+
+
Shares

मुहानमा पिउनयोग्य बागमती गोकर्ण नपुग्दै बन्छ विष समान, चोभार पुग्दा के हुन्छ ?

बागमती नदीको मुहान सुन्दरीजलमा पानी करिब पिउनयोग्य वा सामान्य ट्रिटमेन्टमा पिउनयोग्य छ । तर, सोही पानी गोकर्ण पुग्दा विषसमान भइसक्छ । यो पानी जोरपाटी हुँदै गुह्येश्वरी पुग्दा प्रदूषणको उच्चतम विन्दुमा पुग्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ कात्तिक ३ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमतीको सुन्दरीजलमा पानी पिउनयोग्य देखिए पनि गोकर्ण, जोरपाटी, गुह्येश्वरी हुँदै चोभारसम्म पुग्दा शतप्रतिशत ढलसरह प्रदूषित भएको परीक्षणले देखाएको छ।
  • धोबीखोला चपलीमा सफा देखिए पनि एकता बस्ती, गोपीकृष्ण, रातोपुल र बुद्धनगर हुँदै बग्दा विषसमान र अत्यन्त दूषित बनेको रिपोर्टले जनाएको छ।
  • विष्णुमती बूढानीलकण्ठमा राम्रो भए पनि टोखा, खुसिँबु र टेकुसम्म पुग्दा अक्सिजन शून्य भई मृत अवस्थामा पुगेको र हनुमन्ते, नख्खु र टुकुचा पनि ढलजस्तै देखिएका छन्।

३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका नदी मानवयि गतिविधिका कारण कतिसम्म कुरूप भइरहेका छन् भन्ने तथ्य एक परीक्षणले उजागर गरेको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको साउन २०८३ को ‘रिभर वाटर क्वालिटी एनालाइसिस रिपोर्ट’ अनुसार बागमती नदीको मुहान सुन्दरीजलमा पानी करिब पिउनयोग्य वा सामान्य ट्रिटमेन्टमा पिउनयोग्य छ ।

तर, सोही पानी गोकर्ण पुग्दा विषसमान भइसक्छ । यो पानी जोरपाटी हुँदै गुह्येश्वरी पुग्दा प्रदूषणको उच्चतम विन्दुमा पुग्छ । आर्यघाटमा वाटर ट्रिटमेन्ट प्लान्टबाट निस्कदाँ केही सुधार हुने पानीको गुणस्तर मीनभवन, थापाथली, सुन्दरीघाट, चोभार पुग्दा पुन: अतिप्रदूषणको उच्चतम विन्दुमा पुग्ने गरेको उक्त परीक्षणले देखाएको छ ।

साउन १८ र १९ मा समितिले बागमती नदीको नमुना परीक्षण गरेको थियो । नमुना परीक्षण १८ साउनमा सुन्दरीजल, गोकर्ण, जोरपाटी, गुह्येश्वरी र आर्यघाटमा गरिएको थियो । १९ साउनमा मीनभवन, मनोहरा–बागमती दोभान, थापाथली, बागमती–विष्णुमती दोभान, सुन्दरीघाट र चोभारमा नमूना लिई परीक्षण गरिएको थियो ।

परीक्षण प्रतिवेदन अनुसार सुन्दरीजलमा बागमतीको पानीको गुणस्तर सबैभन्दा राम्रो छ । यहाँ पानी सफा  छ । यो स्थानमा घुलनशील अक्सिजनको मात्रा धेरै छ । यस्तोमा जलचर सजिलै बाँच्न सक्छन् । यस स्थानमा फोहोर कुहिएर खपत हुने अक्सिजनको मात्रा कम छ ।

त्यस्तै रासायनिक र जैविक फोहोर नष्ट गर्दा आवश्यक अक्सिजनको मात्रा समेत कम छ । यसले पानीमा यी वस्तुको मिसावट कम भएको पुष्टि गर्छ । पानीको धमिलो कम न्यून र मानव तथा जनावरको मलमूत्रमा हुने कोलिफर्म जस्ता ब्याक्टेरियाको मात्रा पनि कम देखिन्छ ।

तर, यी सबै गुणस्तरका मात्रा गोकर्ण आइनपुग्दै निकै हानिकारक स्थितिमा पुग्छन् । रिपोर्ट अनुसार गोकर्ण पुग्दा नदीमा सिधा ढल मिसावट भइसकेको हुन्छ । यसले दिसाजन्य कोलिफर्मको मात्रा गुणात्मक वृद्धि भएर बागमतीलाई शतप्रतिशत विषाक्त बनाइसकेको हुन्छ । जोरपाटी र गुह्येश्वरी पुग्दा यस्तो मात्रा निकै माथिल्लो तहमा पुग्छ । नदीको धमिलोपन समेत उच्चतम विन्दुमा पुग्छ ।

