+
+
Shares
स्थलगत :

लेकबाट आएको खबर, जसले कैयौंको ज्यान जोगायो

पहिरोले रोकिएको बूढीगण्डकीमा बाढी आउन कम्तीमा चार घण्टा लागेको थियो । रसुवागढी बाढीबाट पाठ सिकेका स्थानीयहरूले तत्काल तल्लो भेगमा खबर गर्न ढिला गरेनन्, जसले गर्दा बूढीगण्डकी किनाराका बासिन्दा सुरक्षित ठाँउमा भाग्न भ्याए ।

कृष्ण ज्ञवाली आदित्य नेपाल कृष्ण ज्ञवाली, आदित्य नेपाल
२०८३ असोज २७ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको आरुघाटमा बूढीगण्डकी थुनिएर आएको बाढीले ६ जना हराइरहेका छन् भने आरुघाट पुलसहित ६ झोलुंगे र ३ मोटरेबल पुलमा क्षति पुर्‍याएको छ।
  • घटस्थापनाको दिन पहिरोले बूढीगण्डकी थुनिएको खबरपछि आरुघाट, शान्तिबजार र आसपासका बासिन्दा अग्लो डाँडातिर भागेर ज्यान जोगाउन सफल भएका थिए।
  • शान्तिबजार र आरुघाट आसपासका बस्तीमा बाढीले घर, बस्तुभाउ, अन्नपात र खेतमा लेदो पुर्‍याएको छ भने प्रभावितलाई भूमेथानमा राखेर राहत वितरण गरिएको छ।

२७ असोज, आरुघाट(गोरखा) । गत आइतबार, घटस्थापनाको दिन । बिहान भाले नबास्दै आरुघाट बजारमा मानिसहरूको चहलपहल शुरु भयो । केहीबेरमै चर्को होहल्ला र शुरु भयो । चुमचेत र फिलिमतिरका मानिसहरुले पहिरोले बूढीगण्डकी थुनिएको खबर तल आरुघाट बजारमा पुर्‍याइसकेका थिए ।

खबर पाएका मानिसहरूले घरपरिवारका सदस्यहरूलाई जर्‍याकजुरुक उठाए अनि छरछिमेकमा होहल्ला गर्दै माथि डाँडातिर कुद्न थाले । अनि गोरखापट्टिको आरुघाट बजारका बासिन्दाले पारी धादिङतिरको बजारका मानिसहरूलाई पनि खबर गरे ।

केहीबेरमा स्थानीय जनप्रतिनिधिहरू र प्रहरीको टोली पनि होहल्ला गर्दै बजार घुम्न थाले । गोखरातिरका मानिसहरु आरुघाट बजारको टारीफाँटमा पुगे अनि धादिङतिरका मान्छेहरूमाथि सल्यानटारको डाँडातिर कुदे ।

केहीबेरमा वारी र पारीको बूढीगण्डकी बजार रित्तोजस्तो भइसकेको थियो । अघिल्लो महिना मात्रै रसुवागढीको विध्वंशक बाढी देखेका उनीहरू सकेसम्म छिटो अग्लो डाँडातिर कुदिसकेका थिए ।

आरुघाट बजारका सन्तोषराज बज्राचार्यका अनुसार, राती एकाएक पहिरोको आवाज र जमिनमा कम्पन आएपछि नजिकका मानिसहरू जागेका रहेछन् ।

बूढीगण्डकीमा पानी बग्न छाडेपछि उनीहरू माथि वनतिर भागाभाग गरेछन् अनि तलतिर पर्ने आरुघाट, सोती लगायतका बजारतिर खबर गरेछन् । पहिरोले बूढीगण्डकी थुनिएको खबर तत्काल तल्लो भागमा फैलियो ।

सन्तोषराज बज्राचार्य ।

फर्किँदा पुल छैन…

गोरखा आरुघाटमा बस्ने सुमन गुरुङ एम्बुलेन्स चालक समेत हुन् । बाढीकै होहल्लाबीच उनलाई धादिङबेंसीमा रहेकी सुत्केरीलाई लिएर आउन खबर आयो । उनी गोरखा र धादिङ जोड्ने आरुघाटको पुल हुँदै एम्बुलेन्स लिएर धादिङबेंसी पुगे ।

