+
+
Shares
विचार :

बेलायतमा कसरी लोकप्रिय बन्दैछ ‘होम एजुकेसन’ ?

बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार घरमै पढाउने (होम एजुकेसन) अभ्यास बेलायतमा बढ्दै गएको छ। यसरी घरमै पढेका बालबालिकाले पछि कसरी विश्वविद्यालयसम्मको शिक्षा र योग्यता हासिल गर्न सक्छन् त ?

सुरेन्द्र नेपाल श्रेष्ठ सुरेन्द्र नेपाल श्रेष्ठ
२०८३ असोज २८ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा अभिभावकले कानुनी प्रक्रिया पूरा गरी बालबालिकालाई विद्यालयबाहिर घरमै शिक्षा दिन सक्ने व्यवस्था छ।
  • इङ्ग्ल्यान्डमा सन् २०२५ को शरद ऋतुमा करिब १ लाख २६ हजार बालबालिका घरमै शिक्षा लिइरहेका थिए, जुन विद्यालय उमेरको करिब १.५ प्रतिशत हो।
  • वेल्समा सन् २०२५/२६ मा घरमै शिक्षा लिने बालबालिका ७ हजार ९१७ पुगेका छन्, र उत्तरी आयरल्यान्डमा सन् २०२४/२५ मा १ हजार २२० पुगेका थिए।

धेरै समयअघि मैले बेलायतमा ‘होम एजुकेसन’ अर्थात् घरमै शिक्षा दिने व्यवस्था, यसको इतिहास र विकासक्रमबारे लेख्न सुरु गरेको थिएँ। त्यतिबेला मैले विश्वप्रसिद्ध लेखिका अगाथा क्रिस्टीको नाम पनि पढ्ने मौका पाएको थिएँ। उनको बाल्यकालको दस वर्षसम्मको शिक्षा घरमै भएको जानकारीले मलाई यो विषयप्रति अझ बढी उत्सुक बनायो।

अस्ति बेलायतको टर्क्वे भ्रमण गर्ने क्रममा उनको स्मारिकनजिक पुग्ने अवसर मिल्यो। सन् १८९० मा जन्मिएकी अगाथा क्रिस्टीकी आमाले उनलाई घरमै पढ्नका लागि निकै प्रोत्साहन गरेकी थिइन्। किताब पढ्ने, कल्पना गर्ने र कथा लेख्ने बानीले नै उनको सिर्जनात्मक क्षमतालाई निखार्न ठूलो मद्दत पुर्‍यायो। पछि उनी संसारकै चर्चित रहस्यकथा लेखिका बनिन्।

मानव सभ्यताको विकाससँगै शिक्षाको स्वरूप पनि परिवर्तन हुँदै आएको छ। आधुनिक विद्यालय प्रणालीको सुरुवात हुनुभन्दा धेरै पहिले मानिसहरूले परिवार, गुरु र समुदायबाटै ज्ञान हासिल गर्थे। भारत र नेपालमा प्रचलित गुरुकुल पद्धति यसको एउटा जीवन्त उदाहरण हो।

विद्यार्थीहरू गुरुको आश्रममा बसेर धर्म, दर्शन, भाषा, तर्कशास्त्र, नैतिकता र व्यावहारिक ज्ञान सिक्ने गर्थे। त्यहाँ गुरु–शिष्यको सम्बन्ध, अनुशासन र निरन्तर अभ्यासलाई निकै महत्त्व दिइन्थ्यो। यद्यपि, त्यो समयमा शिक्षामा सबै वर्ग र समुदायको समान पहुँच थिएन। आजको सन्दर्भमा केही कुरा सिक्न उपयोगी भए पनि त्यस समयको ऐतिहासिक सीमालाई पनि बिर्सन सकिँदैन।

इङ्ग्ल्यान्डको कानुनअनुसार बालबालिकाले अनिवार्य विद्यालय उमेरमा उपयुक्त र पूर्णकालीन शिक्षा पाउनुपर्छ, तर त्यो शिक्षा विद्यालयमै पाउनुपर्छ भन्ने छैन। अभिभावकले घरमै पनि त्यो सुविधा उपलब्ध गराउन सक्छन्।