रिपोर्टले देखाए अनुसार काठमाडौं उपत्यकाको घना सहरी इलाकामा पुगेपछि बागमती पानीको अवस्था अझ नाजुक र दयनीय अवस्थामा पुग्छ । थापाथलीमा नदीको धमिलोपन ज्यादै अधिक मात्रामा पुगेको छ । घुलनशील अक्सिजनको मात्रा न्यून हुँदा जलचर बाँच्नै नसक्ने अवस्थामा नदी पुगेको छ ।

नदीमा अत्यधिक मात्रामा जैविक र रासायनिक फोहोर मिसाइएको देखिन्छ भने दिसाजन्य कोलिफर्म ब्याक्टेरियाको मात्रा अझ गुणात्मक वृद्धि यस विन्दुमा समेत भएको छ ।

चोभार पुग्दा शतप्रतिशत ढलसमान हुन्छ बागमती

बागमती चोभार पुग्दा धेरै नदी प्रणाली यस नदीमा मिसिइसकेका हुन्छन् । तर, उपत्यकाभित्रका कुनै पनि नदी प्रणाली प्रदूषणमुक्त छैनन् । यसले बागमतीलाई यतिसम्म करूप बनाएको छ कि चोभार पुग्दा बागमती नदी प्रणाली नदी र पानीको विशेषतामा रहन्न, यहाँ शतप्रतिशत ढल जस्तै प्रदूषित पदार्थमात्र बग्छ ।

कतिसम्म भने सुन्दरीघाट हुँदै चोभारसम्म पुग्दा बागमतीको पानी प्रयोगयोग्य वा जलचर बाँच्ने अवस्थामा त रहन्न नै, सिँचाइ वा अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न ‘अत्यन्तै असुरक्षित’ विन्दुमा पुग्छ ।

धोबीखोलाको स्वास्थ्य कस्तो छ ?

समितिले २१ साउनमा धोवीखोलाको पानीको गुणस्तर परीक्षण गरेको थियो । यसका लागि विभिन्न ६ स्थानबाट पानीको नुमना लिइएको थियो । यसमध्ये धोबीखोलाको मुहान विन्दु चपलीमा पानीको गुणस्तर सबैभन्दा उत्तम र सफा छ । यहाँ घुलनशील अक्सिजनको मात्रा अधिक छ । जहाँ जलचर सजिलै बाँच्न सक्छन् । धमिलोपन न्यून छ । रासायनिक तथा जैविक फोहोर मिसावट कम र दिसाजन्य कोलिफर्मको मात्रा समेत न्यून देखिन्छ ।

तर, जब धोबीखोला एकता बस्ती पुग्छ, त्यहाँ धोबीखोलाको पानी विषसमान बनिसकेको हुन्छ । घुलनशील अक्सिजनको मात्रा ह्वात्तै घट्छ । धमिलोपनको अवस्था गुणात्मक बढ्छ । कोलीफर्म उच्च विन्दुमा पुगिसकेको हुन्छ भने रासायनिक र जैविक फोहोर मिसावटले नदीलाई कुरूप बनाइसकेको हुन्छ ।

धोबीखोला गोपीकृष्णमा समेत प्रदूषणको चरम विन्दुमा छ । रातोपुल क्षेत्रमा यस नदी प्रणालीको सबैभन्दा धेरै फोहोर र प्रदूषित अवस्थामा यो नदी छ । यहाँ धमिलोपन अत्यधिक छ । घुलनशील अक्सिजनको मात्रा अत्यधिक घटेको र सिधा नदीमा मिलाइने ढलले मानव मलमूत्रमा हुने कोलिफर्मको मात्रा उच्चतम विन्दुमा पुगेको छ ।

यो नदी बुद्धनगर क्षेत्रमा आइपुग्दा अत्यन्तै दूषित अवस्थामै बग्छ । धोबीखोला र बागमतीको संगमस्थलमा भने दुई नदीको प्रदूषणले मिश्रित र स्थिर अवस्था रहेको देखाएको छ ।

उस्तै नियति भोग्दै विष्णुमती

उपत्यकाको अर्को महत्त्वपूर्ण नदी विष्णुमती समेत मानवीय गतिविधिले ढल जस्तै भएर बग्न बाध्य छिन् । विष्णुमतीको उद्गम क्षेत्र बूढानीलकण्ठमा पानीको गुणस्तर सबैभन्दा राम्रो र सफा देखिन्छ । यस स्थानमा जलचरका लागि पानी उपयुक्त अवस्थामा छ ।

धमिलोपन कम र रासायनिक तथा जैविक फोहोर मिसावट कम छ । दिसाजन्य कोलिफर्मको मात्रा समेत कम देखिन्छ । तर, टोखा नपुग्दै नदीको पानी अत्यधिक प्रदूषित भइसक्छ । घुलनशील अक्सिजनको मात्रा ह्वात्तै घटेको, धमिलोपन बढेको र मलमूत्र तथा अन्य फोहोरजन्य पदार्थ सिधै नदीमा मिसावट भएको अवस्थामा पुग्छ ।

