२१ असोज, काठमाडौं । भारतको एस्केप रुम नेटवर्क मिस्ट्री रुम्सले काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ। सिभिल मलको चौथो तल्लामा सञ्चालनमा आएको मिस्ट्री रुम्सले खेल तथा सामूहिक अनुभवमा आधारित पाँचवटा प्रत्यक्ष एस्केप एडभेन्चर सञ्चालनमा ल्याएको हो।
शार्क ट्याङ्क नेपाल सिजन–१ बाट लगानी प्राप्त गरेको नेपाली बोर्ड गेम कम्पनी अल्छीका लगानीकर्ता तथा शार्क ट्याङ्क नेपालका शार्क क्याबिनेट श्रेष्ठसहित मिस्ट्री रुम्स नेपालका साझेदार कृति शाक्य, मनिष श्रेष्ठ र रौनक अग्रवालको उपस्थितिमा यसको औपचारिक उद्घाटन गरिएको हो।
एस्केप रुममा सहभागी टोली एउटा निश्चित कथावस्तुमा आधारित परिवेशभित्र प्रवेश गर्छ। त्यहाँ उनीहरूलाई तोकिएको अभियान पूरा गर्न सीमित समय दिइन्छ। खेलाडीहरूले ६० मिनेटभित्र विभिन्न संकेत खोज्ने, पहेली तथा समस्या समाधान गर्ने र आपसी सहकार्य गर्दै आफ्नो उद्देश्य पूरा गर्नुपर्ने हुन्छ।
मिस्ट्री रुम्स काठमाडौंमा दुईदेखि आठ जनासम्मको समूहका लागि विभिन्न एस्केप एडभेन्चर उपलब्ध छन्। यसले साथीभाइ, परिवार, सहकर्मी तथा आगन्तुकलाई सँगै समय बिताउँदै मनोरञ्जन लिन नयाँ माध्यम उपलब्ध गराउने कम्पनीले जनाएको छ।
काठमाडौंमा सञ्चालनमा आएको मिस्ट्री रुम्स भारतको ठूलो एस्केप रुम सञ्जालको हिस्सा हो। यसको शाखा भारतका प्रमुख सहरहरूमा सञ्चालनमा छन्। प्रत्यक्ष सहभागिता र सामूहिक खेलमा आधारित यसको अवधारणाले मानिसहरू आफैं सक्रिय रूपमा सहभागी भएर सँगै मनोरञ्जन लिने रुचिलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
मिस्ट्री रुम्सको काठमाडौं यात्रा मनिष श्रेष्ठका लागि आफूले सञ्चालन गर्दै आएको अल्छीको अवधारणाकै विस्तार हो। अल्छीले नेपाली संस्कृति, स्थान र कथाबाट प्रेरित बोर्ड गेम निर्माण गर्दै आएको छ। श्रेष्ठ अल्छी लिएर शार्क ट्याङ्क नेपालको पहिलो सिजनमा सहभागी भएका थिए। सोही यात्राबाट प्राप्त लगानीको केही हिस्सा उनले रौनक अग्रवालसँगको सहकार्यमा मिस्ट्री रुम्स काठमाडौं ल्याउन प्रयोग गरेका हुन्।
श्रेष्ठले भने, ‘अल्छीमा हामी नेपाली कथामा आधारित बोर्ड गेम बनाउँछौं। मानिसहरूले केही समय मोबाइल फोन छोडेर सँगै बसेर खेलेको देख्न हामीलाई मन पर्छ। मिस्ट्री रुम्स त्यही सोचको अर्को रूप हो। यहाँ बोर्ड वरिपरि बसेर खेल्नुको सट्टा तपाईं आफैं खेलभित्र प्रवेश गर्नुहुन्छ। तपाईं खोज्नुहुन्छ, समस्या समाधान गर्नुहुन्छ र सँगै एउटा कथा सिर्जना गर्नुहुन्छ। अब काठमाडौंमै यस्तो अनुभव दिन पाउँदा म निकै उत्साहित छु।’
औपचारिक उद्घाटन ७ अक्टोबरमा भए पनि मिस्ट्री रुम्सले अक्टोबरको सुरुदेखि नै ग्राहकलाई सेवा दिन थालेको जनाएको छ। सञ्चालनको पहिलो महिनामै १ हजारभन्दा बढी मानिसले यहाँका एस्केप रुमको अनुभव लिइसकेको कम्पनीको दाबी छ।
मिस्ट्री रुम्स काठमाडौंले गुगलमा ५ मध्ये औसत ४.८ अंकको मूल्याङ्कनसमेत प्राप्त गरेको जनाएको छ।
मिस्ट्री रुम्स काठमाडौं सिभिल मलको चौथो तल्लामा अवस्थित छ। थप जानकारी तथा बुकिङका लागि मिस्ट्री रुम्स नेपालको वेबसाइटमा जान सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4