५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन काठमाडौंको असन तथा आसपासका क्षेत्रमा तुलाधर समुदायले परम्परागत खड्ग जात्रा मनाएका छन्।
काठमाडौं महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा विधिपूर्वक पूजा गरेपछि समुदायका सदस्यले कुभिन्डोमा बनाइएको दैत्यको चित्र काटेका थिए। त्यसपछि आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिँदै बाजागाजासहित खड्ग जात्रालाई टोल परिक्रमा गराइएको थियो।
तुलाधर समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवीदेवतालाई चढाउनुका साथै तन्त्र साधना गरी देवीदेवताको मूर्ति रहेका शक्तिपीठको पूजा गर्ने परम्परा छ। यस जात्रामा समाजभित्रका सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गराउने चलनसमेत छ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यो विधि अपनाइएको स्थानीयले बताएका छन्।
सम्राट् अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चात्ताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग पनि यो जात्रा जोडिएको छ। सोही मान्यताका कारण यस जात्रामा पशुबलि निषेध गरिएको बताइन्छ। हिन्दू र बौद्ध धर्मावलम्बीले यसलाई साझा सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन्।
प्रतिक्रिया 4