+
+
Shares

अर्घाखाँचीमा सराय नाच : तरबार र खुँडाको तालमा गुञ्जिन्छ ‘वाख्यै भाइ हो !’

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सराय अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको परम्परागत नाच हो। आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसीयालीमा सराय नाच्ने परम्परा छ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ कात्तिक ८ गते ९:०१

८ कात्तिक, अर्घाखाँची । हातमा तरवार र खुँडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो !’ भन्ने उत्साहपूर्ण आवाज। दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराय नाचको हो।

बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराय अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो। आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसीयालीमा यो नाच नाच्ने परम्परा रहेको छ।

अर्घाखाँचीका विभिन्न शक्ति पीठ तथा भगवती मन्दिरमा नाचिने सरायमा महिला तथा पुरुषले हातमा तरवार, खुँडा र अन्य परम्परागत हतियार लिएर पञ्चेबाजाको तालमा नाच्दै तिनको प्रदर्शन गर्छन्। देवीका प्रतीकका रूपमा मानिने आलमसमेत सहभागी गराइने यस नाचले धार्मिक आस्था र वीरताको परम्परालाई जीवन्त बनाएको छ।

अर्घा भगवती मन्दिर तथा अर्घा दरबारलाई सराय नाचको उद्गमस्थलका रूपमा लिने गरिन्छ। अर्घाको सराय नाच पञ्चाङ्ग पात्रोमा समेत समावेश भएको र यो नेपालकै प्रसिद्ध सांस्कृतिक नाचमध्ये एक रहेको अर्घा भगवती मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए।

तरवार, खुँडा र अन्य परम्परागत हतियारका साथै देवीका प्रतीक आलम लिएर पञ्चेबाजाको तालमा नाचिने सरायले धार्मिक आस्था र सांस्कृतिक गौरव प्रतिबिम्बित गर्ने सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका वडाध्यक्ष चुराबहादुर केसीले बताए।

पाणिनि बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीका अनुसार तरवार, खुँडा र अन्य हतियार प्रदर्शन गर्दै आलमसहित नाचिने यस परम्परामा देवी प्रसन्न हुने धार्मिक मान्यता छ।

बडादसैँका अवसरमा अर्घाखाँचीका विभिन्न स्थानमा निश्चित दिनमा सराय नाच्ने परम्परा छ। एकादशीका दिन सन्धिखर्क, द्वादशीका दिन शितगंगा नगरपालिकाको ठाडा र भूमिकास्थान नगरपालिकाको ढिकुरा तथा त्रयोदशीका दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट र भूमिकास्थान नगरपालिकाको ताराखसेमा सराय नाचिन्छ।

त्यसैगरी, चतुर्दशीका दिन मालारानी गाउँपालिकाको रागामारे र सन्धिखर्कको कुर तथा कोजाग्रत पूर्णिमाका दिन अर्घा भगवती मन्दिर र अर्घा दरबारमा सराय नाच्ने परम्परा छ।

दसैँमा विशेष रूपमा नाचिने सराय चैतेदसैँका अवसरमा पनि प्रदर्शन गरिन्छ। यसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अर्घाखाँचीको सांस्कृतिक सम्पदालाई निरन्तरता दिएको छ।

सराय नाच धार्मिक अनुष्ठान वा मनोरञ्जनमा मात्र सीमित छैन। यसले हिन्दू सांस्कृतिक परम्पराको संरक्षणसँगै विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको अर्घाखाँचीका सांसद हरिप्रसाद भुसालले बताए।

महिला तथा पुरुष मात्र नभई विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर उत्साहपूर्वक सहभागी हुने भएकाले सराय सामाजिक एकताको प्रतीकसमेत बनेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

आधुनिकताको प्रभावसँगै मौलिक कला, संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेका बेला अर्घाखाँचीको सराय नाचले पुर्खाबाट हस्तान्तरण भएको सांस्कृतिक विरासतलाई जीवन्त राखेको छ। यसको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके अर्घाखाँचीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने देखिन्छ।

सराय अर्घाखाँचीको नाच मात्र होइन, इतिहास, आस्था, वीरता, संस्कृति र सामाजिक सद्भावलाई एउटै लयमा जोड्ने मौलिक सम्पदा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?