+
+
Shares

बलिउडमा आक्रमण र फिरौतीको त्रास, अर्को कलाकार पनि परे निशानामा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता तुषार कपूरलाई आफूलाई लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने व्यक्तिले पाँच करोड रुपैयाँ फिरौती मागेर धम्की दिएको भन्दै उनले मुम्बई प्रहरीलाई जानकारी गराएका छन्।
  • मुम्बई प्रहरीले फोन गर्ने व्यक्तिको आवाज हैरी बक्सरको आधिकारिक नमुनासँग नमिलेको बताउँदै एन्टी एक्सटोर्सन सेल र क्राइम ब्रान्चमार्फत अनुसन्धान गरिरहेको छ।
  • टाइगर श्रोफमाथि गोली प्रहारपछि अमिताभ बच्चन र शाहरुख खानले पनि कडा सुरक्षा अपनाएका छन्।

बलिउडमा कलाकारमाथि आक्रमण र फिरौतीको त्रास बढ्दै गएको छ । उनीहरु घरबाट बाहिरिदा पनि सोच्न पर्ने दिन आएको छ ।

किनकी, अभिनेता टाइगर श्रोफको गाडीमा गोली प्रहार भएको घटना सेलाउन नपाउँदै अर्का अभिनेता पनि धम्कीको निशानामा परेका छन् ।

उनी हुन्, अभिनेता तुषार कपूर ।

भारतीय सञ्चारमाध्यमका अनुसार तुषारलाई आफूलाई लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने व्यक्तिले फोन गरेर पाँच करोड रुपैयाँ फिरौती मागेको छ ।

धम्कीपूर्ण फोन आएपछि तुषारले मुम्बई प्रहरीलाई जानकारी गराएका छन् ।

फोन गर्ने व्यक्तिले आफूलाई लरेन्स बिश्नोई गिरोहका सदस्य हैरी बक्सरका रूपमा चिनाएका थिए । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा फोनको आवाज हैरी बक्सरको आधिकारिक अडियो नमुनासँग मेल नखाएको बताइएको छ ।

त्यसैले, गिरोहको नाम प्रयोग गरेर डर पैदा गर्ने प्रयास भएको हुन सक्ने प्रहरीको आशंका छ । मुम्बई प्रहरीको एन्टी एक्सटोर्सन सेल र क्राइम ब्रान्चले घटनाको अनुसन्धान गरिरहेका छन् ।

साथै, फोन गर्ने व्यक्तिको पहिचान र धम्कीको स्रोत पत्ता लगाउने प्रयास भइरहेको छ ।

यस अघि टाइगर थिए, निशानामा

केही साताअघि मात्रै अभिनेता टाइगर  श्राफको गाडीमा गोली प्रहार भएको थियो ।

अक्टोबर १८ मा मुम्बईको जुहुस्थित फुटबल मैदानबाट बाहिरिने क्रममा टाइगरको गाडीलाई लक्षित गरी मोटरसाइकलमा आएका आक्रमणकारीले गोली चलाएका थिए । घटनामा टाइगर सकुशल रहे पनि उनका चालक र एक सर्वसाधारण घाइते भएका थिए ।

घटनापछि लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको थियो । तर, प्रहरीले उक्त दाबीको आधिकारिकता पुष्टि गरिसकेको छैन ।

प्रहरी अनुसन्धानका क्रममा आक्रमणको सम्भावित उद्देश्य र निशानाबारे विभिन्न विवरण सार्वजनिक भएका छन् । केही सञ्चारमाध्यमका अनुसार आक्रमणकारीको प्रारम्भिक निशाना अभिनेता सलमान खान हुन सक्थे ।

तर, उनको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टमा कडा सुरक्षा व्यवस्था देखेपछि टाइगरलाई निशाना बनाइएको हुन सक्ने आशंका गरिएको छ ।

टाइगर नियमित रूपमा जुहुको फुटबल मैदानमा जाने गरेको र त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नहुने अवस्थालाई आक्रमणकारीले उपयोग गर्न खोजेको प्रहरीको आशंका रहेको बताइन्छ ।

टाइगरले सन् २०२२ मा फिल्म ‘हिरोपन्ती २’ को प्रचारका क्रममा सलमानको प्रशंसा गर्दै आफूलाई उनको अगाडि ‘बिरालो’ जस्तो भएको बताएका थिए ।

