+
+
Shares

प्रस्तावित १३ राजदूत : कोविरुद्ध कस्ता उजुरी ?

प्रस्तावित राजदूतहरूविरुद्ध महिला हिंसा गरेकोदेखि आर्थिक तथा आपराधिक गतिविधिहरूमा संलग्न रहेको र विदेशी मुलुकको पीआर लिएकोसम्म उजुरी परेका छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ असोज २० गते २०:२९

२० असोज, काठमाडौं । १३ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढेको छ ।

मंगलबार बसेको सुनुवाइ समितिले समितिमा प्राप्त उजुरी समिति सदस्यहरूलाई वितरण गरेको छ । साथै, प्रस्तावित राजदूतहरूको कार्ययोजना पनि बाँडिएको छ ।

प्रस्तावित सबै राजदूतविरुद्ध दुईटा उजुरी परेको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध व्यक्तिगत रूपमा तीन वटा उजुरी छ । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी परेको छ ।

२ असोज २०८३ मा मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा रहेका छन् ।

जापानका लागि थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि सुनार प्रस्तावित राजदूत छन् ।

८ असोज २०८३ मा बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित सबै राजदूतहरूविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । निर्धारित १० दिनको समयभित्र प्रस्तावित राजदूतहरूविरुद्ध सात वटा उजुरी परेको हो ।

राजदूत नियुक्ति निर्देशिकाको पालना खै ?

प्रस्तावित १३ जना राजदूतकै नाम अनुमोदन गर्न नहुने माग गर्दै परेको उजुरीमा नेपाल सरकारले ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५’ अनुसार निर्णय नगरेको दाबी गरिएको छ ।

विभिन्न मुलुक तथा नियोगहरूका लागि नेपाली राजदूत नियुक्तिको प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सन्तुलित बनाउन भन्दै जारी निर्देशिकाले कूटनीतिक क्षेत्रमा योग्यता र मापदण्डलाई प्राथमिकता दिने उद्देश्य राखेको छ ।

जसअनुसार राजदूत हुन कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्छ । मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ ।

नेपाल सरकारको कुनै पनि सेवा वा पदबाट बर्खास्त नभएको, फौजदारी अभियोगमा सजाय नपाएको र नैतिक पतन देखिने भ्रष्टाचार वा अन्य कसुरमा दोषी प्रमाणित नभएको हुनुपर्ने लगायतका प्रावधान छन् ।

साथै, निर्देशिकामा राजनीतिक र वृत्ति (करिअर) कूटनीतिज्ञहरूबीच सन्तुलन कायम गर्न विशेष व्यवस्था छ । जसअनुसार कूल नियुक्त गरिने राजदूतहरूमध्ये ५० प्रतिशत परराष्ट्र सेवाका राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिका अधिकारीहरूबाट नियुक्त गर्नुपर्ने व्यवस्था छ । बाँकी ५० प्रतिशत राजनीतिक क्षेत्र वा अन्य क्षेत्रका लब्धप्रतिष्ठित र विज्ञ व्यक्तिहरूबाट नियुक्त गर्न सकिने प्रावधान छ ।

राजदूत नियुक्ति निर्देशिका यी प्रावधान पालना नगरिएकोले सबै राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नहुने माग राख्दै उजुरी परेको हो ।

आचरण र योग्यतामाथि प्रश्न

केही प्रस्तावित राजदूतविरुद्ध आचरण र योग्यतामाथि प्रश्न उठाएर उजुरी परेको छ । साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारविरुद्ध महिला हिंसा गरेको र महिलालाई यातना दिएको भन्ने बेहोराको उजुरी परेको छ ।

विवाहेत्तर सम्बन्ध राखेको लगायतका विषय उजुरीमा छ । अब उजुरीमा उल्लेखित आरोपहरू प्रमाणित तथ्य हुन् वा आरोप मात्र हुन् भन्ने विषय संसदीय समितिले नै छुट्याउनुपर्ने हुन्छ ।

निवेदनकर्ताले राजदूत जस्तो संवेदनशील कूटनीतिक पदका लागि प्रस्तावित व्यक्तिको व्यक्तिगत तथा व्यावसायिक पृष्ठभूमि, विगतका विवाद र आचरण जाँच गर्न माग गरेका छन् ।

गिरीबहादुरविरुद्ध अर्को उजुरी छ । जसमा आर्थिक तथा आपराधिक गतिविधिहरूमा संलग्न रहेको आरोप लगाइएको छ । यी लगायतका आरोपहरूको निष्पक्ष छानबिन र तथ्यगत निराकरण नगरी राजदूत जस्तो संवेदनशील संवैधानिक जिम्मेवारी दिन नहुने भनिएको छ ।

