News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले शाहरूख खानलाई नाइनटिजका रोमान्टिक हिरोका रूपमा चित्रित गर्दै ‘दिल से’ र ‘डीडीएलजे’का दृश्यमार्फत उनको लोकप्रियता सम्झिएको छ।
- लेखअनुसार शाहरूखले ‘डर’, ‘बाजिगर’, ‘माइ नेम इज खान’, ‘चक दे इन्डिया’ र ‘स्वदेश’जस्ता फिल्ममा विविध चरित्र निभाएर आफूलाई स्थापित गरे।
- लेखले ‘पठान’ र ‘जवान’पछि शाहरूखको छवि प्रतिशोध र हिंसातर्फ गएको भन्दै नाइनटिजका शाहरूख हराएको टिप्पणी गरेको छ।
प्रोल्युड
ट्रेन स्टेसनमा एउटा छिप्पिएको रात, जसको दुर्भेद्य चरित्रलाई भत्काउन खोज्दै बत्तीका प्रकाशहरूले फैलाइरहेका छन् आफ्नो नीलो उज्ज्वलता । कडकडाइरहेछ चट्याङ, विरहव्यथा ओकलिरहेकी विधवाजस्तो सुसाइरहेछ हुरीबतास । ट्रेन पर्खिरहेछ अल इन्डिया रेडियोमा कार्यरत अमर, जो मुटु ठिहिर्याउने चिसोको प्रतिरोधमा सिगरेट बाल्न खोजिरहेको छ । ज्या! माचिस ल्याउनै पो बिर्सेछ । हावाले बेपर्वाह उडाउँदै गरेको आफ्नो केशविन्यासलाई मिलाउँदै वरपर आँखा चिप्लाउँछ । पल्लोपट्टिको सिटमा कालो बर्कीमा बेरिएको मान्छेलाई देख्छ ।
‘अरे! भाइसाहब, माचिस छ तपाईंसँग ?’
प्रत्युत्तरमा केवल हावा ‘सुईयँ…’ गर्छ । अनि उक्त मूर्तिवत् मानव आकृति हल्लिन्छ ।
अमर भलै युवा होस्, तर उसमा बालसुलभ चञ्चलता देखिन्छ, चपलता देखिन्छ । ऊ वाचाल छ, मग्न छ एकालापमा। अपरिचित मानव आकृतिलाई केही दूरीमै उभिएर सोध्न थाल्छ, ‘ट्रेन आउँछ जस्तो लाग्छ कि लाग्दैन? आयो भने पनि यात्रामा निस्किन्छ कि निस्कन्न? बस्, पुल मजबुत हुनुपर्छ…।’ यस्तै यस्तै कुराहरू। अचानक चट्याङ कडकिन्छ, हावाको प्रवेग बढ्छ अनि उक्त मानव आकृतिको शरीरबाट बर्की फुत्किन्छ, पानी पर्न थाल्छ। प्रकाशको फैलावटमा वर्षानृत्य मोतीजस्तो चम्केको देखिन्छ।
उक्त मानव आकृति भाइसाहब हुँदैन । एउटा सुन्दर युवती हुन्छे, जसको फरफराइरहेको केशमा रहस्य छ, स्थिर आँखामा रहस्य छ, उसको सिधा तीखो नाकमा रहस्य छ, समग्र उपस्थितिमा रहस्य छ। अमर उसको सुन्दरता, रहस्य, परिस्थिति, सबैथोकबाट आकर्षित हुँदै जान्छ। अनि कुराकानीको सिलसिला बढाउन थाल्छ। बस्, नाम सोध्दैन, अरू सबथोक सोध्छ। घर, परिवार, कुकुर… सबैथोक, तर युवती निरुत्तर छे। ऊ सिर्फ एक कप चियाको आग्रह गर्छे।
अमर आफ्नो रातो ज्याकेटलाई माथि सारेर आफ्नो टाउको छोप्छ । अनि झरीको पर्वाह नगरी नजिकैको चिया दोकान जान्छ। अनि दुई कप चिया लिएर फर्किन्छ। अफसोस, त्यतिबेला नै ट्रेन आइपुगिसकेको हुन्छ। उक्त अपरिचिता ट्रेनमा चढिसकेकी हुन्छिन्। अमर ‘ओए!’ भनेर उसलाई बोलाउँछ। युवती उतिर निरीह आँखाले हेर्छे। पटरीमा बगिरहेको ट्रेनसँगै उक्त आँखा ओझेल पर्दै जान्छ । अमरसँगसँगै रुझ्न थाल्छन् उसका हातका दुई ग्लास चिया। चियामा तप्किन थाल्छन् अविराम झरिरहेका पानीका थोपाहरू। चियाका केही अंशहरू ग्लासको आयतनबाट बाहिर उफ्रन्छन् ।