महादेव खोला र विष्णुमतीको मिश्रण हुने विन्दुमा पानी प्रदूषण अत्यधिक उच्च र चिन्ताजनक अवस्थामा पुग्छ । जलचरका लागि अनुपयुक्त, घुलनशील अक्सिजन नभएको र अत्यधिक धमिलोपनको अवस्थामा विष्णुमती पुग्छ ।

खुसिँबु क्षेत्र पुग्दा भने विष्णुमती शतप्रतिशत ढलको विशेषतामा परिणत हुन्छ । यो अवस्था टेकुसम्म नै पुग्छ । टेकुसम्म पुग्दा नदी मृत अवस्थामा पुग्छ, अक्सिजन शून्य हुन्छ भने अत्यधिक गन्धसहित ढलका रूपमा यो नदी बग्छ ।

नख्खु खोलाको स्वास्थ्य कस्तो ?

समितिले २६ साउनमा नख्खु खोलाका विभिन्न स्थानको नमुना परीक्षण गरेको थियो । सोही क्रममा यो नदी भने मुहान विन्दुबाटै प्रदुषित देखिन्छ । अस्फाल्ट प्लान्ट नजिक पानीमा धमिलोपन र माटो तथा बालुवाको मात्रा अधिक छ । तर, जैविक ढलबाट हुने प्रदूषण कम छ ।

कान्तिपुर कोलोनी नजिक पुग्दा धमिलोपन उस्तै छ । तर, अन्य प्रदूषण धेरै बढेको देखिँदैन । रानीबु पुलमा पुगिसक्दा भने ढल मिसावटले यो नदीलाई पूर्ण विषाक्त बनाइसक्छ । बागमती र नख्खु खोला संगममा पुग्दा नदी प्रदूषणको चरम अवस्था पाइन्छ । जसले पानीलाई हानिकारक बनाएको छ ।

झनै दयनीय हालतमा टुकुचा

समितिले १९ साउनमा टुकुचा नदीको नमुना परीक्षण गरेको थियो । यो नदीको पहिलो नमुना पुतलीसडकमा लिइएको थियो । सघन सहरी इलाकामा रहेको यो क्षेत्रमा टुकुचा अत्यधिक प्रदूषित अवस्थामा छ । घुलनशील अक्सिजन सबैभन्दा कम रहेको अवस्थाले यस क्षेत्रमा सोझै ढल नदीमा मिसाइएको देखाउँछ ।

पानी धमिलो छ । कोलिफर्मको मात्रा अत्यधिक रहँदा मानव मलमूत्र सिधै नदीमा मिसाएको देखिन्छ । कालमोचन घाट पुग्दानपुग्दै यस नदीले आफ्नो नदी विशेषता गुमाउँछ र पूर्णतया ढलमा परिणत हुन्छ ।

ढलकै विशेषता बोकेर बग्छ हनुमन्ते

हनुमन्ते खोलाको नमुना परीक्षण २९ साउनमा गरिएको थियो । भक्तपुरबाट बग्ने हनुमन्ते खोला गोन्सा र ब्रह्मायणी घाट आसपास राम्रो गुणस्तर र सफा देखिएको छ । यहाँ जलचरका लागि उत्तम अवस्थामा पानीको गुणस्तर छ । कोलिफर्म कम र धमिलोपन समेत कम छ ।

तर, भद्रखोला आसपास पुगेपछि भने यो नदीमा ढल र रासायनिक मलको मिसावट सुरु भइसकेको हुन्छ । घुलनशील अक्सिजन घट्दै गएको र कोलीफर्मको मात्रा बढेको छ । बिरा खोलामा आइपुग्दा नदी अत्यधिक प्रदूषित भएको छ ।

कासान खोला र हनुमन्तेको संगममा पुग्दा अक्सिजन तह घटेर न्यून विन्दुमा पुगेको छ । घट्टेखोला र हनुमन्ते खोलाको संगममा धमिलोपन अधिक र तैरिएर रहेका ठोस पदार्थको मात्रा समेत उल्लेख्य बढेको परीक्षणबाट देखिएको छ ।

गोदावरी र हनुमन्तेको संगममा आइपुग्दा नदीमा अक्सिजनको मात्रा शून्यप्राय: अवस्थामा पुगेको छ । मनोहरा र हनुमन्तेको संगममा आइपुग्दा नदीमा सिधा ढल मिसाइने भएकाले कोलीफर्मको मात्रा अधिक पुगेको छ । यी सबै नदीको परीक्षणबाट मानवीय गतिविधिले उपत्यकाका नदीलाई मृत र कुरूप बनाएको देखिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?