उनी फर्कदा बूढीगण्डकीमा बाढी आइसकेको थियो । र, बाढीले आरुघाट बजारको पक्की पुलको तीनमध्ये गोरखातिरको एउटा भागको आरसीसी स्ल्याब बगाइसकेको थियो । त्यही पक्की पुलको तल रहेको झोलुंगे पुलबाट ‘स्ट्रेचर’मा राखेर सुत्केरी बिरामीलाई आरुघाट बजारमा ल्याए । गुरुङ भन्छन्, ‘म पारी जाँदा सग्लै रहेको पुल फर्किदा बाढीले बगाइसकेको थियो ।’

आरुघाट बजार गोरखाको उत्तरीभागमा जाने नाकाको पुरानो बजार हो । माथिल्लो गोरखा जाने पर्यटकहरू बूढीगण्डकीको किनारामा रहेको बजार हुँदै उकालो लाग्छन् ।

आरुघाट बजारमा गोरखा सदरमुकाम र १२ किलोबाट बाटो जोडिन्छ भने धादिङबेंशीबाट सल्यानटार हुँदै जान पक्की सडक बनेको छ । जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजनाको प्रमुख प्रभावित स्थल मानिने यो बजार आयोजना निर्माण भएमा पुरै विस्थापित हुनेछ ।

त्यही बजारमा आइतबार झिसमिसेमा ‘माथि पहिरोले बूढीगण्डकी थुनिएको र ताल फुटेर बाढी आउनसक्ने’ हल्ला चलेको थियो । जसले बूढीगण्डकीबासीलाई केहीबेर ‘त्राहीमाम’ बनायो ।

‘लेख’को खबरले जोगायो

बूढीगण्डकीको किनारैकिनार केहीबेर हिँडेपछि शान्तिबजार पुगिन्छ । कतिपयले त्यसलाई शान्तिबगर भन्छन् भने कतिपयले शान्तिबजार । भन्नुमात्रैको बजार थियो । जस्ताले छाएका र गुजुमुज्ज परेको बस्तीमा कुनै पसल वा दोकान थिएन तर मानिसहरूले शान्तिबजार भन्थे ।

करिव ४०–४२ वटा घर भएको शान्तिबजारमा दुईवटा बाहेक सग्ला घर छैनन् । मानिसहरूले बेलैमा थाहा पाएकाले जसोतसो ज्यान जोगाएपछि अधिकांशले बस्तुभाउलाई बचाउन सकेनन् ।

‘बिहानै हामीलाई लेखबाट खबर आयो र यताउता भागिम् । अलि उज्यालो भएपछि बस्तुभाउ निकाल्न म फेरि फर्केको थिए, ६ बजेतिर बाढी आएपछि अरुले जान दिएनन्’ शान्तिबजारकी दिलकुमारी थापा भन्छिन्, ‘गण्डकीमा बाढी आयो, फेरि सुक्यो । अनि फेरि बाढी आयो । पछिल्लो बाढीले घर सबै डुबायो ।’

आरुघाट र वरपरका बासिन्दाहरू माथिल्लो गोरखाको चुमचेत, छेकम्पार र त्यस वरपरको भागलाई ‘लेक’ भन्छन् भने त्यहाँका बासिन्दालाई लेकाली । अनि बोलीचालीको भाषामा कतिपयले लेखाली भनेर बोलाउँछन्, तिनै लेखालीहरूको खबरले तल्लो भागमा बाढीअघि नै धेरै उद्दार भएको थियो । सबैभन्दा ठूलो कुरा, धेरैको ज्यान जोगिएको थियो ।

शान्तिबजारको बस्तीमा मानिसहरूले बस्तुभाउ पालेका थिए, कतिपयले बाख्रा र कुखुरा पालेका थिए । दशैंमा बेचेर खर्च जुटाउने तयारी थियो ।

ती सबै बूढीगण्डकीले बगाएको लेदो माटोमुनि पुगिएका छन् । मानिसहरू जसोतसो ज्यान जोगिएकोमा धन्य भएका छन् । उनीहरूलाई नजिकैको भूमेथानमा व्यवस्थापन गरिएको थियो ।

दिलकुमारीसँगै बाढीले पुरिएको बस्तीमा ओहोरदोहोर गरिरहेकी टंककुमारी थापाले बाढीको खबरपछिको अवस्था बेलिबिस्तार लगाइन् । उनका अनुसार, खबर आउनसाथ सुरुमा बुढाबुढी र केटाकेटी अनि त्यसपछि अलि बलियालाई माथि लगेर ‘उतारिएको’ थियो ।

