+
+
Shares

‘पक्कै, मेरा सन्तान हुनेछन्’ : सलमान खानले व्यक्त गरे पिता बन्ने इच्छा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कफी विथ करण’को ९ औं सिजनमा पहिलो पाहुना बनेका सलमान खानले विवाह नगर्ने आफ्नो निर्णयबारे कुरा गरे।
  • करण जोहरले सलमानलाई एक्लोपन र परिवारबारे सोध्दा सलमानले आफू परिवारसँग नजिक रहेको र अहिलेको जीवनसँग खुसी रहेको बताए।
  • सलमानले भविष्यमा पिता बन्ने इच्छा व्यक्त गरे, र कार्यक्रममा सञ्जय दत्त, बबी देओल, वरुण धवनका भिडियो सन्देश तथा करिश्मा कपुरको उपस्थिति देखाइएको छ।

यो प्रसंग ‘कफी विथ करण’को हो । ९ औं सिजन अर्न्तगत सुरु भएको यो टक शोमा यसपाली पहिलो गेस्ट नै दबंग ब्वाईलाई बोलाए । दबंग ब्वाईलाई बोलाएपछि पहिलो प्रश्न के हुन्छ होला ?

सबैले अनुमान गरेकै हो, विवाह नगर्ने ? वा कहिले गर्ने ?

दुनियाँमा दबंग अर्थात सलमान खानले जति यो प्रश्न सायदैले झेले होलान् । यसपाली करणले किन पो छाड्थे र ? उनले आफ्नो कार्यक्रममा  सलमानको विवाह नगर्ने आफ्नो निर्णय, सन्तान जन्माउने इच्छा र जीवनका विभिन्न पक्षबारे कुरा गरे ।

त्यसो त सलमान यसैपनि रोमान्टिक छन् । स्पष्ट पनि ।   करण जोहरले सलमानलाई ‘तपाईं त सबैका हुनुहुन्छ, तर तपाईं आफ्ना को हुनुहुन्छ ?’ भनेर सोधेका थिए । जवाफमा सलमानले सरल रूपमा भने, ‘परिवार ।’

त्यसपछि करणले आफ्नो एक्लोपनबारे कुरा गर्दै जीवनमा जीवनसाथी नहुँदा आफूलाई अक्सर एक्लो महसुस हुने गरेको बताए । तर, सलमानले यस विषयलाई फरक दृष्टिकोणबाट हेरे । उनले करण भाग्यमानी भएको बताए । किनभने करणसँग उनका सन्तान र आमा छन् ।

सलमानले एक्लोपनको अर्थ पनि प्रस्ट्याए । उनका अनुसार, कोही पनि तपाईंसँग बस्न नचाहनु नै वास्तविक एक्लोपन हो । उनलाई करणको जीवनमा त्यस्तो अवस्था नरहेको लाग्छ ।

‘तपाईं त्यतिबेला सबैभन्दा बढी एक्लो हुनुहुन्छ, जतिबेला कोही पनि तपाईंसँग बस्न चाहँदैन । मलाई जीवनसाथी बनाउन कसैले रोकेको थिएन । म आफ्नो अहिलेको जीवनसँग खुसी छु,’ सलमानले भने ।

कार्यक्रममा सलमानलाई आफ्ना सन्तानको अभाव महसुस हुन्छ कि हुँदैन भनेर पनि सोधिएको थियो । जवाफमा उनले भविष्यमा आफू पिता बन्ने इच्छा व्यक्त गरे ।

‘पक्कै, कुनै न कुनै दिन मेरा सन्तान हुनेछन् । करण, तिमी पिता बन्दा मलाई निकै खुसी लागेको थियो । हो, सन्तान त अवश्य आउनेछन्,’ सलमानले भने ।

यस एपिसोडमा सलमानका निकट मित्रहरू सञ्जय दत्त, बबी देओल र वरुण धवनका विशेष भिडियो सन्देशसमेत देखाइएको थियो । रमाइलो गर्दै सञ्जयले सलमानलाई अब एउटा ‘सानो सलमान’ ल्याउनुपर्ने सुझावसमेत दिएका थिए ।

यो एपिसोड जियोहटस्टारमा प्रसारण भइरहेको छ । त्यस्तै, बलिउड अभिनेत्री करिश्मा कपुर पनि कार्यक्रममा विशेष अतिथिका रूपमा देखिएकी छन् । उनको उपस्थितिले सन् १९९० को दशकका दर्शकलाई पुराना दिनको सम्झना गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?