+
+
Shares

हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धिको विषय ‘कोप-३१’ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव

कृषिमन्त्री गीता चौधरीले नेपाल र भुटानका तर्फबाट सम्मेलनको मस्यौदा कार्यविधिको नियम १२ अन्तर्गत उक्त प्रस्ताव पेस गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र भुटानले कोप-३१ मा ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको छुट्टै एजेन्डा समावेश गर्न संयुक्त प्रस्ताव अघि सारेका छन्।
  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नियम १२ अन्तर्गत प्रस्ताव पेस गर्दै हिमाली क्षेत्रमा तापक्रम वृद्धिबाट हिमनदी पग्लिने र पानीको असुरक्षा बढ्ने जोखिम उल्लेख गरिन्।
  • प्रस्तावमा सन् २०२६ को भोटेकोशी बाढीबाट २ अर्ब ७० करोड डलर क्षति भएको र पुनर्निर्माणका लागि ४ अर्ब ७० करोड डलर आवश्यक पर्ने अनुमान गरिएको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन् ।

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) मा ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको छुट्टै एजेन्डा समावेश गर्न दुई देशले प्रस्ताव गरेका हुन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल र भुटानका तर्फबाट सम्मेलनको मस्यौदा कार्यविधिको नियम १२ अन्तर्गत उक्त प्रस्ताव पेस गरेकी हुन् ।

हिमाली क्षेत्रमा तापक्रम वृद्धिको गति तीव्र हुँदै जाँदा हिमनदी पग्लिने, पानीको असुरक्षा बढ्ने र चरम मौसमी घटनाका कारण हिमाली पारिस्थितिक प्रणाली तथा त्यहाँका समुदायमा अपूरणीय क्षति पुग्ने जोखिम बढेको प्रस्तावमा उल्लेख छ ।

हिमाली क्षेत्रबाट बग्ने नदीहरूले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने २ अर्बभन्दा बढी मानिसलाई पानी, खाद्यान्न र ऊर्जा उपलब्ध गराउँदै आएका छन् । त्यस्तै विश्वका जैविक विविधताका महत्त्वपूर्ण क्षेत्रमध्ये करिब आधा हिमाली क्षेत्रमा छन् ।

नेपाल र भुटानले कोप-३१ मा हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि र तापक्रम वृद्धिको लक्ष्य नाघ्ने अवस्था सम्बन्धी वैज्ञानिक अध्ययन अघि बढाउन प्रस्ताव गरेका छन् ।

त्यसैगरी हिमाल र जलवायु परिवर्तन सम्बन्धी वार्षिक उच्चस्तरीय संवाद आयोजना गर्ने, संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गत हिमाली पारिस्थितिक प्रणाली सम्बन्धी कार्ययोजना निर्माण प्रक्रिया सुरु गर्ने तथा जलवायु अनुकूलन, जलवायु वित्त र हानि नोक्सानी सम्बन्धी विषयमा हिमाली क्षेत्रका प्राथमिकता समावेश गर्न प्रस्ताव गरिएको छ ।

प्रस्तावमा सन् २०२६ मा भएको भोटेकोशी बाढीबाट करिब २ अर्ब ७० करोड अमेरिकी डलर बराबर क्षति भएको र पुनर्स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोड डलर आवश्यक पर्ने अनुमान गरिएको उल्लेख छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि आवश्यक उक्त रकम नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबर हो ।

नेपाल र भुटानले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको धारा ४.८ लाई आधार बनाएर प्रस्ताव अघि बढाएका हुन् ।

यसका साथै कोप-२८ को विश्वव्यापी समीक्षा, कोप-३० मा हिमाली क्षेत्रलाई औपचारिक एजेन्डाका रूपमा समावेश गर्ने निर्णय, २०२६ जुन १२ मा एसबी-६४ अन्तर्गत आयोजित हिमाल र जलवायु परिवर्तन सम्बन्धी संवाद तथा सगरमाथा आह्वानलाई पनि प्रस्तावको आधार बनाइएको छ ।

प्रस्तावमा हिमाली क्षेत्रका विषयहरू संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको मुख्य निर्णय प्रक्रियामा पर्याप्त रूपमा समावेश हुन नसकेको उल्लेख गरिएको छ ।

हिमाली क्षेत्रलाई छुट्टै एजेन्डाका रूपमा समावेश गर्दा यस क्षेत्रका समस्या नियमित र संस्थागत रूपमा सम्बोधन गर्न सकिने अपेक्षा गरिएको छ ।

मन्त्री चौधरीले हिमालले कुनै देशको सीमा नचिन्ने र हिमाली क्षेत्रमा उत्पन्न हुने जोखिम पनि सीमाभित्र सीमित नरहने बताएकी छिन् । उनले हिमाली समुदायले जलवायु परिवर्तनको पहिलो र सबैभन्दा ठूलो असर बेहोर्नुपरेको उल्लेख गर्दै त्यसको प्रभाव तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने अर्बौं मानिससम्म पुग्ने बताइन् ।

कृषि मन्त्रालयका सहसचिव महेश्वर ढकालले मेलम्चीदेखि भोटेकोशीसम्मका घटनाले एउटा विपद्ले वर्षौंको विकास नष्ट गर्न सक्ने अवस्था देखाएको बताएका छन् ।

जलवायु परिवर्तनमा न्यून योगदान गर्ने समुदायले नै आफ्नो क्षमताभन्दा बाहिरको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उनले क्षति तथा नोक्सानी सम्बोधनका लागि न्यायोचित जलवायु कार्य र वित्तीय सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?