News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
- पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको र त्यहाँ १२ कोठे तीनतले भवन निर्माण गरिने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
- मन्त्री सस्मित पोखरेलले विद्यार्थी चाप भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको र विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
२८ असोज, काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
ती विद्यालयमा आधुनिक भवन निर्माण तथा पूर्वाधार विस्तारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
निकासा भएको रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिने मन्त्रालयले जनाएको छ । प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिनेछ ।
मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको बताएका छन् । उनका अनुसार केही सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढिरहेको छ भने केही विद्यालय विद्यार्थी अभावको समस्यामा छन् ।
‘कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ,’ पोखरेलले भनेका छन्, ‘विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ ।’
उनले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार गर्दै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकासका लागि शिक्षक, अभिभावक तथा विद्यार्थीको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4