२ कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको विशाल चट्टानसहितको पहिरो विस्फोटक पदार्थ प्रयोग गरेर हटाइएको छ । पहिरो हटाइएपछि चीनसँग सीमा जोडिएको किमाथाङ्का नाकासम्मको सडकमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार आइतबार नेपाली सेनाले विस्फोट गराएर विशाल चट्टानसहितको पहिरो हटाएको हो । चट्टानको आकार ठूलो भएका कारण सामान्य उपकरण प्रयोग गरेर हटाउन सम्भव नभएपछि सडक आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो ।
नेपाली सेना र सडक कार्यालयको प्राविधिक टोलीको सहयोगमा पहिरो हटाएर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको गुरुङले बताए । सडक खुलेपछि चाडपर्व मनाउन घर जाने यात्रु, स्थानीय बासिन्दा र सामान ढुवानी गर्ने सवारीसाधनलाई सहज भएको छ ।
छुमसुरमा गत साउनमा भारी वर्षासँगै खसेको पहिरो र ठूला चट्टानका कारण सडक अवरुद्ध भएको थियो । लामो समय सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्रको दैनिक आवागमन, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानी र स्थानीय गतिविधिमा समस्या उत्पन्न भएको थियो । विशाल चट्टान हटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि सडक खुलाउन समय लागेको थियो ।
सडक योजना कार्यालयका अनुसार अन्य खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको छ । तर, वर्षायाममा पहिरो खस्ने र ठूला चट्टान झर्ने जोखिमका कारण खाँदबारी–किमाथाङ्का सडकमा यातायात सञ्चालन चुनौतीपूर्ण बन्दै आएको छ । भौगोलिक रूपमा विकट र कडा चट्टानयुक्त क्षेत्र हुँदै सडक निर्माण गर्नुपर्ने भएकाले यस क्षेत्रमा सडक विस्तार तथा मर्मतसम्भारको काम कठिन हुने गरेको छ ।
सेनाले निर्माण गरेको सडकखण्ड हस्तान्तरण
खाँदबारी–किमाथाङ्का सडकको कुल लम्बाइ १६२ किलोमिटर छ । यसमध्ये १०.८ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको थियो । कडा चट्टान र विकट भूगोलका कारण निर्माण सामग्री हेलिकप्टरबाट ढुवानी गरेर सेनाले उक्त सडकखण्डको निर्माण सम्पन्न गरेको थियो । सेनाले गत वैशाखमा निर्माण सम्पन्न सडकखण्ड हस्तान्तरण गरिसकेको छ ।
उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयका अनुसार खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ ।
यो सडक कोशी प्रदेशको उत्तरी सीमावर्ती क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने रणनीतिक महत्त्वको आयोजना हो । चीनसँग सीमा जोडिएको किमाथाङ्का नाका सञ्चालनमा आएपछि उत्तरी क्षेत्रको आवागमन र व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
किमाथाङ्का–जोगबनी सडकखण्डलाई चीन र भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरलगायत जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । यसले सीमावर्ती व्यापार, ढुवानी र क्षेत्रीय आर्थिक गतिविधिमा समेत सहयोग पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4