+
+
Shares

‘काकु’ को निर्देशन रहेको फिल्म ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘चिरञ्जीवी भवः’को बिहीबारदेखि पोस्ट प्रोडक्सनअन्तर्गत डबिङ सुरु भएको छ।

काठमाडौं । ब्लकबस्टर फिल्म ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनमा निर्माण भएको फिल्म ‘चिरञ्जीवी भवः’ को डबिङ सुरु भएको छ । बिहीबारदेखि फिल्मको पोस्ट प्रोडक्सनअन्तर्गत डबिङको काम सुरु गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै डबिङको सुरुवात गरेका छन् ।

निर्देशक दीपकप्रसाद आचार्यले फिल्म निर्माणका क्रममा गुणस्तरमा कुनै सम्झौता नगरिएको र पोस्ट प्रोडक्सनको काममा पनि उत्तिकै मेहनत गरिने बताएका छन् । ‘हामीले पोस्टको काम सुरु गरेसँगै स्वरकन गर्न थालेका छौँ’ निर्देशक आचार्यले भने, ‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ ।’

निर्देशक आचार्यका लागि ‘चिरञ्जीवी भवः’ विशेष फिल्मका रूपमा हेरिएको छ । गत वर्ष प्रदर्शनमा आएको ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । ‘परान’ को सफलतापछि आचार्यले निर्देशन गरेको ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ ।

पहिलो फिल्मबाट स्थापित भएको निर्देशकीय छविलाई उनले दोस्रो फिल्ममा कसरी अघि बढाउँछन् भन्ने विषय प्रतीक्षाको विषय बनेको छ । फिल्ममा हरिवंश आचार्यसँगै अभिनेत्री करिस्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री, मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । प्रशंसा यसै फिल्ममार्फत डेब्यु गर्दै छिन् ।

यस्तै फिल्ममा कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण, सुरेश थापालगायत कलाकारको पनि अभिनय रहेको छ ।

बाल कलाकारमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतम छन् ।

फिल्ममा कुमार कट्टेल ‘जिग्री’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन् । कुमार कट्टेलको कथा रहेको फिल्मको पटकथा तथा संवादमा सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् । फिल्मको गीतमा निर्देशक दीपकप्रसाद आचार्य स्वयंसँगै रञ्जित गजमेर र हर्क साउदको रहने निर्माणपक्षले जनाएको छ ।

फिल्मको शिवराम श्रेष्ठले छायांकन गरेका छन् भने गोपाल रायमाझी सिनेम्याटोग्राफर तथा ग्याफर, सम्पादक मित्र डी. गुरुङ रहेका छन् । फिल्ममा बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलले संगीत तयार पारेका छन् । त्यस्तै, नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाले गरेका छन् ।

फिल्ममा रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा छन् भने सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा छन् ।

फिल्मको छायांकन धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । आगामी २०८३ माघ १ गते देखि  फिल्म प्रदर्शनमा आउने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?