+
+
Shares

नेपाली समाजमा वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १७:०३

२९ असोज, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् ।

बिहीबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्दा जातीय र लैङ्गिक विभेदलाई समेत समेट्नुपर्ने बताए ।

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्ग रूपान्तरण हुँदै गएको र नयाँ वर्गको उदय भइरहेको उनको भनाइ थियो ।

‘नेपाली समाजको विकासक्रमसँगै वर्ग संरचनामा निरन्तर परिवर्तन भइरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रममा परम्परागत वर्गहरू रूपान्तरित हुँदै गएका छन् भने नयाँ वर्गको समेत उदय भइरहेको छ,’ खतिवडाले भने ।

उनले जात र वर्ग सामाजिक संरचनाका भिन्न पक्ष भए पनि नेपाली समाजमा यीबीच प्रत्यक्ष सम्बन्ध रहेको बताए । राज्यबाट प्राप्त हुने संरक्षण, राजकीय अवसर, सुविधा तथा सहुलियत वर्गीय अवस्थाभन्दा जातजाति र समुदायका आधारमा निर्धारण हुने प्रवृत्तिप्रति उनले चिन्ता व्यक्त गरे ।

यस्तो प्रवृत्तिले निम्न वर्गको संरक्षण र सहयोग कमजोर हुन सक्ने खतिवडाको विश्लेषण थियो । समाजलाई वैज्ञानिकभन्दा परम्परागत दृष्टिकोणबाट व्याख्या गर्ने प्रवृत्ति र जातीय आरक्षणका विद्यमान विधिले राजनीतिक क्षेत्रमा समस्या बढाएको उनको भनाइ थियो । उनले राजनीतिक दलहरूको वर्गीय पक्षधरता पनि स्पष्ट हुन नसकेको बताए ।

खतिवडाले आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पत्ति, प्राविधिक ज्ञान, सीप र अन्वेषण नयाँ वर्ग निर्माणका महत्त्वपूर्ण आधार बन्दै गएको बताए । बदलिँदो अर्थतन्त्रअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए ।

‘आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पत्ति शक्तिशाली, उत्पादक तथा उच्च प्रतिफल दिने सम्पत्तिका रूपमा स्थापित हुँदै गएको छ । त्यसैले नयाँ अर्थतन्त्रको स्वरूपअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको विश्लेषण गर्दा भौतिक सम्पत्तिसँगै बौद्धिक तथा प्राविधिक ज्ञान, सीप र अन्वेषणबाट आर्जित सम्पत्तिलाई पनि महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्छ,’ उनले भने ।

खतिवडाका अनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन् । कृषि क्षेत्रमा परिवर्तन आए पनि यसको मौद्रीकरण र व्यावसायीकरण पूर्ण रूपमा हुन नसकेको उनको भनाइ थियो ।

कृषिमा शोषणयुक्त लेनदेन सम्बन्ध कायम रहनुका साथै कृषिलाई व्यावसायिक अवसरभन्दा बाध्यताका रूपमा लिने प्रवृत्ति पनि कायमै रहेको उनले बताए ।

नेपाली समाजमा आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गए पनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम रहेको खतिवडाले बताए ।

‘आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गए पनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम छन्,’ उनले भने ।

उनका अनुसार सामन्तवादको अन्त्य हुँदै पुँजीवादले आकार लिइरहेको संक्रमणकालीन अवस्थामा वित्तीय, बौद्धिक तथा प्रविधिजन्य सम्पत्ति नयाँ वर्गको उदयका प्रमुख कारक बनेका छन् । मध्यम वर्ग विस्तार भए पनि त्यसलाई निम्नमध्यम वर्गको अवस्थाबाट माथि उठाउन थप योजनाको आवश्यकता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?