News Summary
Generated by OK AI. Editorially reviewed.- रामबाबु गुरुङले ‘कबड्डी–५’ को ट्रेलर सार्वजनिक गर्दै कबड्डी शृङ्खला बनाउनुको कारण पैसा र यो खेल खेलिरहन मन लाग्नु भनेका छन्।
- उनले नवीन सुब्बाले सफलताको पछाडि दौडिएको भनेर सोध्दा ‘भात खानका लागि’ भनेर जवाफ दिएको प्रसंग पनि लेखमा उल्लेख छ।
- लेखमा रामबाबु गुरुङले ‘कबड्डी’ मार्फत नेपाली सिनेमाको हलहरूको रौनक फर्काएको र उनका धेरै फिल्म ब्लकबस्टर भएको भनिएको छ।
तपाईंलाई ‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टा ठिक’ भन्ने कबड्डी फिल्म त पक्कै थाहा छ । तर त्यसका पछाडि उभिएर यसको खाका बनाउने रामबाबु गुरुङ हो भन्ने कुरा थाहा नहुन सक्छ । किनभने यी अल्पभाषी निर्देशक जथाभावी बोल्न र जहाँ पनि प्रस्तुत हुन असहज मान्छन् । आफूलाई सार्वजनिक गर्न उति रहर गर्दैनन् ।
कुनै बेला ‘हाँसी राख न माया, बोली राख न’ बोलको गीतमा मोडलिङ गरेयता उनी यदाकदा मात्र स्क्रिनमा देखिए । किनभने यिनी स्क्रिन पछाडि नै बसेर आफ्नो कार्यकुशलता देखाउन माहिर छन् । जबकि शारीरिक नापजाँचले यिनी आफैँ हिरो छन् । हँसमुख र मिजासिला पनि । तर, फिल्म खेल्दैनन् । कबड्डी खेल्छन् ।
फिल्म निर्देशनमा त रामबाबु रामको पनि बाबु भइदिए । उनका धेरै फिल्म ब्लकबस्टर भएका छन् । नेपाली सिनेमामा सन्नाटा छाइरहेको बेला उनले ‘कबड्डी’ बनाएर हलहरूको रौनक फर्काएका थिए ।
अर्गानिक फिल्म कस्तो हुन्छ ? भन्दा धेरैसँग सहज जवाफ थियो, ‘रामबाबुको कबड्डीजस्तो ।’ हुन पनि नेपाली सिनेमाका लागि त्यो एउटा मनपर्ने कोसेली थियो ।
कबड्डी व्यावसायिक रूपमा सफल भयो । त्यो सफलतालाई उनले चुनौती ठान्नुभन्दा पनि पैसा कमाउने मेलो बनाए । त्यसैले त दिग्गज फिल्ममेकर नवीन सुब्बाले भनिदिए, ‘सम्भावनायुक्त भनिएका निर्देशकहरू पनि आफ्नो सफलता दोहोर्याउनतिर लागे । कम्फर्ट जोनबाट बाहिर निस्कनै चाहेनन् ।’
नेपाली सिनेमाको स्तरवृद्धि किन भइरहेको छैन भन्ने प्रसंगमा फिल्ममेकर सुब्बाको टिप्पणी थियो यो ।
एकपटक नवीन सुब्बा पोखरा घुम्न गएका रहेछन् । त्यहाँ रामबाबु अर्को फिल्मको सुटिङ गरिरहेका थिए । रामबाबुलाई देखेपछि नवीन सुब्बाले उही प्रश्न गरेछन्, ‘किन तिमीजस्तो प्रतिभाशाली मान्छे सफलताको पछाडि दौडिएको ?’
रामबाबुले जवाफ दिएछन्, ‘भात खानका लागि ।’
त्यसो त रामबाबु स्पष्ट छन् । उनलाई कुरा बटारेर बोल्न आउँदैन, जति फिल्ममा कथा घुमाउन आउँछ। यसपालि उनी कबड्डी–२ वा ३ होइन, ५ लिएर प्रकट भए । प्रदर्शनको मुखमा रहेको ‘कबड्डी–५’ को ट्रेलर रिलिज गर्नैपर्यो, होहल्लाका लागि । युट्युबर र पत्रकारहरू बोलाएर उनले तामझामसहित ट्रेलर सार्वजनिक गरे । सोही मेसोमा कसैले उनलाई नवीन सुब्बाकै जस्तो प्रश्न दोहोर्याए, ‘किन कबड्डीकै शृङ्खला बनाइरहेको ?’
‘मलाई यो खेल खेलिरहन मन लाग्यो,’ गुरुङले अलिअलि हास्यरस मिसाएर भने, ‘यो पैसाकै लागि खेलिरहेको हो, कसम ।’
प्रतिक्रिया 4