‘कसैलाई पनि बाढीमा पर्न दिएनौं । केहीले बल्लतल्ल बस्तुभाउ जोगाए’ बाढीले सर्वस्व पुगेपछि सन्तोषको सास फेरेकी उनी भन्छिन्, ‘बस्तुभाउ, सबै लग्यो । खानेखर्च केही रहेन । दशैं आइरहेको छ, अन्नपात जोगिएन । अब त हाम्रो सबै पुरियो । एक मुठी धान काट्ने ठाँउ पनि रहेन ।’

सोमबार अनलाइनखबरको टोली शान्तिबजार पुग्दा पारी गंगाजमुना गाँउपालिका–७ मा बस्ने बुद्धिप्रसार ढकाल बिहेको निम्तो मान्न आरुघाट बजार जाँदै थिए । र, बाढीले पारेको क्षति हेर्न शान्तिबजारको एक छेउमा उभिएका थिए ।

‘हामीले देख्दा यो ठाँउ चौर थियो । माथिबाट लेकालीहरू झरे । बस्ती बस्यो र शान्तिबजार नाम रह्यो’ २०५२÷५४ सालतिरको घटना सम्झदै ढकाल भन्छन्, ‘पहिले पैदल हिँड्नेहरू त्यही बजारबाट ओहोरदोहोर गर्थे, खैरेनी(आँबुखैरेनीं)सम्म नुनतेल लिन जानेआउनेहरूको बसोबास हुन्थ्यो । पछि अर्कोतिरबाट बाटो बनेपछि बजार सुकेको थियो । अब त बाढीले त्यो पनि सबै पुर्‍यो ।’

त्यहाँबाट केही अगाडीको भूमेथान फाँटमा मानिसहरुको चहलपहल थियो । बाढीप्रभावितलाई बस्नका लागि डोजरले खेतको गह्रा सम्याउँदै थियो । सहयोगीहरूले केही भाँडाकुँडा, त्रिपाल, र चामलको बोरा बाँडिरहेका थिए । सुरक्षाकर्मीहरूको टोलीले राहत वितरण व्यवस्थापन गरिरहेको थियो ।

त्यहाँ भेटिएकी हजुरी बञ्जाराले बुढाबुढीहरूलाई राहतको सामान व्यवस्थापन गर्न सघाइरहेकी थिइन्, जो बूढीगण्डकी सरोकार समितिकी सदस्य समेत हुन् । उनका अनुसार, प्रस्तावित बूढीगण्डकी जलाशययुक्त परियोजना निर्माण भएमा आरुघाटदेखि आर्खेतसम्मको सबै भाग जलाशयले डुब्छ । आर्खेतस्थित हालको प्रहरी चौकी जलाशयको किनारामा पर्ने भनी प्राविधिकहरूले सर्वेक्षण गरेर किला ठोकेका रहेछन् ।

हजुरी बञ्जारा ।

किला ठोकेको ठाँउभन्दा तलका बासिन्दाहरूले मुआब्जा पाएको भए ठाँउ छोडिसकेका हुन्थे । तर मुआब्जा नपाएकाले उनीहरूले आफ्नो ठाँउ छाडेका थिएनन् । समितिकी सदस्य बञ्जाराका अनुसार, आर्खेतभन्दा तलका बाढी प्रभावित सबैजना बूढीगण्डकी जलविद्युत आयोजनाबाट पनि प्रभावित हुने बासिन्दा हुन् ।

भूमेथानबाट माथिपट्टिको आर्खेत र सोतीबजार पुग्ने बाटो बूढीगण्डकी किनारानजिकै थियो । जहाँ आइतबारको बाढीले बगाएर थुपारेको लेदोले सडक अवरुद्ध भएको थियो । पैदल हिँड्नेहरूका अनुसार, घुँडासम्म आउने लेदो टेकेर बाटो पार गर्नुपरेको थियो ।

