News Summary
Generated by OK AI. Editorially reviewed.- विजय बरालले ‘कबड्डी’ यात्राका १२ वर्ष र बिके पात्रसँगको सम्बन्धबारे लेख्दै कात्तिक ६ गते ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ आउने बताए ।
- उनले बिके केवल हँसाउने पात्र नभई आफ्नै समाजभित्र बाँचिरहेको मान्छे भएको र उसका सपना, चाहना, पीडा तथा संघर्ष रहेको उल्लेख गरे ।
- बरालले सन् २०१४ मा सुरु भएको ‘कबड्डी’को यात्रा २०२६ सम्म आइपुग्दा १२ वर्ष पूरा भएको र पात्र तथा समय दुवै फेरिएको लेखे ।
कबड्डीको रमाइलो पात्र, बिके । उनको ठूलो घरबार छैन । त्यसैले उनको सपना पनि ठूलो छैन । बस्, उनीसँग एउटै सपना छ, वैदेशिक रोजगारीमा जाने । यसका लागि उनले काजीको बिहे गराइदिनुपर्ने हुन्छ । किनभने काजीले भनेका छन्, ‘मेरो बिहे भएमा तँलाई विदेश जाने ऋण दिन्छु ।’
त्यही एउटा रहर पालेर उनी काजीको पछाडि लाग्छन् । तर, काजीको बिहे भए पो ?
उनले काजीका लागि केटी फकाउने काम नगरेका होइनन् । गुराँसको फूल नटिपेका होइनन् । खसीको रगतले प्रेमपत्र नलेखेका होइनन् । उनले आफ्नै वैंश गुजारेर काजीको बिहे गराइदिन खोजेका हुन् । तर, काजीको बिहे भए पो ?
काजीले केटी भेट्छन् पनि । बिहे गर्न खोज्छन् पनि । तर, यो जुनीमा उनलाई त्यस्तो मौका कहिल्यै जुर्दैन । अनि यसको साइड इफेक्ट भोग्नुपर्छ, बिकेले ।
यो पात्र सधैँ आशावादी छ । अक्कल पनि लगाउँछ । तर, त्यो अक्कल अरूकै लागि खर्चन्छ । जस्तो, काजीको लागि खिपेर प्रेमपत्र लेखिदिने उनै हुन् । ‘यो खोलाको कसम, यो हावाको कसम । कसम …। उही तिम्रो जघन्य प्रेमी …।’
‘जघन्य’ भनेजस्तै प्रायः औपचारिक शब्दहरू उनी बेलाबेला बोलिरहन्छन् । यसपालि उनी भन्छन्, ‘ए, दाइ, मलाई यसले सांघातिक आक्रमण गर्यो ।’ बिके वास्तवमै रोचक छन् ।
पाँचौँ भागसम्म आइपुग्दा पनि बिकेले काजीलाई पछ्याउन छाडेका छैनन् । यसै सन्दर्भमा विजय बराल अर्थात् बिकेले आफ्नो पात्रलाई सम्झेर केही लेखेका छन् ।
आफूले बिकेका रूपमा पर्दापण गरेको १२ वर्ष भएको कुरा सम्झेर विजय बराल लेख्छन्,
‘१२ वर्षको यात्रा, फेरि उही संसार, तर समयले बदलिएका पात्रहरू ।
सन् २०१४ मा सुरु भएको ‘कबड्डी’को यात्रा आज २०२६ सम्म आइपुग्दा १२ वर्ष पूरा भइसकेछ ।
यो १२ वर्षमा धेरै कुरा फेरिए । समय फेरियो, समाज फेरियो, हामी फेरियौँ । अनि सायद हामीले पर्दामा देखेका ती पात्रहरू पनि फेरिए होलान् ।
त्यही संसारको एउटा पात्र हो—बिके अर्थात् बिरकाजी विश्वकर्मा ।
मेरो अभिनय यात्रासँगै हिँडिरहेको एउटा पात्र । जसलाई मैले केवल अभिनय मात्रै गरिनँ, समयसँगै बुझ्ने, महसुस गर्ने र बाँच्ने प्रयास पनि गरेँ ।
बिके केवल हँसाउने पात्र होइन । ऊ आफ्नै समाजभित्र बाँचिरहेको एउटा मान्छे हो । उसका आफ्नै सपना छन्, चाहना छन्, पीडा छन् र समाजसँगका आफ्नै संघर्षहरू छन् ।
समाजले बिकेलाई कसरी हेर्छ ?
अनि बिकेले त्यो समाजलाई कसरी हेरिरहेको छ ?
यी दुई प्रश्नबीच कतै उसको जीवन लुकेको छ ।
१२ वर्षअघि हामीले चिनेको बिके आज कहाँ आइपुगेको होला ? उसको सोचमा के परिवर्तन आयो होला ? उसको मनस्थिति कस्तो होला ? उसले भोगेको समाज र आज उसले देखिरहेको समाजबीच के फरक होला ?
यी प्रश्नहरूको उत्तर म पनि एउटा कलाकारका रूपमा खोजिरहेको छु ।
किनकि समयसँगै पात्रको उमेर मात्रै बढ्दैन, उसका अनुभव, सम्बन्ध, पीडा र जीवनलाई हेर्ने दृष्टिकोण पनि बदलिँदै जान्छन् ।
‘कबड्डी’को संसार हामीले बनाएको एउटा काल्पनिक संसार हो, तर त्यहाँका पात्रहरू कतै न कतै हाम्रै समाजका वास्तविक मान्छेहरूजस्ता लाग्छन् ।
अब यही कात्तिक ६ गते, हामी फेरि त्यही संसारमा फर्किंदै छौँ ।
काजी, बिके, छन्त्याल र तपाईंहरूले माया गर्नुभएका अरू पात्रहरूसँग फेरि भेट हुँदै छ, कात्तिक ६ मा ।
‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ।’
प्रतिक्रिया 4