उनले सलमानलाई बलिउडको ‘एक मात्र टाइगर’ भनेका थिए । प्रहरीसँगको बयानमा एक आरोपितले यही अभिव्यक्तिका कारण टाइगरलाई निशाना बनाइएको हुनसक्ने बताइएकोे थियो ।

यद्यपि, यस दाबीको आधिकारिकता र आक्रमणको वास्तविक उद्देश्यबारे अनुसन्धान भइरहेको छ ।

टाइगरमाथि आक्रमण भएको घटनाले सलमान खानको सुरक्षालाई पनि चर्चामा ल्याएको थियो । यसअघि नै लरेन्स बिश्नोई गिरोहबाट पटक–पटक धम्की पाउँदै आएका सलमानको सुरक्षामा विशेष सतर्कता अपनाइएको छ ।

सन् १९९८ मा राजस्थानमा फिल्म ‘हम साथ साथ हैं’ को छायांकनका क्रममा कालो हरिणको शिकार गरेको आरोप सलमानमाथि लागेको थियो । बिश्नोई समुदायमा कालो हरिणलाई पवित्र मानिन्छ ।

यही प्रकरणलाई लिएर गिरोहले सलमानसँग माफी माग्नुपर्ने भन्दै धम्की दिँदै आएको बताइन्छ ।

ट्राइगर श्राफ अघि सलमान खानमाथि पनि आक्रमण भैसकेको छ  । गत वर्ष  मात्रै सलमानको ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली प्रहार भएको थियो ।

त्यसपछि उनको घरको बाल्कोनीमा बुलेटप्रुफ सिसा जडान गरिएको थियो । उनले सुरक्षाका लागि बुलेटप्रुफ गाडीसमेत आयात गरेको समाचार सार्वजनिक भएको थियो ।

बलिउडमा सुरक्षा सतर्कता बढ्दै

एकपछि अर्को कलाकारलाई धम्की आएको र आक्रमणका घटना सार्वजनिक हुन थालेपछि बलिउडमा सुरक्षा सतर्कता बढाइएको छ ।

चर्चित कलाकारका घर, सार्वजनिक उपस्थिति र प्रशंसकसँगको भेटघाटमा समेत सुरक्षालाई प्राथमिकता दिन थालिएको देखिन्छ । यस्तै केही नजारा अभिनेता अमिताभ बच्चनको घरबाहिर देखियो ।

अभिनेता अमिताभ बच्चनको जुहुस्थित घरबाहिर हरेक आइतबार प्रशंसकको भीड लाग्ने गर्छ । वर्षौंदेखि उनी घरबाहिर आएर प्रशंसकलाई हात हल्लाउँदै अभिवादन गर्दै आएका छन् ।

तर, नोभेम्बर १ मा उनको यो परम्परागत भेटघाट केही फरक देखियो ।

अमिताभ प्रशंसकलाई हात हल्लाइरहेका थिए, तर उनी पारदर्शी बुलेटप्रुफ घेराभित्र थिए ।

छोरा अभिषेक बच्चन पनि नजिकै रहेर वरपरको अवस्थालाई निगरानी गरिरहेका थिए । अमिताभको घरमा बम प्रहार गर्ने धम्की आएको खबरपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो ।

अर्का अभिनेता शाहरुख खानले पनि यसपटक प्रशंसकलाई अभिवादन गर्ने स्थान परिवर्तन गरेका छन् । सोमबार जन्मदिनको दिन उनी पहिलेभन्दा केही टाढा रहेर प्रशंसकलाई हात हल्लाउँदै गरेको देखिएका छन् ।

कुनै समय कलाकारको एक झलक पाउन घन्टौं प्रतीक्षा गर्ने प्रशंसकलाई कलाकारले बाल्कोनीबाट हात हल्लाएर अभिवादन गर्थे ।

तर, अहिले त्यही भेटघाटमा पनि सुरक्षाको घेरा थपिन थालेको छ । कलाकारको लोकप्रियता र प्रशंसकको माया उस्तै भए पनि उनीहरूबीचको दूरी बढ्दै गएको देखिन्छ ।

अब बलिउडका कलाकारले घरबाट बाहिर निस्कँदा पनि आफ्नो सुरक्षाबारे सोच्नुपर्ने अवस्था आएको छ । एकपछि अर्को कलाकार धम्की र आक्रमणको निशानामा पर्न थालेपछि अब कसको पालो आउने हो भन्ने त्राससमेत बढ्न थालेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?