाएको छ ।

बासस्थान साना–साना टुक्रामा विभाजित हुँदै गएमा डाँफेको समूहहरूबीच प्रजननको सम्भावना घट्ने र स्थानीय रूपमा लोप हुने जोखिम बढ्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

पर्यटकीय क्षेत्रमा डाँफेको आवाज नै फरक

लोचनसहित दिनेशकुमार शर्मा र आनन्द कुमारले गरेको अर्को अध्ययनले भने डाँफेको आवाजमा मानवीय गतिविधिको प्रभाव देखाएको छ ।

उत्तराखण्डको केदारनाथ मस्क डियर सेन्चुरीका दुई उपत्यका (चोपता र मदमहेश्वर) मा अध्ययन गरिएको थियो । चोपता पर्यटकीय तथा सवारीसाधनको चहलपहल बढी भएको क्षेत्र हो भने मदमहेश्वर तुलनात्मक रूपमा शान्त क्षेत्र हो ।

अनुसन्धानकर्ताले दुवै क्षेत्रमा एक वर्षसम्म डाँफेका ७०० भन्दा बढी आवाज रेकर्ड गरेका थिए । त्यस क्रममा आवाजको पिच, अवधि र वरपरको ध्वनि प्रदूषणको स्तर मापन गरिएको थियो ।

अध्ययनले मानिसको चहलपहल र सवारीसाधनको आवाज बढी भएको क्षेत्रमा बस्ने डाँफेले शान्त क्षेत्रमा बस्ने डाँफेको तुलनामा उच्च पिचमा आवाज निकाल्ने गरेको देखाएको छ ।

त्यस्तै, चोपताका डाँफेले तुलनात्मक रूपमा छोटो समयका लागि आवाज निकाल्ने गरेको पनि पाइएको छ । अनुसन्धानकर्ताका अनुसार कम फ्रिक्वेन्सीको मानवीय आवाज र सवारीसाधनको कोलाहललाई पार गरेर आफ्नो आवाज सुनाउन डाँफेले यस्तो व्यवहार देखाएको हुन सक्छ ।

तर यसलाई डाँफेको स्थायी वा क्रमिक विकासका कारण आएको परिवर्तन भने मान्न नसकिने अनुसन्धानकर्ता लोचन बताउँछन् । उनका अनुसार यो विभिन्न ध्वनि वातावरणअनुसार डाँफेले देखाएको व्यवहारिक अनुकूलन हुन सक्छ ।

‘डाँफे हिमाली पारिस्थितिक प्रणालीको सूचक’

अनुसन्धानकर्ताहरूले डाँफेलाई उत्तर–पश्चिमी हिमालयको पारिस्थितिक स्वास्थ्यको महत्त्वपूर्ण सूचकका रूपमा हेरेका छन् ।

डाँफे सीमित बासस्थानमा निर्भर रहने र तल्लो पहाडी क्षेत्रदेखि उच्च हिमाली क्षेत्रमा मौसमी रूपमा सर्ने भएकाले यसको बासस्थानमा देखिएको परिवर्तनले अन्य पक्षी तथा वन्यजन्तुले भोगिरहेको समस्याको पनि संकेत गर्न सक्ने लोचनको भनाइ छ ।

पर्यावरणविद् विशाल सिंहका अनुसार डाँफेले आफ्नो ‘आवाज’ र ‘ठेगाना’ दुवै परिवर्तन गर्नुपर्ने अवस्था आउनु अन्य अझ संवेदनशील प्रजातिका लागि गम्भीर चेतावनी हो ।

‘आर्थिक विकास र पूर्वाधार विस्तार भइरहे पनि त्यो हिमाली क्षेत्रको पारिस्थितिक अखण्डतासँग मेल खाएको छैन,’ सिंहले भनेका छन् ।

पर्यटन, सडक तथा अन्य पूर्वाधार विस्तारले हिमाली क्षेत्र मानिसका लागि सहज बनाउँदै लगे पनि त्यसले वन्यजन्तुको प्राकृतिक बासस्थानमा दबाब बढाएको छ । त्यसमा जलवायु परिवर्तनको प्रभाव थपिँदा हिमाली जैविक विविधतामाथि जोखिम अझ बढेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

अनुसन्धानकर्ता लोचनले आफ्नो अध्ययन प्रारम्भिक चरणको भएकाले यसको पारिस्थितिक प्रभावबारे ठोस निष्कर्ष निकाल्न थप अध्ययन आवश्यक रहेको बताएका छन् ।

तर यी दुई अध्ययनले एउटा महत्वपूर्ण संकेत भने दिएका छन्– मानिसको बढ्दो गतिविधिले हिमालमा डाँफेले बस्ने ठाउँ मात्र होइन, आफ्नो साथी र प्रतिद्वन्द्वीलाई बोलाउने आवाजसमेत बदल्नुपर्ने अवस्था सिर्जना गरिरहेको छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?