News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार जर्मनीबाट डिपोर्ट भएको विवरण नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सुनुवाइ समितिलाई जनाएको छ।
- समितिले सुनारविरुद्धको उजुरी जाँच्दै महिलामाथि हिंसा र धम्कीसम्बन्धी आरोपमा ललितपुर प्रहरीको विवरण पनि प्राप्त गरेको छ।
- गत असोज २ गते मन्त्रिपरिषद्ले १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो, जसमा सुनार पनि परेका थिए।
२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको विवरण नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । १४ वर्ष पुरानो घटना भएकाले विवरण उपलब्ध हुन नसकेको कार्यालयको जवाफ छ ।
सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीको तथ्य जाँच गर्ने क्रममा समितिले अध्यागमन कार्यालयसँग उनी जर्मनीबाट डिपोर्ट भएका थिए वा थिएनन् भन्ने विवरण मागेको थियो ।
गत असोज २६ गते बसेको समितिको बैठकले उजुरीकर्तासँग छलफल गरेपछि सुनारविरुद्धका आरोपको तथ्य जाँच गर्ने निर्णय गरेको थियो । छलफलपछि सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको भन्ने उजुरीकर्ताको दाबीको तथ्य जाँच गर्न अध्यागमन कार्यालयसँग विवरण मागिएको थियो ।
अध्यागमन कार्यालयले सुनुवाइ समितिलाई पठाएको जवाफमा घटना १४ वर्ष पुरानो भएकाले सुनार डिपोर्टमा परेका थिए वा थिएनन् भन्ने विवरण आफूसँग नभएको उल्लेख छ ।
सुनारविरुद्ध परेका दुई उजुरीमध्ये अर्कोमा महिलामाथि हिंसा गरेको र धम्की दिएको आरोप लगाइएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरसँग मागिएको जवाफ भने समितिले प्राप्त गरिसकेको छ । ललितपुर प्रहरीले ती महिलासँग २०७५ साल फागुन १ गते सुनारको मिलापत्र भएको विवरण बुझाएको छ ।
गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशी सिफारिस भएका थिए ।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरबका लागि गिरीबहादुर सुनार सिफारिस भएका थिए ।
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका क्रममा समितिमा परेका उजुरीमाथि छानबिन गर्न सम्बन्धित निकायसँग विवरण माग्ने र आरोपको तथ्य जाँच गर्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया 4