+
+
Shares

‘करदाता पुरस्कार’ ले बढायो उपभोक्ता जागरण, बिल नदिने व्यापारीमाथि उजुरीका चाङ

सरकारले १ साउनबाट सुरु यो कार्यक्रममा सहभागी हुन पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा नगद कारोबारका बिल अपलोड भएका थिए, तर दोस्रो १५ दिनमा त्यो ह्वात्तै बढेर ३ लाख ५७ हजार १ सय ४९ पुग्यो, कुल सवा ३ करोड बिल चिट्ठामा सहभागी भए ।

अच्युत पुरी अच्युत पुरी
२०८३ भदौ ९ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • करदाता प्रोत्साहन पुरस्कार सुरु भएपछि बिलबिजक माग्ने उपभोक्ता बढेको र बिल नदिने व्यापारीविरुद्ध उजुरी पनि बढेको आन्तरिक राजस्व विभागले जनाएको छ।
  • सरकारले १ साउनदेखि सुरु गरेको कार्यक्रममा पहिलो १५ दिनको तुलनामा दोस्रो १५ दिनमा बिल अपलोड र क्यूआर कारोबारमा सहभागी संख्या उल्लेख्य बढेको तथ्यांकले देखाएको छ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो अभियानलाई सचेत उपभोक्तामा राज्यको लगानी भनेका छन् र पुरस्कृत उपभोक्तालाई विशेष दूतका रूपमा काम गर्न आह्वान गरेका छन्।

९ भदौ, काठमाडौं । सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यान्वयन सुरु गरेसँगै उपभोक्तामा बिलबिजक माग गर्नुपर्छ भन्ने जागरण ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

सामान किनेको हरेक बिल सरकारी चिट्ठामा बदलिने र त्यसमार्फत १० लाखसम्म पुरस्कार पाउने भएपछि बिल नदिने व्यापारीमाथि उजुरीको चाङ लागिरहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

उपहार घोषणाको एक महिनाको अनुभवमा उपभोक्तामा बिल लिनुपर्छ भन्ने अनुभूति ह्वात्तै बढेको विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशी बताउँछन् । तर, अझै पनि न्युरोड सहित मुख्य व्यापारिक केन्द्रमै व्यापारीले बिल दिन आनाकानी गरिरहेको गुनासो उपभोक्ताले उत्तिकै गरिरहेको उनले बताए ।

‘हेलो सरकारमा अहिले धेरैजसो गुनासो फलानो पसलले बिल दिन मानेन भन्ने नै छ,’ उनी भन्छन्, ‘यससँगै बजार अनुगमन बढाउनुपर्ने देखिएको छ ।’ विभागले त्यसको समेत तयारी गरिरहेको समेत उनले जानकारी दिए ।

‘आफूले सामान खरिद गरेपछि उपभोक्ताले सक्कल बिल पाउनु उपभोक्ताको अधिकार हो,’ उनले भने, ‘उपहार कार्यक्रम मार्फत हाम्रो उद्देश्य पनि बिल माग्न जागरण ल्याउनु हो ।’

तर, प्यानमा दर्ता भएर पसल चलाइरहेकै व्यापारीले सक्कल बिल दिन नमान्ने, आधिकारिक बिल नदिने गरेको गुनासो अत्यधिक आएको छ ।

विभागका अनुसार करदाता प्रोत्साहन पुरस्कार सुरु भएयता भ्याट, प्यानमा नयाँ दर्ता हुने प्रवृत्तिमा भने धेरै सुधार आएको छैन । उपत्यका सहित सहरी इलाकामा सञ्चालनमा रहेका धेरैजसो पसल तथा बिक्री केन्द्र करमा दर्ता भइसकेकाले त्यस्तो भएको उनी बताउँछन् ।

तर, दर्ता नै भएर चलाइरहेकै पसलले बिल दिन नमानेको भन्दै गुनासो बढेको हो । उपत्यका बाहिरबाट समेत यस्तै समस्या विभाग मातहत कार्यालयमा प्राप्त हुने गरेको छ ।

‘क्यूआरबाट रकम तिरेका उपभोक्तालाई समेत तिरेको रकम एउटा, बिल अर्को रकममा जारी भएको समेत देखियो,’ निर्देशक रघुवंशीले भने, ‘सबै कारोबार प्रणाली मार्फत ट्र्याक हुने भएकाले सबै व्यवसायी इमानदार हुन जरुरी छ ।’

