१५ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख सैन्य कमाण्डरसँग उच्चस्तरीय बैठक गरेका छन्।
युद्ध सुरु भएयता घाइते भएका सर्वोच्च नेता खामेनेई र इरानी सशस्त्र बलका शीर्ष कमाण्डरबीच सार्वजनिक भएको यो पहिलो प्रत्यक्ष बैठक हो। बैठकमा उनले अमेरिका र इजरायलबाट हुन सक्ने कुनै पनि नयाँ आक्रमणको तत्काल र प्रभावकारी जवाफ दिन सेनालाई निर्देशन दिएका छन्। यस्तो जवाफ दिन कुनै भौगोलिक सीमा नहुने उनको भनाइ छ।
नयाँ निशाना तय गर्न र युद्ध अन्त्यको निर्णय आफैं गर्ने इरानको चेतावनी

इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च नेताको कार्यालयले जारी गरेको वक्तव्यअनुसार खामेनेईले शत्रुपक्षमाथि अधिकतम प्रतिरोध कायम गर्न सैन्य टोलीलाई निर्देशन दिएका छन्।
उनले कमाण्डरहरूलाई भनेका छन्, ‘यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी हमला गरे भने त्यस्ता कारबाही कहिले र कुन सर्तमा अन्त्य हुन्छन् भन्ने निर्णय इरानी सशस्त्र बल र जनताले नै गर्नेछन्।’
अमेरिका र इजरायलका सबै भौतिक तथा अभौतिक सम्पत्तिलाई इरानी सेनाको पहुँचभित्र ल्याउन सम्भावित निशानाको सूची (टार्गेट बैंक) तत्काल अद्यावधिक गर्न पनि खामेनेईले निर्देशन दिएका छन्।
बैठकमा सशस्त्र बलका चिफ अफ स्टाफ जनरल अली अब्दुल्लाही, थलसेनाध्यक्ष मेजर जनरल अमिर हातामी र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमाण्डर मेजर जनरल अहमद वाहिदी सहभागी थिए।
कमाण्डरहरूले फारसको खाडी, हर्मुज जलमार्ग, ओमानको खाडी र सीमा क्षेत्रमा इरानी सेनाले अपनाएको उच्च सतर्कताबारे खामेनेईलाई जानकारी गराएका थिए।
दोहामा १२ घण्टाभन्दा लामो कूटनीतिक वार्ता

कतारी मध्यस्थकर्ताहरूले तेहरानमा १२ घण्टाभन्दा बढी समय वार्ता गरेपछि त्यसलाई दोहामा निरन्तरता दिएका थिए। त्यसलगत्तै खामेनेई र सैन्य कमाण्डरबीचको बैठकबारे सार्वजनिक भएको हो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवलाई पठाएको पत्रमा परमाणु मुद्दामा वार्ता गर्न अमेरिका तयार रहेको सन्देश दिएका थिए।
इरानका विदेशमन्त्री अब्बास अरागचीले अल जजिरासँग कुरा गर्दै अमेरिकाले वार्ताका लागि गरेको कूटनीतिक पहललाई सकारात्मक कदम भनेका छन्।
वार्ताअघि इरानका कडा सर्त
विदेशमन्त्री अरागचीले अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता वा कुनै सम्झौता हुनुअघि इरानका केही सर्त पूरा हुनुपर्ने बताएका छन्।
उनका अनुसार अमेरिकाले इरानमाथि लगाएका सबै आर्थिक तथा नौसैनिक नाकाबन्दी तत्काल हटाउनुपर्छ। मध्यपूर्वमा बढाएको सैन्य तैनाथी र उपस्थिति पनि घटाउनुपर्छ।
त्यसैगरी, ओमानसँगको सहमतिमा तय गरिएको हर्मुज जलमार्गसम्बन्धी व्यवस्थालाई अमेरिकाले आधिकारिक मान्यता दिनुपर्ने इरानको अडान छ।
अरागचीका अनुसार इरानका सर्तअनुसार हर्मुज जलमार्ग पुनः खोलिएमा परमाणु मुद्दामा दुई देशबीच प्रत्यक्ष वार्ताको वातावरण बन्न सक्छ।
अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा एकातिर कूटनीतिक सम्झौताको प्रयास भइरहेको छ भने अर्कोतिर दुवै पक्षले एकअर्कालाई चेतावनी दिइरहेका छन्। यसले मध्यपूर्वको अवस्थालाई थप तनावपूर्ण बनाएको छ।
प्रतिक्रिया 4