यसको कानुनी आधार सन् १९९६ को ‘एजुकेसन एक्ट’ को दफा ७ हो। सरकारले घरमै शिक्षा दिनका लागि कुनै छुट्टै राष्ट्रिय पाठ्यक्रम अनिवार्य गरेको छैन र अभिभावक शिक्षक नै हुनुपर्ने बाध्यता पनि छैन। तर दिइने शिक्षा बच्चाको उमेर, क्षमता र आवश्यकताअनुसार उपयुक्त हुनुपर्छ।

व्यवहारमा घरमै शिक्षा सुरु गर्नुअघि अभिभावकले एउटा ठोस योजना बनाउनु आवश्यक हुन्छ। बच्चालाई कसरी पढाउने, कुन विषय समेट्ने, दैनिक वा साप्ताहिक तालिका कसरी मिलाउने र उसको प्रगति कसरी मापन गर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ।

किताब र अनलाइन पाठ्यक्रमका साथै पुस्तकालय, सङ्ग्रहालय, शैक्षिक भ्रमण, खेलकुद र अन्य व्यावहारिक गतिविधिलाई पनि सिकाइको माध्यम बनाउन सकिन्छ। विद्यालयको राष्ट्रिय पाठ्यक्रम हुबहु पछ्याउनुपर्दैन तापनि पढाइलाई केवल कहिलेकाहीँ केही कुरा सिकाउने र अनियमित बनाउने अभ्यासमा मात्र सीमित राख्नु उचित हुँदैन।

घरमै शिक्षा दिँदा अभिभावकले विद्यालयमा जस्तै दैनिक उपस्थिति वा परीक्षा प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्दैन। तर बच्चाले वास्तवमै गुणस्तरीय शिक्षा पाइरहेको छ कि छैन भन्ने कुरा भने सधैँ महत्त्वपूर्ण रहन्छ।

बेलायतको कानुनअनुसार बालबालिकाले अनिवार्य रूपमा पूर्णकालीन शिक्षा पाउनुपर्छ, तर त्यो शिक्षा विद्यालयबाटै पाउनुपर्छ भन्ने छैन। अभिभावकले घरमै पनि त्यो सुविधा उपलब्ध गराउन सक्छन्।

यदि स्थानीय काउन्सिलले बच्चाले पर्याप्त शिक्षा नपाएको ठान्यो भने, उनीहरूले जानकारी माग्न सक्छन् र कानुनअनुसार आवश्यक कदम चाल्न सक्छन्। शिक्षा अपर्याप्त भएको प्रमाणित भएमा कानुनी प्रक्रिया पूरा गरी ‘स्कुल अटेन्डेन्स अर्डर’ अर्थात् विद्यालयमा उपस्थित हुनुपर्ने आदेश जारी गर्ने व्यवस्था पनि छ।

यस विषयमा भइरहेका पछिल्ला कानुनी परिवर्तनहरूलाई पनि ध्यान दिनु आवश्यक छ। सन् २०२६ मा पारित भएको ‘चिल्ड्रेन्स वेलबिइङ एन्ड स्कुल्स एक्ट’ ले इङ्ग्ल्यान्ड र वेल्समा विद्यालयबाहिर रहेका बालबालिकाको दर्ता र निगरानीसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। यसअन्तर्गत स्थानीय काउन्सिलले विद्यालयबाहिर रहेका योग्य बालबालिकाको अभिलेख राख्ने, अभिभावकबाट आवश्यक जानकारी लिने र घरमै शिक्षा दिने परिवारलाई सहयोग गर्ने काम गर्छन्।

घरमै शिक्षा दिने व्यवस्था इङ्ग्ल्यान्डमा मात्र सीमित छैन। बेलायतका चारै राज्य— इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयबाहिर घरमै शिक्षा दिन सक्छन्। तर यसको कानुनी प्रक्रिया, स्थानीय निकायको भूमिका र अनुगमनसम्बन्धी व्यवस्था राज्यअनुसार फरक छ।

