१६ कात्तिक, सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् ।
सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार रुपैयाँ लगानीमा च्याउखेती सुरु गरेका थिए । विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए ।
च्याउखेती सुरु गरेको वर्षमा घाटा व्यहोर्नुपरे पनि पछिल्लो समय आम्दानी बढ्दै गएको गुप्ताले बताए । अहिले करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गर्दै आएका उनको फार्ममा दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ । वार्षिक रूपमा ३० टन बढी च्याउ उत्पादन गरी बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।
उत्पादित च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, बराहक्षेत्र, चतरा र आसपासका स्थानीय बजारमा बिक्री हुने गरेको छ । च्याउ बिक्रीका लागि बजारको अभाव नरहेको उनको भनाइ छ । हाल च्याउ प्रतिकिलो १८० देखि १९० रुपैयाँसम्म बिक्री हुने गरेको छ भने फार्मबाट खरिद गर्ने व्यापारीले भने केही सस्तोमा लैजाने गरेका छन् ।
गुप्ताले भने, ‘गत वर्षको तुलनामा यस वर्ष च्याउको मूल्य घटेको छ ।’ गर्मी मौसमको तुलनामा जाडोयामका मङ्सिर, पुस र माघ महिनामा च्याउको मूल्य राम्रो हुने भएकाले प्रतिकिलो २२० रुपैयाँसम्म हुने गरेको उनले जानकारी दिए ।
‘विदेशमा धेरै मिहिनेत गर्दा पनि कमाइले खर्च धान्न कठिन हुन्थ्यो’, उनले भने । स्वदेशमै व्यवसाय गर्दा आफूले आम्दानी गर्नुका साथै अरूलाई पनि रोजगारी दिन सकेकाले सन्तुष्टि मिलेको उनी बताउँछन् ।
अहिले उनको फार्ममा छ जना कामदार कार्यरत छन् भने परिवारका सदस्यले पनि च्याउखेतीमा सहयोग गर्दै आएका छन् । च्याउ टिप्ने, व्यवस्थापन गर्ने र बजारसम्म पुर्याउने काम परिवारका सदस्य मिलेर गर्ने गरेको उनले बताए ।
‘च्याउखेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन’, गुप्ताले भने, ‘थोरै क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’
चैतमा लगाइएको च्याउ वैशाखको अन्तिम सातादेखि टिप्न योग्य हुन्छ । वर्षमा करिब १० महिनासम्म उत्पादन लिन सकिने उनले जानकारी दिए ।
सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या भोग्नुपरे पनि अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको गुप्ताले बताए ।
सुरुका दिनमा च्याउखेतीसम्बन्धी जानकारी कम भए पनि अहिले अनुभव र सीप बढ्दै जाँदा व्यवसाय सञ्चालन गर्न सहज हुनुका साथै आम्दानी पनि बढेको उनको भनाइ छ ।
खेतीका लागि विशेषगरी पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए । खेतीमा कुनै पनि विषादी प्रयोग नगरी च्याउ उत्पादन गरिने भएकाले अग्र्यानिक च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।
गुप्ताले २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख र बराहक्षेत्र नगरपालिकाबाट ९० हजार रुपैयाँ अनुदान प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी, नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्याक्टर, सफारी, टनेललगायत खेतीका लागि आवश्यक सामग्री प्राप्त भएपछि खेती गर्न थप सहज भएको उनले बताए ।
‘थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ’, गुप्ताले भने, ‘युवा वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने छैन गाउँमै थोरै लगानीमा व्यवसाय सञ्चालन गरेर पनि जीवन चलाउन सकिन्छ ।’
प्रतिक्रिया 4