+
+
Shares

हापुरेमा आगलागी, पश्चिम दाङ दमकलविहीन हुँदा ठूलो क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते ८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको बबई गाउँपालिका–५ हापुरे बजारस्थित गौरी शृंगार पसलमा बुधबार साँझ लागेको आगलागीले पसल पूर्ण रूपमा नष्ट गरेको छ।
  • विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको उक्त घटनामा दुई घण्टाभन्दा बढीपछि पनि दमकल नपुग्दा सबै सामान जलेर नष्ट भएका छन्।
  • तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चार पालिकामा सञ्चालनयोग्य दमकल नहुँदा आगलागीमा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

१२ कात्तिक, दाङ । दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक कस्मेटिक पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पूर्ण रूपमा नष्ट भएको छ ।

स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार बेलुकी ८ बजेतिर आगलागी भएको थियो । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ ।

आगलागी सुरु भएको दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि दमकल पुग्न नसक्दा पसलका सबै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

दमकलको अभावमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए । आगलागी भएको स्थानमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली सहितको टोली खटिएको थियो । तर ठूलो आगोको अगाडि उनीहरुको प्रयास सफल हुन सकेन ।

पश्चिम दाङका चार पालिका दमकलविहीन

तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चारवटा पालिकामा हाल एउटा पनि दमकल सञ्चालनयोग्य नहुँदा आगलागी जस्ता घटनामा ठूलो क्षति व्यहोर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

यसअघि तुलसीपुर उपमहानगरपालिकासँग रहेको एउटा दमकलमा २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । हालसम्म पनि तुलसीपुर उपमहानगरपालिकाले नयाँ दमकल खरिद गर्न सकेको छैन ।

त्यसैले आगलागी भएमा हापुरेभन्दा झन्डै ४६ किलोमिटर र तुलसीपुरबाट करिब २० किलोमिटर टाढा पर्ने घोराहीबाट दमकल बोलाउनुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?