यो विषय सुनुवाइ समितिले हेरेर निर्क्योल गर्नेछ ।

गिरीबहादुर त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि शोधार्थी हुन् (एमफिल, सन् २०१९) । ‘इम्पावरिङ वुमेन थ्रु सेल्फ–डिफेन्स’ (स्कोलर प्रेस, जर्मनी) पुस्तकका लेखक गिरीबहादुरका विभिन्न अंग्रेजी राष्ट्रिय दैनिकहरूमा १०० भन्दा बढी नीतिगत लेखहरू प्रकाशित छन् ।

राष्ट्रिय टेलिभिजनमा सार्वजनिक कूटनीतिका परिचित वक्ताका रूपमा रहेका उनले सामाजिक, वातावरण तथा ग्रामीण विकास नेपालको सचिवका रूपमा सेवा गरिरहेका छन् । उनीसँग अन्तर्राष्ट्रिय विकास, नीतिगत सल्लाह र बहुसरोकारवाला सुशासनका क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ ।

उनको प्राविधिक दक्षता सामाजिक संरक्षण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण, समुदायमा आधारित जलवायु अनुकूलन र गुनासो सुनुवाइ संयन्त्रमा रहेको छ । जुन उनले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का ठूला पूर्वाधार तथा खानेपानी क्षेत्रका कार्यक्रमहरूमा प्रयोग गरेका छन् ।

यही योग्यताका आधारमा सरकारले राजदूतमा सिफारिस गरेको हो ।

यसैगरी, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध उनले नेपाली नागरिकता त्याग गरी विदेशी मुलुकको पीआर लिएको भनेर उजुरी परेको छ । विदेशमै स्थायी बसोबासको प्रबन्ध गरेको र उनको परिवारसमेत विदेशमै रहेकोले राजदूत बनाउन नमिल्ने दाबी उजुरीमा छ ।

अर्को उजुरीमा उनी राजदूत हुन अयोग्य रहेको दाबी गरिएको छ ।

तेस्रो उजुरीमा जिज्ञानकुमारको जापानमा घरजग्गा, व्यवसाय, लगानी, बैंक ऋण तथा व्यावसायिक दायित्व रहेको उल्लेख छ ।

यसबारे पनि सुनुवाइ समितिले छिनोफानो गरेर निर्णय लिनेछ ।

जिज्ञानकुमार थापाले जापानको योकोहामा राष्ट्रिय विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर तथा सुमेइ विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन् । उनले सन् २००९ देखि ‘कानागावा इन्टरनेसनल फाउन्डेसन’ मा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिला विज्ञका रूपमा काम गरेका छन् ।

सन् २००५ देखि उनले उच्चस्तरीय नेपाल–जापान द्विपक्षीय कार्यक्रमहरूका संयोजकका रूपमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूको भ्रमण तथा आदानप्रदानमा सहजीकरण गर्दै आएका छन् ।

थापाले सन् २०१९ मा नेपाली राष्ट्रपतिको जापानको औपचारिक भ्रमणका क्रममा आयोजित ‘नेपाल–जापान व्यापार संवाद’ को आयोजना गरेका थिए । उनले अन्तर्राष्ट्रिय सहकार्य र आप्रवासन सुशासनका पहलहरूमा जापानी सहयोग नियोग (जाइका), युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग नजिक रहेर काम गरेका छन् ।

उनी नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकार, गैरआवासीय नेपाली संघ (जापान) का पूर्वमहासचिव र जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

उनले सुकुबा, ओयामा गाकुइन र निहोन विश्वविद्यालयलगायत जापानी विश्वविद्यालयहरूमा सहप्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन् । जापानी भाषा परीक्षाको सर्वोच्च तह उत्तीर्ण गरी जापानी भाषामा निपूर्ण उनले नेपाल–जापान सम्बन्ध र तुलनात्मक सार्वजनिक प्रशासनका विषयमा लेखन गरेका छन् ।

११ जना विरुद्ध छैन व्यक्तिगत उजुरी

प्रस्तावित ११ जना राजदूतविरुद्ध भने व्यक्तिगत रूपमा उजुरी परेको छैन । जसमा भारतका लागि डा. पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा रहेका छन् ।

भारतका लागि प्रस्तावित राजदूत डा. पाण्डे नेपालका वैदेशिक नीतिका अग्रणी प्राज्ञिक व्यक्तित्व हुन् । दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक पनि हुन् ।

