News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका लागि बंगलादेशी राजदूत मोहम्मद शफिकुर रहमानले गोरखाको मनकामना र काली मन्दिरको भ्रमण गरेर दशैंको शुभकामना आदानप्रदान गरेका छन्।
- उनले काठमाडौंमा दूर्गापूजामा सहभागी हुँदै नेपालको सांस्कृतिक र धार्मिक सम्पदाबारे जानकारी लिएका छन्।
- राजदूत रहमानले दशैंले धार्मिक सद्भाव, सहअस्तित्व, एकता र आपसी भाइचाराको भावना अभिवृद्धि गर्ने बताएका छन्।
५ कात्तिक, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले गोरखास्थित मनकामना मन्दिर र काली मन्दिरको भ्रमण गरेका छन् ।
मन्दिर भ्रमणका क्रममा उनले पूजा समितिका सदस्य तथा मन्दिरका पुजारीहरूसँग दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै अन्तरक्रिया गरेका थिए । सो क्रममा उनले नेपालको समृद्ध सांस्कृतिक तथा धार्मिक सम्पदाबारे थप जानकारी लिएका थिए ।
उनी काठमाडौंमा दूर्गापूजामा पनि सहभागी भएका छन् ।
दशैंका विशिष्ट सांस्कृतिक तथा धार्मिक परम्परालाई नजिकबाट अनुभव गर्न पाउँदा खुसी व्यक्त गर्दै राजदूत रहमानले दशैंका उत्सवमा सहभागी हुनु आफ्ना लागि सुखद र ज्ञानवर्द्धक अनुभव भएको बताए ।
राजदूत रहमानले दशैंको अवसरमा शुभकामना सन्देश दिँदै सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । दशैंलाई यस क्षेत्रको साझा सांस्कृतिक सम्पदाका रूपमा उल्लेख गर्दै उनले यसले धार्मिक सद्भाव, सहअस्तित्व, एकता र आपसी भाइचाराको भावना अभिव्यक्त गर्ने बताएका छन् ।

दशैंले विभिन्न धर्म र आस्थाबीचको भिन्नताभन्दा माथि उठेर सम्मान, करुणा र सहानुभूतिको भावना प्रवर्द्धन गर्ने उनको भनाइ छ ।
शताब्दीयौंदेखि नेपाल र बंगलादेशसहित यस क्षेत्रका समुदायको संस्कृति र सम्पदालाई पारस्परिक सहअस्तित्व तथा धार्मिक सहिष्णुताको भावनाले आकार दिँदै आएको उनले उल्लेख गरेका छन् ।
यस्तो साझा सांस्कृतिक विरासतले दुई देशका जनताबीचको मित्रता, सद्भाव र आपसी समझदारीलाई थप सुदृढ बनाउने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया 4