अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक परिणाम र रुझानहरूमा कङ्ग्रेसका दुवै सदन (प्रतिनिधि सभा र सिनेट)मा डेमोक्रयाटिक पार्टीले बहुमत हासिल गर्ने सम्भावना देखिएको छ ।
बहुमतको संकेतपछि पूर्वराष्ट्रपति बाराक ओबामाले ‘एक्स’मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् ।
पार्टीका लागि देशव्यापी रूपमा सक्रिय चुनावी प्रचारप्रसार गरेका ओबामाले यो सम्भावित नतिजालाई अमेरिकी जनताले विभाजनकारी राजनीतिविरुद्ध दिएको स्पष्ट जनादेशका रूपमा व्याख्या गरेका छन् ।
ओबामाले के भने ?
पूर्वराष्ट्रपति ओबामाले अमेरिकी जनताले राजनीतिमा परिवर्तन र स्पष्टता चाहेको उल्लेख गरेका छन् ।
‘आज राति अमेरिकी जनताले एउटा स्पष्ट सन्देश दिएका छन् । उनीहरू मानिसहरूलाई विभाजित गर्ने भन्दा पनि एकजुट बनाउने राजनीति चाहन्छन्,’ ओबामाले अगाडि भनेका छन्, ‘उनीहरू आफ्ना चुनौतीहरूको ठोस समाधान दिने नेता चाहन्छन् ।’
यो नतिजा देशका हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट उम्मेदवारहरूका कारण सम्भव भएको ओबामाको भनाइ छ । पहिले जितको सम्भावना एकदमै कम मानिएका कठिन क्षेत्रहरूमा पनि फरक पृष्ठभूमि र विविध राजनीतिक विचार बोकेका उम्मेदवारहरूले साझा मूल्य, जनसेवाप्रतिको विश्वास र जनतालाई प्राथमिकता दिने प्रतिबद्धताका साथ सफलता हासिल गरेको उनले उल्लेख गरेका छन् ।
निर्वाचन प्रक्रियालाई सहज रूपमा सम्पन्न गर्न मद्दत गर्ने दुवै पार्टीका हजारौँ निर्वाचन अधिकारीहरू र स्वयंसेवकहरूको प्रशंसा गर्दै ओबामाले उनीहरूले लोकतन्त्रको सबैभन्दा जरूरी कामलाई जिम्मेवारीका साथ पूरा गरेको बताएका छन् ।
ट्रम्प प्रशासनसँग अझै दुई वर्षको समय बाँकी रहेको सन्दर्भ जोड्दै ओबामाले आगामी दिनमा पूर्ण मेहनतका साथ जुट्नुपर्नेमा जोड दिएका छन् । अधिकार भएका ठाउँमा सकारात्मक परिवर्तन ल्याउनु, अगाडि हुने सम्भावित क्षति रोक्नु र भविष्यका लागि बलियो जग तयार पार्नु नै अबको मुख्य जिम्मेवारी रहेको उनले स्पष्ट पारेका छन् ।
ट्रम्पद्वारा हार स्वीकार
यसैबीच, सबै निर्वाचन परिणाम बाहिरिनुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजा जे–जस्तो आए पनि त्यसलाई सहज रूपमा स्वीकार गर्ने बताएका छन् ।
कङ्ग्रेसका दुवै सदनमा डेमोक्रयाटिक पार्टीको बहुमत सुनिश्चित भएमा ट्रम्पको बाँकी दुई वर्षको कार्यकालमा ह्वाइट हाउसका निर्णय तथा नीतिहरूमाथि कडा विधायिकी नियन्त्रण र सन्तुलन कायम हुने देखिएको छ ।
प्रतिक्रिया 4