२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणाले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गरेका छन् ।
राणाले जारी १५ औं महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी दिएका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले आफू व्यक्तिगत स्वार्थभन्दा पनि सिङ्गो तरुण पंक्तिको प्रतिनिधित्व गर्दै महामन्त्रीको दौडमा रहेको बताए । राणाले आफ्नो विगतको कार्यक्षमतालाई दाबीको आधार बनाएका छन् ।
‘म केवल उदयशमशेरको रूपमा उठेको होइन, तरुण दलको पूर्व अध्यक्ष र युवाहरूको प्रतिनिधिको हैसियतले उम्मेदवारी दिएको हुँ । तरुण साथीहरूको साथ र सहयोग मेरो मुख्य शक्ति हो,’ राणाले भने ।
तरुण दलको नेतृत्व गर्दा ललितपुरमा पार्टीले हासिल गरेको चुनावी सफलतालाई स्मरण गर्दै उनले आफ्नो छवि स्वच्छ र प्रभावकारी रहेको दाबी गरे । पार्टीभित्र देखिएको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्दै राणाले सबै पक्षलाई मूलधारमा समेटेर लैजान सक्ने क्षमता आफूमा रहेको जिकिर गरे ।
‘मैले तरुण दलको अध्यक्ष हुँदा ललितपुरमा कांग्रेसलाई क्लिन स्विप गराएको इतिहास छ । त्यही अनुभव र आत्मविश्वासका साथ म महामन्त्रीको जिम्मेवारी सम्हाल्न तयार छु,’ उनले भने ।
प्रतिक्रिया 4