डा. पाण्डेले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक (सन् १९९८–२००६) र पर्यटन तथा नागरिक उड्डयन विषयमा राष्ट्रिय योजना आयोगको सल्लाहकार (सन् १९९६–१९९७) का रूपमा काम गरिसकेका छन् ।

डा. पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गरेका छन् ।

उनी बैङ्लोरस्थित ‘राष्ट्रिय उन्नत अध्ययन संस्थान’ का मानार्थ सहप्राध्यापक र सिङ्गापुर राष्ट्रिय विश्वविद्यालयको ‘दक्षिण एसियाली अध्ययन संस्थान’ का अनिवासी वरिष्ठ अध्येता हुन्; जहाँ उनी पहिले आगन्तुक अनुसन्धानकर्ता थिए ।

उनले जर्मनीको बर्लिन र बेलायतको हल विश्वविद्यालयमा ‘आगन्तुक अध्येता’ का रूपमा काम पूरा गर्नुका साथै कोलम्बोस्थित क्षेत्रीय रणनीतिक अध्ययन केन्द्रको सञ्चालक समितिमा रहेर (सन् २०११–२०१९) काम गरेका छन् ।

सेज र मनोहर पब्लिसर्समार्फत तीन वटा पुस्तक र नेपालको परराष्ट्र नीति तथा क्षेत्रीय सहकार्यबारे एक दर्जन सम्पादित कृतिहरू प्रकाशित गरिसकेका डा. पाण्डेले सन् २०१५ मा हार्भर्ड केनेडी स्कुलबाट ‘दक्षिण एसिया नेतृत्व कार्यकारी कार्यक्रम’ पूरा गरेका छन् ।

चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा नेपाल–चीन मामिला विज्ञ, चिनियाँ विद्या (सिनोलोजी) का अध्येता र अर्थशास्त्री हुन् ।

उनीसँग प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले चीनको फुदान विश्वविद्यालयबाट ‘प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषण’ मा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनी फुदान विश्वविद्यालय पूर्वविद्यार्थी संघ नेपाल, नेपाल–चीन मैत्री मञ्च (सन् २०१३ देखि) र चिनियाँ विद्या अध्येता परिषद्–नेपालका अध्यक्ष हुन् ।

काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ म्यानेजमेन्ट’ मा आगन्तुक विद्वानका रूपमा कार्यरत शर्माले ‘चीनमा व्यापार’ पाठ्यक्रम तयार गरी अध्यापन गराएका छन् ।

एड्भेन्चर आउटडोर एक्सकर्सन प्रालिका प्रबन्ध निर्देशक भई हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा क्रियाशील उनी एपेक्स फन्ड्स लिमिटेड र विभिन्न जलविद्युत् तथा ऊर्जा कम्पनीहरूको स्वतन्त्र सञ्चालक समितिमा छन् ।

अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिला विज्ञ हुन् । उनीसँग सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ ।

थापाले कोलम्बिया विश्वविद्यालयको ‘अन्तर्राष्ट्रिय तथा सार्वजनिक मामिला स्कुल’ बाट पूर्ण प्राज्ञिक छात्रवृत्तिसहित अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर र अमेरिकाको जेनेसियो विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन् । सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशमा जोखिम र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् ।

उनी हाभर्ड केनेडी स्कुलको ‘आन्तरिक सुरक्षा नेतृत्व’ कार्यक्रम पूरा गर्ने पहिलो गैरसैनिक नेपाली र दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गर्ने पहिलो व्यक्ति हुन् ।

अन्य पनि अब्बल

प्रस्तावित राजदूतहरूले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र बायोडाटासमेत प्रस्तुत गरेका छन् । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्तावित राजदूतको पृष्ठभूमि र योग्यता सार्जजनिक गरेको थियो । जसमा बाँकी प्रस्तावित राजदूतहरूलाई पनि अब्बल व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ ।

संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा पूर्वप्रधानसेनापति हुन् । एक विशिष्ट सैन्य नेता र रणनीतिकारलाई सरकारले राजदूत बनाउन लागेको हो ।

जबराले नेपाली सेनामा तीन वर्ष प्रधानसेनापतिका रूपमा नेतृत्व गरे । उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने कार्यको निर्देशन दिएका थिए ।

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका उनले सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त–२०१३’ लागु गरेका थिए । प्रधानसेनापतिका रूपमा उनले सन् २०१५ को भूकम्पपछि नेपालको सैन्य उद्धार कार्य ‘अपरेसन संकट मोचन’ को नेतृत्व गर्दै राहत कार्यमा १८ विदेशी सैन्य टोलीको सहभागिताको समन्वय गरेका थिए ।