गंगामा आएको अनौठो आवाज

धादिङ गंगाजमुना गाँउपालिका–७ का बुद्धिप्रसाद ढकालको घर बूढीगण्डकी किनाराबाट अलि माथि नै पर्छ । उनी गत आईतबार बिहान गोठमा भैसी दुहुदै गर्दा तल गंगाबाट अनौठो आवाज आएको थियो । पछि हेर्दा ठूलो बाढी आएको थाहा भयो ।

उनका अनुसार, माथिल्लो भेगमा ६ बजेको बाढीबारे ख्यालै भएन । तर ८ बजेको बाढीले भने माथिल्लो भागमा नै सुनिनेगरी अलि ठूलै आवाज निकालेको थियो र विध्वंश पनि मच्चाएको रहेछ ।

जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख डिएसपी राजकुमार श्रेष्ठका अनुसार, बाढीमा परेर ६ जना हराइरहेका छन् र उनीहरूको पत्तो हुन सकेको छैन । अरु कुनै मानवीय क्षति छैन ।

बाढीले बूढीगण्डकी किनाराका माछीखोला, दोभान, सल्लेरी, बगर, सोतीको पुल, शान्तिबजार, आरुघाटको पुल र धादिङपट्टिको आरुघाट बजारको किनारातिर बढी क्षति पुर्‍याएको छ ।

त्यहाँभन्दा तल फराकिलो बगरमा बगेको बूढीगण्डकीबाट खासै क्षति भएको छैन । ६ वटा झोलुंगे ३ वटा मोटरेबल पुलमा बाढीले क्षति पुर्‍याएको छ । ठाँउठाँउमा बूढीगण्डकीले बगाएको लेदोको डोब नदीकिनाराका रुख र भित्ताहरूमा स्पष्ट देखिन्छ । बूढीगण्डकीको दाँयाबाँया भागमा नै कालो माटोको तह थपिएको छ ।

छ दशकपछिको अर्को विध्वंश

बूढीगण्डकीको बाढी र त्यसले पुर्‍याएको असर हेर्न आरुघाटका बाबुराम ढकाल सोमबा बिहान पुलनजिकै पुगेका थिए । ७० वर्षिय ढकाल आफू सानो हुँदा बूढीगण्डकीमा हिउँदका बेला यस्तै बाढी आएको सम्झन्छन् ।

उनका अनुसार, फागुन, २०२४ मा माथि ‘लेकतिर’ बूढीगण्डकी तीन दिन थुनिएर यस्तै बाढी आएको थियो रे । त्यतिबेला गोरखाको काशीगाँउमा जात्रा चलिरहेका बेला माथिबाट खसेको पहिरोले बूढीगण्डकी थुनियो । त्यहाँको पहिरोले तीन दिनसम्म पानी थेगेको थियो र त्यसपछि तालको पानी बगेको थियो ।

तर अलिअलि गर्दै पानी बगेकाले ठूलो क्षति भएन । तरपनि त्यतिबेला बजारको केही भाग र तल झोलुंगेपुलनिरको अर्को साँघु बगाइदिएको रहेछ । जसको लट्ठाको अवशेष अहिले पनि बाँकी छ भने माथि काशीगाँउमा पनि त्यतिबेलाको तालको अवशेष देख्न सकिन्छ ।

सोमबार दिउँसो आरुघाट बजार सामान्यजस्तै थियो । माथिल्लो गोरखा हिँडेका पर्यटकहरू भने धमाधम फर्किरहेका थिए । बाढीप्रभावितलाई राहत बाढ्ने काम सुरु भइसकेको थियो ।

आरुघाट बगैंचा तलको किनारामा भत्किएको भागमा बेलिब्रिज राख्न प्राविधिकहरूले नापजाँच गरिरहेका थिए । त्यही भेटिएका सन्तोषराज बज्राचार्य अब भने बूढीगण्डकीको बाढीको डर हराइसकेको बताउँदै थिए ।

‘पानी घटेपछि अहिले आरुघाटमा सबैजना आ–आफ्नो घरमा बसेका छन् । पारीका केही मानिस आफन्त र नातेदारकोमा गएका छन्’ उनले भने, ‘धादिङमा गाँउपालिकाले राहत बाँड्ने तयारी गरिरहेको छ रे । हाम्रोमा पनि पीडितहरूलाई रासन बाँडिरहेका छन् । अब यहाँ पनि पुल बनाउने भन्दैछन् ।’

तस्वीर/भिडियो– कमल प्रसाईं/अनलाइनखबर

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?