News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फेस्टिभल सिड्नी २०२६ आगामी ७ नोभेम्बरमा डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजना हुने भएको छ ।
- एनआरएनए न्यु साउथ वेल्सले आयोजना गर्ने महोत्सव यस वर्ष नेपालको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा केन्द्रित रहने आयोजकले जनाएको छ ।
- महोत्सवमा प्रकाश सपूत, रचना रिमाल र सञ्जीव सिंहको प्रस्तुति रहनेछ, र यो सिड्नीमा ११औँ शृङ्खला हो ।
८ कात्तिक, सिड्नी । अस्ट्रेलियामा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्दै नेपालको पर्यटन अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने उद्देश्यले आगामी नोभेम्बर ७ मा नेपाल फेस्टिभल सिड्नी २०२६ आयोजना हुने भएको छ।
यस वर्षको महोत्सवले नेपालको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको आयोजकले जनाएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्य परिषद्ले आयोजना गर्न लागेको यो महोत्सव सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा हुनेछ।
एनआरएनए न्यु साउथ वेल्स राज्य परिषद्की संयोजक उषा बरिया पोखरेलले अनलाइनखबरसँग कुरा गर्दै यस वर्षको फेस्टिभल पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा केन्द्रित रहेको बताइन्।
महोत्सवलाई नेपाली संस्कृति प्रदर्शन गर्ने कार्यक्रमका रूपमा मात्र नभई नेपालको पर्यटन, प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदालाई अस्ट्रेलियाली समाजमाझ चिनाउने अवसरका रूपमा उपयोग गर्ने लक्ष्य राखिएको उनले प्रस्ट पारिन्।
महोत्सवमा नेपालबाट आउने लोकप्रिय कलाकार प्रकाश सपूत, रचना रिमाल र सञ्जीव सिंहको विशेष सांगीतिक प्रस्तुति रहनेछ। नेपाली गीतसंगीत, नृत्य, परम्परागत भेषभूषा र विविध नेपाली परिकारले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा अस्ट्रेलियाका राजनीतिक नेतृत्व, कूटनीतिक प्रतिनिधि, सामुदायिक अगुवा, व्यवसायी तथा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहनेछ।
नेपाल फेस्टिभलले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई एउटै ठाउँमा जोड्ने मात्र नभई नेपाली मूलका बालबालिका तथा युवालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग नजिक बनाउने अवसर प्रदान गर्दै आएको उनले बताइन् ।
अस्ट्रेलियामा जन्मिएका र हुर्किएका नयाँ पुस्ताका लागि आफ्ना पुर्खाको देश चिन्ने र नेपाली पहिचानप्रति अपनत्व बढाउने माध्यमका रूपमा पनि यसलाई हेरिएको आयोजकको भनाइ छ ।
विदेशी समुदायमाझ नेपालको हिमाली भूगोल, ऐतिहासिक सम्पदा र जातीय विविधता चिनाउँदै पर्यटकको रुचि बढाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। सन् २००६ मा सिड्नीबाट सुरु भएको नेपाल फेस्टिभल प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ।
समयसँगै अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीमा विस्तार भएको यो महोत्सवको सिड्नी संस्करण यसपटक ११औँ शृङ्खला हो।
प्रतिक्रिया 4