अब स्टेसनमा अमर छ। पातलिँदै गरेको ट्रेनको ध्वनि छ। झरी छ। हुरीको मन्द आवाज छ। र छ, ‘दुनियाँको सबैभन्दा छोटो प्रेमकहानी’।
यति मिहिनेतसँग, यति ‘बारिकी’सँग याद छन् मलाई ‘दिल से’ फिल्मका आरम्भिक दृश्यहरू। यसमा निःसन्देह नाटकीयता छ। ‘ओभरएक्टिङ’ पनि होला। तर यसको सुन्दरता, हार्दिकता र परिणतिस्वरूपको गहिरो अनुभूतिका अघि यसका ‘दोष(?)’हरू केवल ‘चन्द्रमाका दाग’ भएका छन्। शाहरूख खानको निर्दोषता, बालसुलभता देखेर प्रेममा नपर्ने शायदै कोही होलान् ।
इन्टरल्युड
शाहरूख खान आफूलाई भन्ने गर्छन्, ‘आई एम द लास्ट अफ द स्टार’ अर्थात् उनी सिनेमा जगत्का अन्तिम सितारा हुन्। अहम् र आत्मविश्वासबीचको अन्तर उनैले बुझेका होलान्। त्यसैले यो जिम्मा हामी उनैलाई छाडिदिऊँ—उनको यो कथनमा अहम् छ कि आत्मविश्वास छ भन्ने कुरा। यद्यपि, हामी यो कुरा हेर्न सक्छौँ, अनुभूत गर्न सक्छौँ कि उनले आफ्नो पच्चीस वर्ष बलिउडमा एकछत्र राज गरे। उनले आफूलाई रोमान्टिक हिरोका रूपमा स्थापित गरे। उनले आफूलाई जबर्जस्त भिलेनका रूपमा चिनाए। अनेकन चरित्रहरू निभाए, जसमा उनलाई दर्शकहरूले कहिल्यै कल्पनासम्म पनि गरेका थिएनन्। जस्तो कि- ‘माइ नेम इज खान’को रिजवान, ‘चक दे इन्डिया’को कबीर खान, ‘स्वदेश’को मोहन आदि।
तर फेरि एकपटक प्रोल्युडमा उल्लिखित ‘दिल से’को दृश्यलाई सम्झिऊँ र नभुलौँ कि त्यो दृश्य एउटा दृष्टान्त मात्र हो। ‘दिल से’ फिल्मभरि नै त्यस्ता अनेकन दृश्यहरू छन्, जहाँ शाहरूखले दर्शकहरूका आँखा नभिजाई छाड्दैनन्। चाहे लद्दाखमा मेघना (अघिकी अपरिचिता)सँग प्रेम, विवाह, छोराछोरीका बारेमा सपना बुनिरहँदा होस् या फिल्मको उत्कर्षमा देखिने व्यक्तित्वको विसर्जन र प्रेमको उत्सर्गका भावुक क्षणहरू… शाहरूख आफ्नो रुमानी प्रतिभाको शिखर चुमिरहेका छन्। जुग-जुगमा जन्मिरहने लैला, रोमियो जस्ता प्रेमीहरूको पङ्क्तिमा आफूलाई उभ्याएका छन् ।
उनको रोमान्टिक हिरोको छवि सुरु भएको थियो- फिल्म ‘दिलवाले दुल्हनिया ले जायेंगे’ (डीडीएलजे)बाट । डीडीएलजे एकमात्र त्यस्तो फिल्म बनेको छ, जो हजार हप्ताभन्दा बढी चलेको छ। जसका डाइलगहरू आज पनि उत्तिकै महत्त्वका साथ उच्चारण गरिन्छन् । जसले ‘राज–सिमरन’लाई प्रेमिल युगल जोडीको पर्यायका रूपमा स्थापित गरेको छ। तर शाहरूखलाई पनि विश्वास थिएन फिल्मको सफलताबारे। त्यसमाथि उनी बलिउडमा रोमान्टिक हिरोभन्दा भिलेनका रूपमा परिचित भएका थिए । एउटा भिलेन, जो हिरोइनलाई आफ्नो फाइदाका लागि प्रयोग गर्छ, जो हिरोइनलाई समेत मृत्युको मुखमा ठेलिदिन्छ, जो हत्याका षड्यन्त्र रच्दै हिँड्छ… त्यसलाई कसरी दर्शकहरूले रोमान्टिक हिरोका रूपमा स्वीकार गर्लान् ?
