+
+
Shares

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले सार्वजनिक गरिन् चार रणनीतिक योजना

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले श्रीलंकासँगको सम्बन्धलाई पर्यटन, व्यापार र लगानीमार्फत आर्थिक साझेदारीमा रूपान्तरण गर्ने चार योजना सुनाइन्।
  • उनले लुम्बिनी र कपिलवस्तुमा श्रीलंकाली तीर्थयात्री आकर्षित गर्न हवाई सम्पर्क विस्तार र रामायण सर्किट विकासलाई प्राथमिकता दिएको बताइन्।
  • झाले बौद्ध सम्पदा प्रवर्द्धन, निजी क्षेत्रसँग सहकार्य र श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षण आफ्नो कार्ययोजनामा समेटिएको उल्लेख गरिन्।

२८ असोज, काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन् ।

संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन र व्यापार तथा लगानीका चार प्रमुख प्राथमिकतामा प्रस्तुत गरेकी हुन् ।

उनले विशेषगरी श्रीलंकाली बौद्ध तीर्थयात्रीलाई लुम्बिनी र कपिलवस्तुमा आकर्षित गर्ने तथा जनकपुरलाई श्रीलंकाका रामायणसँग सम्बन्धित स्थलहरूसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना सुनाइन् ।

आफ्नो चारवर्षे कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत झाले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पञ्चशीलको सिद्धान्त र साझा सांस्कृतिक सम्पदालाई आधार बनाउनुपर्नेमा जोड दिइन् । ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै पर्यटन, व्यापार र लगानीमा ठोस परिणाम हासिल गर्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ ।

लुम्बिनीमा श्रीलंकाबाट तीर्थयात्री भित्राउने सोच

झाले आफ्नो कार्ययोजनाको पहिलो स्तम्भमा पर्यटन तथा हवाई सम्पर्क विस्तारलाई राखेकी छन् । यसअन्तर्गत लुम्बिनीमा श्रीलंकाबाट तीर्थयात्री भित्राउन सिधा वा चार्टर उडान सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने उनको योजना छ । दुई देशबीच हवाई सम्पर्क सीमित हुनु र हवाई भाडा महँगो हुनु पर्यटन प्रवर्द्धनका चुनौती रहेको उल्लेख गर्दै उनले यसलाई सम्बोधन गर्न सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने बताइन् ।

दोस्रो रणनीतिक स्तम्भमा रामायण सर्किट र सांस्कृतिक कूटनीतिलाई राखिएको छ । जनकपुरको रामायण परम्परा र श्रीलंकाका रामायणसँग सम्बन्धित स्थललाई साझा धार्मिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उनको योजना छ । त्यसका लागि संयुक्त पर्यटन प्याकेज निर्माण र दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई प्राथमिकता दिइने उनले बताइन् ।

तेस्रो स्तम्भमा बौद्ध सम्पदा तथा धार्मिक पर्यटनको विकासलाई समेटिएको छ । बुद्ध दर्शन र बौद्ध संस्कृतिसँग जोडिएको नेपाललाई श्रीलंकाली पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने तथा लुम्बिनी र कपिलवस्तुको प्रचारप्रसार बढाउने उनको योजना छ ।

चौथो स्तम्भमा व्यापार तथा लगानी प्रवर्द्धन, निजी क्षेत्रबीच सहकार्य र श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षणलाई राखिएको छ । व्यापार मञ्च, लगानी प्रवर्द्धन तथा शैक्षिक र सांस्कृतिक आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्धलाई परिणाममुखी बनाउने उनले बताइन् ।

समितिको बैठकमा झाले नेपाल र श्रीलंकाबीच सन् १९५७ अप्रिल १ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मैत्रीपूर्ण सम्बन्ध सुदृढ हुँदै आएको उल्लेख गरिन् । बुद्ध दर्शन, धर्म, संस्कृति र साझा सभ्यतामा आधारित सम्बन्धलाई आर्थिक तथा संस्थागत सहकार्यमा विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले नेपाल सरकारको नीति तथा कार्यक्रम र राष्ट्रिय हितलाई आत्मसात गर्दै ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने नेपालको परराष्ट्र नीतिअनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

समितिका सदस्यहरूसँगको अन्तरक्रियामा झाले आफूले प्रस्तुत गरेको कार्ययोजना प्रारम्भिक खाका मात्र भएको बताइन् । सांसदहरूबाट प्राप्त सुझावका आधारमा योजनालाई थप परिष्कृत गर्दै कार्यान्वयनयोग्य बनाउने उनले स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?