१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरुचेस्थित हेलिप्याडमा मंगलबार बिहान दुईवटा हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा एक जना भारतीय नागरिक रहेका छन् ।
मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार फिस्टेल हेलिकप्टरमा चालक दलसहित तीन जना सवार रहेका थिए ।
मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडु रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला लगिएको छ ।
घाइते हुनेमा फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी हेलिकप्टरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्याण्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन् ।
घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
प्रहरीका अनुसार डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया 4