५ कात्तिक, काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ।
बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्।
साउदी ऊर्जा मन्त्रालयका अनुसार, आक्रमणका लागि आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, त्यसको भग्नावशेष तल खस्दा आयल फिल्डको परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगो लागेको थियो, जसमा परी ती कामदारहरूको मृत्यु भएको हो।
यस घटनाप्रति नेपालको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेको छ। मन्त्रालयले बिहीबार जारी गरेको सन्देशमा मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी हुने सबै प्रकारका आक्रमणहरूको स्पष्ट रूपमा भर्त्सना गरेको छ। आफ्नो सैद्धान्तिक अडानलाई पुनः पुष्टि गर्दै मन्त्रालयले भनेको छ, ‘नेपाल सधैँ संवाद, वार्ता र कूटनीतिक संलग्नतासहितका माध्यमबाट विवादहरूको शान्तिपूर्ण समाधान गर्न निरन्तर आह्वान गर्दछ।‘
पछिल्ला केही हप्तायता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल र ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गर्दै आएका छन्।
प्रतिक्रिया 4