+
+
Shares

बाल्यकालको स्वाद बन्यो व्यवसायको बाटो

कुनै समय कुस्तीको मैदानमा जितका लागि भिड्ने उनी अहिले मौरीसँगै नयाँ संघर्ष गरिरहेका छन् ।

केशब भट्ट केशब भट्ट
२०८३ कात्तिक ७ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरका नरेन्द्र खत्रीले १३ वर्षअघि ३० हजार रुपैयाँ लगानी गरेर पाँच घारबाट सुरु गरेको मौरीपालन अहिले करिब दुई सय घारमा पुर्‍याएका छन् ।
  • उनले वर्षमा करिब १० क्विन्टल मह उत्पादन गरी प्रतिकिलो एक हजारदेखि १६ सय रुपैयाँमा बिक्री गरेर सबै खर्च कटाउँदा १२ लाख रुपैयाँसम्म बचत हुने बताएका छन् ।
  • खत्रीले उत्पादन गरेको मह कञ्चनपुरदेखि भारत र दुबईसम्म पुगेको छ, र उनी मौरीपालनलाई आधुनिक उद्योगका रूपमा विस्तार गर्ने लक्ष्यमा छन् ।

७ कात्तिक, कञ्चनपुर । बिहानको घाम विस्तारै चर्किंदै थियो । भीमदत्त नगरपालिका–६ नरेन्द्रको घर छेउमा राखिएका मौरीका घारहरू टल्किदै थिए । घार वरिपरि मौरीको आउजाउ बाक्लो थियो । कोही फूलतिर उडिरहेका थिए, कोही घारभित्र पस्दै थिए । त्यही मौरीको चहलपहलबीच नरेन्द्र खत्री पनि व्यस्त थिए ।

५१ वर्षीय नरेन्द्रका लागि मौरी व्यवसाय मात्र नभई जीवनको एउटा हिस्सा बनेको छ । तर उनको जीवन मौरीबाट सुरु भएको भने होइन । उनको परिचय कुनै समय कुस्ती खेलाडीका रूपमा थियो ।

विसं २०४७ सालदेखि कुस्ती खेल्न थालेका नरेन्द्र राष्ट्रियस्तरका प्रतियोगितासम्म पुगे । खेलप्रतिको लगावले उनलाई लामो समयसम्म कुस्तीको मैदानमा राख्यो । तर समयसँगै उनको जीवनले अर्को बाटो समात्यो । त्यो बाटो थियो, मौरीपालन ।

मौरीसँगको उनको सम्बन्ध भने व्यवसाय सुरु गरेपछि बनेको होइन । यसको जरा उनको बाल्यकालमै थियो । सानैदेखि उनलाई मह असाध्यै मन पर्थ्यो । गाउँमा कतै मौरी देखे उनी त्यतैतिर पुगिहाल्थे । मौरीको घार खोज्ने र मह निकाल्ने उनको बाल्यकालको रुचि थियो ।

‘मह खानकै लागि पनि मौरी पाल्न मन लाग्थ्यो,’ नरेन्द्र मुस्कुराउँदै भन्छन्, ‘त्यो बेला व्यवसाय बन्छ भन्ने त सोचेकै थिइनँ ।’

बाल्यकालको त्यही स्वाद र रुचि अहिले उनको आम्दानीको आधार बनेको छ । करिब १३ वर्षअघि उनले ३० हजार रुपैयाँ लगानी गरेर पाँच घारबाट मौरीपालन सुरु गरे ।

सुरुवाती दिनमा न ठूलो लगानी थियो, न आधुनिकताको ज्ञान र साधन । थियो त केवल काम गर्ने इच्छा र आफूले थालेको कामप्रतिको विश्वास ।

मौरीका घार बोकेर उनी साइकलमै गाउँगाउँ पुग्थे । बेलौरी, बेलडाँडीदेखि कैलालीको मसुरियासम्म मौरी चराउन लैजान्थे । ‘यात्राका लागि साइकल थियो, मनमा विश्वास त थियो,’ उनी ती दिन सम्झन्छन् ।

