१७ कात्तिक, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।
मंगलबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आदिवासी जनजाति आयोगको सातौं वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सबै जातजाति र समुदायको समान र एकिकृत विकासबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने बताएका हुन् ।
उनले सबै जातजातिको भाषा, संस्कृति, भेषभुषा, संस्कार र रहनसहन मुलुकको सम्पत्ति भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।
कार्यक्रममा संविधानको धारा २९४ को उपदफा ३ बमोजिम आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजाति आयोगका सातौं प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा आयोगका अध्यक्ष थापा मगरले आदिवासी जनजाति आयोगले दिएको २० बुँदे सिफारिशलाई कार्यान्वयन गर्न माग गरे ।
प्रतिक्रिया 4