जबराले पाकिस्तानको कायदे–आजम विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक गरेका छन् । उनी बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट, अमेरिकाको आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेज (फोर्ट लिभनवर्थ) र पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन् ।

इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ र आर्थिक नीति क्षेत्रका वरिष्ठ व्यक्तित्व हुन् । कुमारी बैंकको प्रमुख सूचना तथा विपणन अधिकृत (सन् २००३–२०१५) का रूपमा उनले नेपालको पहिलो मोबाइल वालेट ‘कुमारी मोबाइल क्यास’ को अवधारणा तयार गरी सञ्चालनमा ल्याएका थिए । जसलाई दक्षिण एसियाको ‘एमबिलियन्थ अवार्ड’ प्राप्त भएको थियो ।

उनले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) को लगातार दुई कार्यकाल अध्यक्षका रूपमा सेवा गरे ।

स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन नेपाली अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी नेतृत्वकर्ता हुन् । उनीसँग दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकामा १५ वर्षको अनुभव छ ।

उनले ब्रान्डिस विश्वविद्यालयको हेलर स्कुलबाट दिगो अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर (एमबीए) र सिंगापुर राष्ट्रिय विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातक गरेकी छन् ।

जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी वरिष्ठ नीति विज्ञ हुन् ।

उनले द हेगस्थित ‘इन्स्टिच्युट अफ सोसल स्टडिज’ बाट महिला तथा विकास विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनी ‘एउटा सिन्को भाँचेर हेर्दा’ पुस्तककी लेखिका हुन्  । उनका वैदेशिक रोजगार र लैंगिक विषयमा ६० भन्दा बढी लेखहरू प्रकाशित छन् ।

ओमानका लागि प्रस्तावित राजदूत डा. पद्माक्षी राणासँग नेपाल, एसिया र युरोपभर दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ ।

उनले क्याम्ब्रिज विश्वविद्यालयको ‘इन्स्टिच्युट फर म्यानुफ्याक्चरिङ’ बाट ‘खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्व’ विषयमा विद्यावारिधि, क्याम्ब्रिजबाटै वातावरण, समाज र विकासमा एमफिल र थाइल्यान्डको वेबस्टर विश्वविद्यालयबाट एमबीए गरेकी छन् ।

अन्तर्राष्ट्रिय प्राज्ञिक साख भएकी अनुसन्धाताका रूपमा उनले ‘हिन्दुकुश हिमालय क्षेत्रमा दिगो व्यावसायिक मोडल र विपद्पश्चात् पर्यटन पुनरुत्थानबारे’ समकक्षी–समीक्षित (पियर–रिभ्युड) अनुसन्धान प्रकाशित गरेकी छन् ।

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेल मानविकी, अंग्रेजी, राजनीतिशास्त्र र कानुनको प्राज्ञिक पृष्ठभूमि भएका शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक र स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत प्राध्यापक डा. संगम श्रेष्ठसँग अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशिलता र जलसुरक्षा कूटनीतिमा २५ वर्षभन्दा बढीको अनुभव छ ।

थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको ‘स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी’ का प्राध्यापक एवं पूर्वडिन तथा ‘ग्लोबल वाटर एन्ड स्यानिटेसन सेन्टर’ का संस्थापक सहनिर्देशक हुन् ।

उनले जापानको यामानासी विश्वविद्यालयबाट एकीकृत नदी बेसिन व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । उनका २०० भन्दा बढी अनुसन्धानपत्रहरू प्रकाशित छन् ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मञ्चला झा सुशासन तथा सार्वजनिक नीति विज्ञ हुन् । जसले नेपालको ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ को आयुक्त (सन् २०१५–२०१९) का रूपमा सेवा गर्दै सत्य, न्याय र मेलमिलापसम्बन्धी राष्ट्रिय प्रयासहरूमा योगदान दिएकी छिन् ।

उनी त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक हुन् । जहाँ उनले ‘सुशासन तथा भ्रष्टाचार निवारण’ स्नातकोत्तर कार्यक्रममा अध्यापन (सन् २०२१–२०२४) समेत गरेकी थिइन् ।

झाले भारतको बीआर अम्बेडकर विश्वविद्यालयबाट हिन्दी साहित्यमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र (परराष्ट्र नीति तथा कूटनीति विषयमा विशेषज्ञता) र हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छिन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?