News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘श्रीमान् श्रीमती’ को काठमाडौंमा तीन हप्तामा छायांकन सकिएको छ।
काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘श्रीमान् श्रीमती’ को छायांकन सकिएको छ । तीन हप्तामा फिल्मको छायांकन सकिएको हो । काठमाडौंका विभिन्न स्थानमा यो फिल्मको छायांकन गरिएको थियो ।
सिनेमाको गीतको समेत छायांकन सकिसकेको छ । ‘श्रीमान्-श्रीमती’ पारिवारिक कथामा बनेको फिल्म हो । फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र सुरक्षा पन्त छन् ।
पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको यस फिल्मका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । यस्तै सिनेमामा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ ।
यस फिल्मको लेखन पनि निर्देशक खनाल स्वयंले गरेका छन् । फिल्मको पटकथा तथा संवाद भने दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् ।
करण श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छायाकार कृष्ण बहादुर थापा हुन् । गम्भीर कथावस्तु उठान गर्ने निर्देशकको छवि बनाएका दीपेन्द्र के खनालले फिल्म ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक हुने बताए ।
‘नेपाली दर्शकले अहिले मन पराउने र टेस्टमा सिनेमा बनेको छ’ उनले भने, ‘यद्यपि, दर्शकले मन पराइरहेको कथा भनेर हामी बजारमुखी भएर सिनेमा बनाएका छैनौँ, इमान्दार भएर सिनेमा बनाएका छौँ ।’
आम नेपालीको घरमा दिनदिनै घट्ने घटनाक्रममा सिनेमा बनेकाले दर्शकको रोजाइमा फिल्म पर्ने उनको विश्वास छ ।
निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया 4