काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण गरिएको छ । मंगलबार धरानमा एक समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।
कार्यक्रमको आयोजना महेन्द्र बहुमुखी क्याम्पस, धरानको अंग्रेजी विभागले गरेको थियो । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रा.डा. गोपालप्रसाद भण्डारी, प्रा.डा. खेमनाथ दाहाल, सहप्रा.डा. मोहन तुम्बाहाङ लगायतको उपस्थिति थियो ।
लोकार्पण समारोहमा कृतिमाथि समीक्षा गर्दै महेन्द्र बहुमुखी क्याम्पस नेपाली विभागका प्रमुख उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपानेले निजात्मक शैलीका सत्रवटा निबन्ध समेटिएको यो कृति निबन्धको सैद्धान्तिक मापदण्डका दृष्टिले उत्कृष्ट रहेको बताए ।
कार्यक्रमकी अर्की समीक्षक प्राध्यापक डा. इन्दिरा मिश्रले परिवृत्त चेतनाको प्रयोग, मातृत्व, नारीवादी चेतना, शिल्पसौन्दर्य आदिका दृष्टिले निबन्ध संग्रह नेपाली निबन्ध परम्पराकै उत्कृष्ट रहेको धारणा राखिन् ।
समारोहमा लेखक-श्रोताका बीचमा अन्तरक्रिया कार्यक्रम समेत राखिएको थियो ।
निबन्धकार डा. अस्मिता बिष्टले आफू समीक्षा र सिर्जना दुवै क्षेत्रमा निरन्तर क्रियाशील रहे पनि समीक्षामा भन्दा सिर्जनामै बढी रमाउने गरेको बताइन् । कक्षा पाँचदेखि नै कविता रचना गर्न थालेको स्मरण गर्दै उनले अबको सिर्जनायात्रामा कविता र निबन्ध लेखनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया 4