+

कर्णाली याक्सका जिशन अलाम काठमाडौं आइपुगे, काठमाण्डु गोर्खाजविरुद्ध खेल्ने

२०८३ कात्तिक  १६ गते ७:५६ २०८३ कात्तिक १६ गते ७:५६

१६ कात्तिक, काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । उनी काठमाडौं आइपुगेका छन् ।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई बाँकी खेलका लागि अनुबन्ध गरिएको जानकारी दिए । उनले जिशनको आगमनसँगै टोलीको शीर्षक्रम थप बलियो हुने विश्वास व्यक्त गरे । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम अझै बलियो हुने विश्वास लिएका छौं’, अध्यक्ष घिमिरेले भने ।

टोलीमा यसअघि नै दुई बंगलादेशी खेलाडी रहेकाले जिशनलाई पनि नेपालको वातावरणमा घुलमिल भएर खेल्न सहज हुने अध्यक्ष घिमिरेको भनाइ छ ।

जिशन कर्णाली याक्समा अनुबन्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसकेका छन् ।

२१ वर्षीय ब्याटिङ अलराउन्डर जिशनले बंगलादेशको यू–१९ टोली हुँदै ए टोलीबाट समेत खेलिसकेका छन् । उनले बंगलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट पनि खेलेका छन् ।

जिशनले लिस्ट ए क्रिकेटमा ४९ खेल खेल्दै १ हजार २९५ रन बनाएका छन् । त्यस्तै, २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ५७१ रन बनाएका छन् ।

अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि जिशनले सानदार प्रदर्शन गरेका थिए । बंगलादेशले ९ विकेटको जित निकालेको उक्त खेलमा उनले अविजित ५२ रन बनाएका थिए । उनले २९ बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका थिए ।

कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलमा जिशन पनि उपलब्ध हुनेछन् ।

प्रतियोगिताका पहिलो दुई खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुवात गरिसकेको छ । उसले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो ।

कर्णाली याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय