+
+
Shares

‘कबड्डी’ क्लबका तीन निर्देशक, यस्तो छ रोचक संयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको छेको पारेर अग्रिम बुकिङ खुलेको ‘कबड्डी ५’ प्रदर्शनको तरखरमा छ ।
  • ‘कबड्डी’ शृंखलाले रामबाबु गुरुङ, उपेन्द्र सुब्बा र माओत्से गुरुङलाई निर्देशकका रूपमा स्थापित गरेको लेखमा उल्लेख छ ।
  • उपेन्द्र सुब्बा लिम्बुवान, माओत्से गुरुङ गण्डक र रामबाबु गुरुङ मुस्ताङको कथालाई आफ्नो सिनेमाको आधार बनाइरहेका छन् ।
  • तीनै निर्देशकका साझा हिरो दयाहाङ राई र विजय बराल रहेका छन् ।

पहिलो शृंखलाबाटै ब्लकबस्टर भएको ‘कबड्डी’ प्रदर्शनको तरखरमा छ । दशैंको छेको पारेर यो फिल्म सार्वजनिक हुँदैछ, जसको अग्रिम बुकिङ खुलिसकेको छ ।

जगजाहेर छ, यो फिल्मको पाँचौँ शृंखला हो । कबड्डीको खेल त अघिल्लो भागमै सकिएको हो । तर, यसका पात्रहरू रोकिएनन् । कथा अगाडि बढ्यो ।

पाँचौँ भागमा आइपुग्दा काजीको बिहे होला ? ‘कटप्पा ने बाहुबलीको क्योँ मारा’ भनेजस्तै यो प्रश्नले दर्शकमा उत्सुकता जगाइरहेको थियो । यही उत्सुकताले तपाईंलाई सिनेमा घरसम्म तान्न सक्छ । फिल्मको कथा काजीको अतृप्त प्रेमतिर तन्किएको छ वा थाकखोलाको सेरोफेरोमा भौतारिएको छ ? त्यो त तपाईंले फिल्म हेरेपछि थाहा पाइहाल्नुहुन्छ ।

फिल्मको कुरा यहीँ छाडौँ । तर, ‘कबड्डी’ आफैँमा यस्तो शृंखला पनि हो, जसले नेपाली सिनेमालाई तीन अब्बल निर्देशक पनि दियो ।

यही फिल्म थियो, जसले रामबाबु गुरुङजस्ता तगडा निर्देशक जन्मायो । यसैको सह–उत्पादनको रूपमा आए, उपेन्द्र सुब्बा र माओत्से गुरुङ ।

वास्तवमा ‘कबड्डी’ क्लबबाट उपेन्द्र सुब्बाले निर्देशकका रूपमा नाम दर्ता गराएका हुन् । त्यसअघि उनी पटकथा लेखक थिए । त्यसअघि सेलिब्रेटी कवि थिए ।

‘कबड्डी’ क्लबबाटै आएका अर्का निर्देशक हुन्, माओत्से गुरुङ । त्यसअघि उनी अभिनेता थिए ।

उपेन्द्र सुब्बाले ‘जारी’बाट निर्देशनमा डेब्यु गरे । ‘कबड्डी’को कथा, पटकथा लेखनमा मात्र होइन, छायाङ्कनमै सहकार्य गरिरहँदा उनले सिनेमाका थुप्रै कुरा जाने, बुझे, सिके । ‘फिल्म त यसरी पो बन्ने रहेछ’ भन्ने तत्त्वज्ञान भएपछि उनी आफैँ कस्सिए, आफ्नै मनको फिल्म बनाउन । त्यसका लागि उनले रोजे, आफ्नो परिवेशको कथा । आफ्नै भूगोलको कथा ।

आफूले जन्मदेखि देख्दै, भोग्दै आएको कुरालाई कथानक बनाएर दृश्यभाषामा उतार्दा त्यो सहज मात्र होइन, सुन्दर पनि हुन्थ्यो । उनले त्यही गरे ।

रामबाबु गुरुङले नै निर्माणमा हातेमालो गरेपछि बनेको ‘जारी’ ब्लकबस्टर सिनेमामा दरियो । यो फिल्मले दर्शकलाई लामो समयसम्म हलमा तानिरह्यो । फिल्ममा ठेट लिम्बू चालचलनलाई उनले रोचक ढङ्गले प्रस्तुत गरे । त्यही रोचकताभित्र कतिपय संवेदनशील कुरा पनि उठाइदिए ।

यो फिल्मको सफलतापछि उपेन्द्र सुब्बा अन्यत्र मोडिएनन् । उनले ‘मनसरा’ बनाए । अहिले अर्को फिल्मको दौडधुपमा छन् । ‘कबड्डी’का झाँक्री बा कविबाट निर्देशकमा रूपान्तरण भए ।

यस्तै, ‘कबड्डी’ क्लबका अर्का पोख्त निर्देशक हुन्, माओत्से गुरुङ । ‘कबड्डी’का यी थकाली मामाले मूलधारको सिनेमा निर्देशनमा पाइला राखे, ‘दयारानी’बाट । त्यसअघि क्षेत्रीय फिल्महरू बनाए पनि उनको निर्देशकीय पहिचान यही फिल्मबाट बन्यो । फिल्ममा एक किसिमको चरित्रमा खुब जम्ने उनी अहिले अभिनय गर्नेभन्दा निर्देशन गर्नेतिर बढी सक्रिय छन् । पछिल्लो समय उनी निर्देशित फिल्म ‘पेन्सन पट्टा’ व्यावसायिक रूपमा सफल मानिएको छ । अहिले पनि यो फिल्म हलहरूमा प्रदर्शनरत छ ।

अब रामबाबु गुरुङ त ‘कबड्डी’का मूल निर्देशक भइहाले । त्यही क्लबबाट आएका उपेन्द्र र माओत्सेबीचको एउटा रोचक संयोग छ । त्यो के भने, यी तीन जनाले आ–आफ्नो भेग समातेका छन् ।

जस्तो, उपेन्द्र लिम्बुवान भेग र त्यही सेरोफेरोको कथालाई पर्दामा ल्याइरहेका छन् । त्यस भेगका चालचलन, रीतिथिति, भाषाशैली, रहनसहन उनका सिनेमाका अवयव हुन् । भलै, उनले दोस्रो फिल्म ‘मनसरा’लाई काठमाडौँ आसपासको अस्थायी बस्तीबाट उठान गरे । यद्यपि, ‘जारी’ र ‘मनसरा’का वर्ग र समाज करिब उस्तै देखिए ।

यता, माओत्से गुरुङ गण्डक क्षेत्रको कथा र परिवेशलाई आफ्नो सिनेमाको सौन्दर्य बनाएर लिपपोत गरिरहेका छन् । खासगरी गुरुङ, मगर समुदायका चालचलन र रहनसहन उनका सिनेमाका प्रतिबिम्ब हुन् । उनले बनाएका सिनेमाहरूमा उनका जीवनभोगाइसँग धेरै निकटता रहेको देखिन्छ ।

अब रामबाबुले त मुस्ताङलाई आफ्नो सिनेमाको मुकाम नै बनाइसके । त्यही सेटिङमा उनका ‘कबड्डी’ शृंखलाहरू जन्मिए । ‘कबड्डी ५’सम्म आइपुग्दा पनि उनी त्यही लेकाली भेगको सेरोफेरोमा छन् ।

खासगरी थकाली समुदायका चालचलन उनका कथाका पाटपुर्जा हुन् । यसरी ‘कबड्डी’ क्लबका यी तीन निर्देशकले छुट्टाछुट्टै भूगोललाई आफ्नो सिनेमाको धरातल बनाएका छन् ।

अब अझ रोचक संयोग त के भने, यी तीन जना निर्देशकका एउटै साझा हिरो हुन्, दयाहाङ राई ।

थकाली, गुरुङ, लिम्बू—सबै पात्रका रूपमा दयाहाङ उनीहरूको रोजाइमा परे । दयाहाङकै काँधमा कथाको जुवा बोकाइयो । र, अपेक्षाकृत सफल पनि भयो ।

त्यसो त दयाहाङसँगै यी तीन जना निर्देशकले विजय बराललाई पनि छाडेनन् । विजय बराल कहिले मुस्ताङतिर मन डुलाउने बीके भइदिए, कहिले पाँचथरतिर बरालिने ठिमाहा लिम्बू भइदिए ।

यसरी करिब एउटै टिम, उही कलाकार राखेर पनि यी तीन निर्देशकले तीन फरक भूगोल र परिवेशको कथा भनिरहेका छन् । तीन फरक शैलीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?