+
+
Shares

कर्णालीका मन्त्रीको सम्पत्ति : कसैको बस्ने घर छैन, कोही करोडपति

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार कर्णालीका केही मन्त्रीहरूको आफ्नो बस्ने घर छैन भने केही मन्त्रीहरूसँग ३१ ठाउँमा घरजग्गा रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १८:०८

२९ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत बुधबार ६ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक सम्पत्ति विवरणअनुसार कर्णालीका केही मन्त्रीहरूसँग आफ्नो बस्ने घर छैन भने केही मन्त्रीहरूसँग ३१ ठाउँमा घरजग्गा रहेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईको सबैभन्दा धेरै सम्पत्ति छ भने सबैभन्दा कम सम्पत्ति भौतिक पूर्वाधार मन्त्री मिलन खड्काको छ ।

सार्वजनिक विवरणअनुसार, मन्त्रीहरूको सम्पत्तिमा घरजग्गा, सेयर लगानी, बैङ्क मौज्दात, सुनचाँदी, सवारी साधन र ऋणको अवस्था फरक–फरक देखिएको छ ।

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नेतृत्वको सरकारमा सत्तारुढ दल नेकपा एमाले र नेकपाबाट गत भदौ पहिलो साता ६ जना मन्त्रीहरू नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण यसअघि नै सार्वजनिक भइसकेको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री पछाई, सामाजिक विकास मन्त्री मल्ल र जलस्रोत र ऊर्जा विकास मन्त्री कलबहादुर हमाल नेकपा (एमाले)बाट मन्त्री बनेका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा, उद्योग मन्त्री कल्याणी खड्का र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री बनेका हुन् ।

८ लाख ऋणमा ऊर्जामन्त्री हमाल

अदानचुली–५ हुम्ला घर भएका जलस्रोत तथा ऊर्जा विकास मन्त्री कलबहादुर हमाल ८ लाख ऋणमा छन् । विभिन्न व्यक्तिहरूबाट वैदेशिक रोजगार तथा अध्ययनका लागि कूल ८ लाख ऋण लिएको र चुक्ता गर्न बाँकी रहेको उनले विवरणमा उल्लेख गरेका छन् ।

उनको गाउँमा ०.३२३५ वर्गमिटरमा फैलिएको पुर्ख्यौली घर छ भने वीरेन्द्रनगरको लाटीकोइलीमा ५ लाख मूल्यको जमिन रहेको उनले उल्लेख गरेका छन् । उक्त सम्पत्तिको स्रोत व्यवसाय रहेको उल्लेख छ ।

मन्त्री हमालले लाटीकोइलीमै अर्को ९६ वर्गमिटरमा फैलिएको जमिन छोरी–ज्वाइँको जग्गा बैङ्क प्रयोजनका लागि रोक्का भएको पनि उनले उल्लेख गरेका छन् । हुम्लाको अदानचुली र ताँजाकोटमा गरी २५ कित्ताभन्दा बढी पुर्ख्यौली/पैतृक जग्गा (अंशबन्डा हुन बाँकी) रहेको उनले बताएका छन् ।

उनीसँग २०५७ सालमा २० हजारमा खरिद गरिएको २ तोला सुन र ४० तोला चाँदी छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति नभएको बताएका छन् । चार वटा बैङ्क खातामा २ लाख ७० हजार रुपैयाँ मौज्दात रहेको विवरणमा उल्लेख गरेका छन् । जसमध्ये २ लाख ५० हजार वैदेशिक रोजगारबाट प्राप्त भएको र बाँकी तलबबाट जम्मा गरिएको स्रोत खुलाएका छन् ।

मन्त्री हमालले आफ्नै जग्गामा उत्पादित धान १५ मुरी, कोदो ३ मुरी, गहुँ/मकै ५ मुरी, सिमी/कागुनो २ मुरी रहेको र राडी पाखी १६ थान, गलैँचा १५ थान, तामा/पित्तलका भाँडा २०० थान, काँसका भाँडा १०० थान रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सामाजिक मन्त्री मल्लसँग करोडौँको सम्पत्ति

सामाजिक विकास मन्त्री जितबहादुर मल्लसँग करोडौँको भौतिक सम्पत्ति र जग्गाजमिन रहेको छ । श्रीमती राधिका मल्ल र उनीसँग चार वटा घर र १० ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री मल्लको नाममा बाँकेको कोहलपुर नगरपालिका–७ मा ३७४.२५ वर्ग मिटर क्षेत्रफलमा बनेको घर छ । ३० लाख रुपैयाँमा खरिद गरेको उक्त घर पेसा–व्यवसायबाट आर्जन गरेको उल्लेख गरेका छन् ।

त्यस्तै, श्रीमती राधिकाको नाममा छायानाथ रारा नगरपालिका मुगुमा तीन वटा घर रहेका छन् । छायानाथ रारा–२ मा ५० लाख मूल्य बराबरको घर रहेको छ । राधिकाकै नाममा मुगुको छायानाथ रारा–१ मा क्रमश: ५ लाख र १५ लाख रुपैयाँ खरिद मूल्यका अन्य दुई घर पनि छन् । जसको स्रोत पेसा–व्यवसाय र नोकरी उल्लेख गरिएको छ ।