तर फिल्मका निर्देशक आदित्य चोपडाले शाहरूखमा भिन्न कुरा देखेका थिए, अनन्वेषित कुरा भेटेका थिए। त्यो थियो- उनका आँखा। रुमानी भाव बोकेका उक्त आँखाबारे आदित्यले भनेका थिए, ‘तिम्रो आँखामा त्यस्तो केही छ, जुन एक्सन फिल्महरूमा खेर फाल्न मिल्दैन।’

आदित्यको यो वाक्य यति सत्य साबित भयो कि डीडीएलजEपछि उनले लगातार रोमान्टिक फिल्महरू खेले। राज, राहुल, देवदास… धेरै फिल्महरूमा प्रयोग गरिएका यी नामहरूले उनलाई ‘किङ अफ रोमान्स’ बनाए। तर उनलाई केवल युवतीहरूले अथवा प्रेममा परेका जोडीहरूले मात्र रुचाएनन्। उनलाई केटाकेटीहरूले पनि उत्तिकै रुचाए, बुढाबुढीहरूले पनि उत्तिकै रुचाए। उनले दर्शकहरूबाट यति धेरै प्रेम पाएका छन् कि त्यो अरू कुनै अभिनेताले पाएका छैनन्। यतिको नाम, प्रसिद्धि र प्रेम अरू कसैले पाउला भन्ने कुरामा स्वयं शाहरूख विश्वास गर्दैनन्। त्यसैले त इरफान खानले भनेका छन्—‘हलिउडसँग जे भए पनि शाहरूख खान छैन।’
शाहरूख कसरी सबैको प्रिय पात्र बन्न पुगे त ? यो प्रश्नको सही-सटीक जवाफ भेट्न गाह्रो छ। मान्छे अनेकन अदृश्य कारकहरूको वैशाखी टेकेर सफलताको शिखरमा पुग्छ। तर ती अदृश्य कारकहरूबारे अनुमान गर्दैमा के नै जाला र!
जतिबेला शाहरूखले बलिउडमा पदार्पण गरे, त्यतिबेला एक्सन फिल्महरूको प्रभुत्व थियो। हिरो भनेको त ‘एन्ग्री योङ म्यान’ नै हुनुपर्थ्यो त्यो बेला। सायद शाहरूख पनि त्यस्तै बन्न आएका हुन सक्छन्। त्यसैले त उनी पनि ‘डर’, ‘बाजिगर’ जस्ता फिल्महरूबाट चिनिए। तर जब उनले रोमान्टिक फिल्महरू गर्न थाले, तब हिरोको परिभाषा नै भत्कियो ।
अब हिरो त्यो मान्छे होइन, जसले आफ्नो अहम्को एउटा चोइटासमेत नउक्काई प्रतिशोध लिन्छ। अब हिरो त्यो हो, जो प्रेमका लागि आफ्नो अहम् त्याग्न सक्छ, आफ्नो आर्जन पनि समर्पित गर्न सक्छ, हात फैलाएर आफ्नी प्रेमिकालाई सुरक्षित राख्न सक्छ। अथवा, फिल्म ‘मोहब्बतेँ’को आर्यनजस्तो, जो आफ्नी प्रेमिकाको मृत्युपश्चात् पनि प्रेमलाई अमर बनाइराख्छ। या देवदासजस्तो, जो आफ्नी प्रेमिकालाई पाउन नसक्दा, उसका स्मृति थेग्न नसक्दा जीवनबाट विमुख हुँदै जान्छ।

अर्को विशेष कुरा, रोमान्टिक हिरो भइरहँदा उनी केवल प्रेमिकाका मात्र भइरहेनन्। उनी आमाबुबाका असल छोरा पनि भए। छोराछोरीका प्यारा बुबा पनि भए। साथीभाइका ‘जिग्री दोस्त’ पनि भए। त्यतिबेला को यस्ता आमाबुबा थिएनन् होला, जसले शाहरूखजस्ता छोराको कामना नगरेका होलान् ? को यस्ता केटाकेटी थिएनन् होला, जो शाहरूखजस्ता बुबाको कल्पना नगरेका होलान्? को यस्ता साथीहरू थिएनन् होला, जो शाहरूखजस्तो साथीको कामना नगरेका होलान्? र, को यस्ता प्रेमी थिएनन् होला, जसले शाहरूखजस्ता प्रेमी नचाहेका होलान् ?
पोस्टल्युड
चार वर्षको ग्यापपछि सन् २०२३ मा ‘जवान’ र ‘पठान’का साथ फर्किए शाहरूख । बक्स अफिसमा धमाका गरे। यसअघिका फिल्म ‘जिरो’, ‘डियर जिन्दगी’, ‘फ्यान’, ‘रईस’जस्ता फिल्महरू तुलनात्मक रूपमा ‘फ्लप’ नै भएका थिए। उनको यो कमब्याकलाई त मान्नैपर्छ। तर उनले प्रशंसकहरूको हृदयमा जुन छाप छाडेका थिए, जसरी असल अभिभावक/छोरा/साथी/प्रेमीको परिचय बनाएका थिए, त्यसबाट उनी धेरै टाढा देखिन्छन् ।
अब उनी आफ्नो सुगठित शरीर देखाउँछन्। कसैसँग प्रतिशोध साँध्न जान्छन् । मानिसहरूलाई रक्ताम्य हुने गरी पिट्छन्। मृत्युको शङ्खनाद गर्दै हिँड्छन्। उनी बालक रहेनन्। अब ठूला भइसके। त्यही भएर होला, ठूला मान्छेहरू अरूबाट टाढा जाने रहेछन् ।
त्यसैले त म सोध्दै छु-कहाँ हराए नाइनटिजका शाहरूख ? कुछ कुछ होता है, तुम नहीं सम्झोगे…!
प्रतिक्रिया 4