घरमै शिक्षा लिने बालबालिकाको सङ्ख्या राज्यअनुसार फरक छ। इङ्ग्ल्यान्डमा सन् २०२५ को शरद ऋतुमा करिब १ लाख २६ हजार बालबालिका घरमै शिक्षा लिइरहेका थिए, जुन विद्यालय उमेरका बालबालिकाको करिब १.५ प्रतिशत हो।

त्यस्तै, सन् २०२४/२५ शैक्षिक वर्षको कुनै न कुनै समयमा करिब १ लाख ७५ हजार ९०० बालबालिका घरमै शिक्षा लिइरहेको अभिलेख थियो। सोही वर्ष करिब ७८ हजार बालबालिका यस व्यवस्थामा प्रवेश गरे भने २८ हजार १०० बालबालिका पुनः विद्यालय शिक्षामा फर्किए।

वेल्समा पनि घरमै शिक्षा लिने बालबालिकाको सङ्ख्या बढिरहेको छ। सरकारी तथ्याङ्कअनुसार सन् २०२४/२५ मा ७ हजार १७६ बालबालिका घरमै शिक्षा लिइरहेका थिए। सन् २०२५/२६ मा यो सङ्ख्या बढेर ७ हजार ९१७ पुगेको छ। प्रति एक हजार विद्यार्थीमा घरमै शिक्षा लिने बालबालिकाको अनुपात सन् २००९/१० मा १.६ थियो भने सन् २०२५/२६ मा बढेर १७ पुगेको छ।

उत्तरी आयरल्यान्डमा पनि घरमै शिक्षा दिने अभ्यास विस्तार भएको देखिन्छ। उपलब्ध अभिलेखअनुसार सन् २०२१/२२ मा ८०८ बालबालिका घरमै शिक्षा लिइरहेका थिए। सन् २०२२/२३ मा यो सङ्ख्या ९०७, सन् २०२३/२४ मा १ हजार ६० र सन् २०२४/२५ मा १ हजार २२० पुगेको थियो।

सन् २०२६ को जनवरीसम्मको अभिलेखमा १ हजार १५० बालबालिका देखिएका थिए। तर अभिभावकले घरमै शिक्षा दिएको जानकारी सबै अवस्थामा सम्बन्धित निकायलाई दिनुपर्ने व्यवस्था नभएकाले वास्तविक सङ्ख्या यसभन्दा बढी हुन सक्छ।

स्कटल्यान्डमा पनि अभिभावकले कानुनी रूपमा आफ्ना बालबालिकालाई घरमै शिक्षा दिन सक्छन्। तर इङ्ग्ल्यान्ड र वेल्समा जस्तै समान परिभाषा र समयावधिमा तुलना गर्न मिल्ने पछिल्लो राष्ट्रिय कुल सङ्ख्या उपलब्ध सरकारी स्रोतबाट पुष्टि भएको देखिँदैन।

अभिभावकहरूले किन घरमै शिक्षा रोज्छन् भन्ने कुरा प्रत्येक परिवारका लागि फरक हुन्छ। कोही आफ्ना नानीबाबुको रुचि र क्षमताअनुसार शिक्षा दिन चाहन्छन् भने कोही विद्यालयको वातावरण, बुलिङ अर्थात् साथीबाट हुने दुर्व्यवहार, मानसिक तनाव वा विशेष शैक्षिक आवश्यकताका कारण घरमै पढाउने निर्णय गर्छन्। कतिपयले धार्मिक वा व्यक्तिगत मान्यताका कारण पनि यो बाटो रोज्छन्।

यस पद्धतिको मुख्य फाइदा भनेको बच्चाको सिकाइको गति र आवश्यकताअनुसार शिक्षालाई मिलाउन सकिनु हो। विद्यार्थीले आफूलाई मन पर्ने विषयमा बढी समय दिन वा कुनै विषयलाई गहिराइमा अध्ययन गर्न पाउँछन्। तर यसका आफ्नै चुनौतीहरू पनि छन्।