छायानाथ राराका विभिन्न वडामा श्रीमती राधिकाकै नाममा विभिन्न १० ठाउँमा लाखौँ मूल्यका जग्गाजमिन रहेको छ । ती जग्गाको खरिद मूल्य ९७ लाख रुपैयाँ बराबर रहेको विवरणमा उल्लेख गरिएको छ । जग्गा खरिदको स्रोतमध्ये ४ ठाउँको जग्गा ऋण र बाँकी नोकरी तथा व्यवसाय उल्लेख गरिएको छ ।

मन्त्री मल्लले नोकरी र व्यवसायबाटै ४ तोला सुन र ५ तोला चाँदी जोडेका छन् । उनीसँग बैङ्क मौज्दात ३ लाख रुपैयाँ छ भने श्रीमती राधिकाको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थामा ६३ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ ।

उनीसँग १ लाख ९० हजारको एक थान मोबाइल, १ लाखको एक थान ल्यापटप र १ लाख ८० हजार बराबरको ट्याब्लेट रहेको छ । उक्त सामानको स्रोत वैदेशिक रोजगारमा रहेकाले उपहार दिएको बताइएको छ ।

कृषि मन्त्री लामासँग १२० तोला सुनचाँदी

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामाको सम्पत्ति विवरणमा घरजग्गा, सुनचाँदी र दुर्घटना बीमावापत प्राप्त रकम उल्लेख छन् । लामाका नाममा १० तोला सुन, ११० तोला चाँदी तथा तुषो, मुगा र मोतीका २५ तोला माला रहेका छन् । उनीसँग विभिन्न बैङ्कमा दुई लाख ३२ हजार रुपैयाँ मौज्दात छ ।

त्यस्तै, उनका नाममा सांग्रिला विकास बैङ्कमा १५ लाख रुपैयाँ छ । उक्त रकम श्रीमान्को दुर्घटना मृत्यु दाबी बीमाबाट प्राप्त भएको विवरणमा जनाइएको छ । त्यस्तै, छोरा चन्दसिंह कार्कीका नाममा सिटिजन्स बैङ्कमा ४२ लाख रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त रकम बुवा चन्दसिंह कार्कीको दुर्घटना बीमा दाबीबाट प्राप्त भएको जनाइएको छ । छोराकै नाममा तीन लाख रुपैयाँ मूल्यको मोटरसाइकलसमेत छ ।

सर्केगाड–२ हुम्ला घर भएकी मन्त्री लामाको गाउँमा पैतृक घर छ । जिल्ला सदरमुकाम सिमकोट–६ मा १७.२५ वर्ग मिटरमा फैलिएको २५ लाख मूल्यको जग्गा आफ्नै नाममा रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै, प्रदेश राजधानी वीरेन्द्रनगर–११ सुर्खेतमा ३० लाख मूल्यको जग्गासमेत उनीसँग छ ।

पर्यटन मन्त्री खड्काको बस्ने घर छैन

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्कासँग आफ्नो नाममा घर छैन तर बैङ्कमा भने ९ लाख रुपैयाँ रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

रुकुम पश्चिमको चौरजहारी–९ घर भएकी मन्त्री खड्काले आफू अविवाहित रहेको र बुवाआमाको घर भूकम्पका कारण क्षतिग्रस्त भएको विवरणमा उल्लेख छ । खड्काले गाउँमा अंशबन्डाबाट चार कित्ता जग्गा प्राप्त गरेको बताएकी छिन् ।

दाङमा १२० वर्गमिटर क्षेत्रफलको तीन लाख ६० हजार रुपैयाँ मूल्य बराबरको घडेरीसमेत अंशबन्डाबाट प्राप्त भएको विवरणमा उल्लेख छ । बैङ्कमा बुबाबाट प्राप्त ५ लाख रुपैयाँ जम्मा गरेकी छिन् भने ४ लाख ४६ हजार रुपैयाँ तलब, भत्ता तथा जग्गा बिक्रीबाट जम्मा गरेको उल्लेख छ ।

भौतिक मन्त्री खड्कासँग एउटा गाई, पाँच बाख्रा

सार्वजनिक सम्पत्ति विवरणअनुसार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का (रोका) सबैभन्दा कम सम्पत्ति भएकी मन्त्री हुन् । बैङ्क खातामा ९० हजार रुपैयाँ जम्मा गरेकी खड्कासँग आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

रुकुम पश्चिमको मुसीकोट–१३ घर भएकी मन्त्री खड्काको गाउँमा कच्ची पुर्ख्यौली घर रहेको छ । त्यस्तै, उनले आफ्नो र मोती रोकाको नाममा गरी ११ कित्ता पुर्ख्यौली जग्गा रहेको उल्लेख गरेकी छिन् । उनीसँग माइतीमै रहँदा कमाएको २ तोला सुन रहेको विवरणमा उल्लेख छ ।

विभिन्न कम्पनी तथा संस्थामा ३ लाख बराबरको सेयर लगानी छ, त्यो पनि सगोलको रहेको उनले बताएकी छिन् । घरमा एउटा गाई र ५ वटा बाख्रा रहेको विवरणमा उल्लेख छ । अन्य सम्पत्तिमा एउटा साधारण मोबाइल सेट मात्र उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?