प्रोत्साहन पुरस्कारमा सहभागिता संख्यामा उछाल

आन्तरिक राजस्व विभागको तथ्यांकले सुरुवाती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ता संख्यामा उछाल आएको देखाउँछ । सरकारले १ साउनदेखि सुरु गरेको यो कार्यक्रमका लागि पहिलो १५ दिनमा नगद कारोबारका बिल अपलोड संख्या ७ हजार ७७ थियो । साउन १६ देखि ३१ सम्म अवधिमा यो संख्या ह्वात्तै बढेर ३ लाख ५७ हजार १ सय ४९ पुगेको छ ।

क्यूआरमा समेत यस्तै उत्साह देखिएको छ । क्यूआर कारोबारबाट उपहार योजनामा स्वत: सहभागी भएका उपभोक्ताको कारोबार संख्या पहिलो १५ दिनमा २ करोड ५६ लाख ८ हजार ९४ थियो । दोस्रो १५ दिनमा ह्वात्तै बढेर ३ करोड २० लाख ८६ हजार ३ सय ८० पुगेको छ ।

विभागका अनुसार साउन १५ पछिको १६ दिनमा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २ सय २९ पुगेको छ । सरकारले हरेक दिन १/१ लाख (कर कट्टीपछि) र बम्पर पुरस्कार स्वरूप हरेक १५/१५ दिनमा १० लाख रुपैयाँ (कर कट्टी हुने गरी) प्रदान गर्न सुरु गरेको छ ।

सचेत उपभोक्ता अभियानमा राज्यले लगानी गरेको हो : अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको यो अभियान राज्यले उपभोक्तामाथि गरेको लगानी ठान्छन् । दोस्रो पाक्षिक पुरस्कार घोषणा गर्दै अघिल्लो साता अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘यो राज्यले तपाईंहरूमाथि सचेत उपभोक्ताको अभियानका लागि लगानी गरेको पनि हो ।’ बिल लिने र दिने संस्कृति प्रवर्द्धनका लागि अभियान थालिएको उनले बताए ।

यसले एकातर्फ सरकारको राजस्व बढ्ने र अर्कातर्फ सबैजनालाई औपचारिक अर्थतन्त्रमा आबद्ध गराउने लक्ष्य बोकेको उनको भनाइ छ । पहिलो महिनाको अनुभवले सबैमा खुसीयाली र उत्साह जगाएको उनको अनुभव छ ।

उनले अहिलेसम्म पुरस्कृत भएकालाई सरकारको दूतका रूपमा काम गर्नसमेत आह्वान गरेका छन् । उनले भने, ‘आफ्नो गाउँ ठाउँ, पालिका, निर्वाचन क्षेत्रमा अब तपाईं आफैं विम्ब हुनु भयो, मै हो पुरस्कार जित्ने भन्न सक्नुहुन्छ, तपाईंले अब विशेष दूतका रूपमा काम गर्न अनुरोध गर्छु ।’

पुरस्कार विजेताको अनुभव के छ ?

कैलालीका हेमराज जोशीले २ सय ५० रुपैयाँको सामान किन्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका थिए । सरकारले पुरस्कारका रूपमा घोषणा गरेको यस अभियानले उपभोक्तामा बिल लिने र दिने बानी बढाउने उनको भनाइ छ ।

अर्थ मन्त्रालयमा गत साता आयोजित कार्यक्रममा उनले अनभव साट्दै भने, ‘सबै उपभोक्तामा यही बानी रह्यो भने अर्थतन्त्रमा पनि टेवा पुग्छ ।’

नेपालमा क्यूआर सुरु भएदेखि नै आफूले नगद बोक्न छाडेको समेत उनले बताए । जहाँ पनि क्यूआर हुन्छ भन्दै हिँड्दा कतै कतै नगद नै आवश्यक हुँदा अप्ठयारोमा परेको अनुभव समेत उनको छ ।

पहिलो पाक्षिकमा १ लाख जितेका गैँडाकोटका हिमाल अर्यालले फेसबुकमा नाम अपलोड हुँदा आफ्नो नामसँग जुधेको अरू कोही होला भन्ने लागेको बताए । तर, फोनमा म्यासेज नै आएपछि भने आफू नै भएको थाहा पाएको उनले बताए ।

साँझ साथीहरूसँग आइसक्रिम खाएर गरेको भुक्तानीमा उनलाई पुरस्कार परेको थियो । सरकारको यो अभियानले अर्थतन्त्रलाई औपचारिक प्रणालीमा आबद्ध गर्न धेरै नै सहयोग पुग्ने उनले बताए । आफूलाई पुरस्कार परेपछि साथीहरूले समेत बिल सुरक्षित राख्न थालेको उनले जानकारी दिए ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?