बेलायतको ओपन युनिभर्सिटी अर्थात् खुला विश्वविद्यालयले पनि परम्परागत शैक्षिक योग्यता नभएकाहरूका लागि विभिन्न अवसर प्रदान गर्छ। यसका धेरै पाठ्यक्रममा औपचारिक प्रवेश योग्यता अनिवार्य नहुन सक्छ।

अभिभावकको समय, शिक्षण क्षमता, आर्थिक अवस्था, सामाजिक अन्तरक्रिया र प्रयोगात्मक अभ्यासको गुणस्तर कायम राख्नु ठूलो कुरा हो। विद्यालयमा उपलब्ध हुने शिक्षक, प्रयोगशाला, विशेष सहयोग र साथीभाइसँगको नियमित अन्तरक्रियाबाट भने यस्ता विद्यार्थीहरू अलग रहन सक्छन्।

घरमै पढेकै आधारमा सरकारले स्वतः जीसीएसई, ए-लेभल वा विद्यालयको प्रमाणपत्र दिँदैन। विद्यार्थीले चाहेको योग्यता हासिल गर्न सम्बन्धित परीक्षा वा मूल्याङ्कन प्रक्रियामा आफैँ सहभागी हुनुपर्छ।

इङ्ग्ल्यान्डमा उनीहरूले ‘प्राइभेट क्यान्डिडेट’ अर्थात् निजी परीक्षार्थीका रूपमा कुनै परीक्षा केन्द्र, विद्यालय वा कलेजमा दर्ता हुन सक्छन्। तर सबै केन्द्रले निजी परीक्षार्थीलाई स्वीकार गर्दैनन्। त्यसैले विषय, परीक्षा बोर्ड, शुल्क र मूल्याङ्कनको व्यवस्थाबारे पहिल्यै सम्पर्क गरेर बुझ्न जरुरी हुन्छ।

विश्वविद्यालय प्रवेशका लागि पनि घरमै शिक्षा आफैँमा कुनै बाधा होइन। विद्यार्थीले सम्बन्धित विश्वविद्यालयको मापदण्ड पूरा गर्नुपर्छ। जीसीएसई, ए-लेभल वा अन्य मान्यता प्राप्त शैक्षिक योग्यताका आधारमा आवेदन दिन सकिन्छ। कतिपय विश्वविद्यालयले वैकल्पिक योग्यता, पोर्टफोलियो अर्थात् आफ्नो कामको सङ्कलन वा प्रवेश परीक्षालाई पनि आधार मान्न सक्छन्। विशेषगरी चिकित्सा वा इन्जिनियरिङजस्ता व्यावसायिक विषय पढ्नु छ भने आवश्यक विषय र योग्यताबारे पहिल्यै जानकारी लिनु राम्रो हुन्छ।

बेलायतको ओपन युनिभर्सिटी अर्थात् खुला विश्वविद्यालयले पनि परम्परागत शैक्षिक योग्यता नभएकाहरूका लागि विभिन्न अवसर प्रदान गर्छ। यसका धेरै पाठ्यक्रममा औपचारिक प्रवेश योग्यता अनिवार्य नहुन सक्छ।

अध्ययनमा सीधै प्रवेश गर्न गाह्रो हुनेहरूले ‘एक्सेस मोड्युल’ अर्थात् प्रारम्भिक तयारी पाठ्यक्रमबाट सुरु गरेर बिस्तारै आफ्नो सीप र आत्मविश्वास बढाउन सक्छन्। यसले विद्यालय वा कलेजको परम्परागत बाटो नहिँडेका व्यक्तिहरूलाई पनि उच्च शिक्षाको ढोका खोल्न मद्दत गर्छ। अहिले विश्वभरि नै खुला विश्वविद्यालयको आकर्षण बढिरहेको देखिन्छ।

लेखक
सुरेन्द्र नेपाल श्रेष्ठ

झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दी’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?