बिस्तारै घार थपिँदै गए । मौरीको संख्या बढ्दै गयो । पाँच घारबाट सुरु भएको उनको व्यवसाय अहिले करिब दुई सय घारमा पुगेको छ ।

मौरी चराउन उनी तराईदेखि पहाडसम्म पुग्छन् । मौसम र फूल फुल्ने समयअनुसार मौरीका घार सार्दै उनी करिब चार सय किलोमिटरसम्मको यात्रा गर्छन् ।

उनले मेलिफेरा अर्थात् युरोपियन र सेरना अर्थात् एसियन जातका मौरी पालिरहेका छन् । घारमै तयार भएको मह निकालेर बिक्री गर्ने भएकाले त्यसलाई धेरै प्रशोधन गरिरहनु पर्दैन । यहीकारण उनको उत्पादनप्रति ग्राहकको आकर्षण पनि बढेको छ ।

अहिले उनी वर्षमा करिब १० क्विन्टल मह उत्पादन गर्छन् । प्रतिकिलो एक हजारदेखि १६ सय रुपैयाँसम्ममा मह बिक्री हुने गरेको उनी बताउँछन् । ‘सबै खर्च कटाएर वर्षमा १२ लाख रुपैयाँसम्म बचत हुन्छ,’ नरेन्द्र भन्छन् । मेरालागि यो कमाइ मात्र होइन, आत्मनिर्भरको बाटो बनेको छ ।’

बहिनी लक्ष्मी खत्री र छोरी कोमल खत्री ।

कुनै समय कुस्तीको मैदानमा प्रतिस्पर्धा गर्ने नरेन्द्र अहिले त्यही खेलसँग पनि जोडिएका छन् । उनी अहिले कुस्तीका राष्ट्रिय निर्णायक हुन् ।

उनको परिवार पनि कुस्तीबाट टाढा छैन । उनकी छोरी कोमल खत्री र बहिनी लक्ष्मी खत्री अन्तर्राष्ट्रियस्तरका कुस्ती खेलाडी हुन् ।

अहिले छोरी दक्षिण एसियाली खेलकुदकी पदक विजेता र बहिनी सुदूरपश्चिम महिला कुस्ती टोलीकी प्रशिक्षक छिन् । यसरी उनको जीवनमा कुस्ती र मौरी दुवै सँगसँगै छन् ।

खत्रीले उत्पादन गरेको मह दुबईसम्म

खत्रीले उत्पादन गरेको मह कञ्चनपुरमा मात्र सीमित छैन । नेपालका विभिन्न ठाउँ हुँदै भारत र संयुक्त अरब इमिरेट्स (दुबई)सम्म समेत पुगेको छ । सानो लगानीबाट सुरु गरेको व्यवसाय अहिले बजारसम्म पुगेपछि नरेन्द्रको सपना पनि फराकिलो भएको छ ।

अब उनको लक्ष्य मौरीपालनलाई अझ व्यवस्थित बनाउँदै आधुनिक उद्योग स्थापना गर्ने हो । ‘अब व्यवसायलाई आधुनिक स्थरबाट लौजाने योजना बनाएको छु । जसले गर्दा आम्दानी अझै दह्रो बनोस्,’ उनी बताउँछन् ।

बाल्यकालमा महको स्वाद खोज्दै मौरीको घारसम्म पुग्ने नरेन्द्र आज त्यही मौरीसँग आफ्नो भविष्य खोजिरहेका छन् । कुनै समय कुस्तीको मैदानमा जितका लागि भिड्ने उनी अहिले मौरीसँगै नयाँ संघर्ष गरिरहेका छन् । ‘पहिले मह खान मन लागेर मौरी खोज्थें,’ उनी भन्छन्, ‘अहिले यही मौरीले मेरो जीवन चलाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?