२१ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ ।
महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने भनिएको छ ।
मन्त्रालयले बुधबार उक्त कार्यक्रमको कार्यविधि लागु गरेको छ । कार्यविधिअनुसार महिला उद्यमीलाई आवश्यक मेसिन, औजार तथा उपकरण उपलब्ध गराउने, उद्यमको स्तरोन्नति गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा महिलालाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रमअन्तर्गत छनोट भएका एकल महिला उद्यमीलाई कम्तीमा दुई लाख रुपैयाँसम्म र महिला उद्यमी समूहलाई तीन लाख रुपैयाँसम्मको उपयुक्त प्रविधि सहयोग उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।
मन्त्रालयले कार्यक्रमलाई प्रदेश र स्थानीय तहसँगको सहकार्यमा कार्यान्वयन गर्ने व्यवस्था गरेको छ । प्रदेश मन्त्रालयले सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गर्नेछ, भने स्थानीय तहले आफ्नो क्षेत्रका सम्भावनायुक्त महिला उद्यमी तथा महिला उद्यमी समूह छनोट गरी प्रदेशमा सिफारिस गर्नेछन् ।
कार्यविधिले स्थानीय कच्चा पदार्थ, मौलिक सीप, कृषि, पशुपालन, हस्तकला, पर्यटन तथा सेवा क्षेत्रमा आधारित महिला उद्यमलाई प्राथमिकता दिएको छ ।
मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेती, हाँस–कुखुरा पालन, पशुपालन, अल्लो तथा ढाका बुनाइ, थाङ्का, पौवा चित्र, मिथिला कला, होटल व्यवसाय, मौरीपालन, माछापालन, होमस्टे र परम्परागत सीप तथा प्रविधिमा आधारित उद्यमलाई समेत कार्यक्रममा समेट्न सकिनेछ ।
विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिला उद्यमीलाई प्राथमिकतामा राख्ने व्यवस्था कार्यविधिमा गरिएको छ। हरुवा, चरुवा, कमलहरी, चमार, डोम, चेपाङ र वादी समुदायका उद्यमी महिलालाई लक्षित समूहमा समावेश गरिएको छ ।
प्रतिक्रिया 4