+
+
Shares

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए ।

रासस रासस
२०८३ कात्तिक १८ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तरी गोरखाको मनास्लु क्षेत्रमा चुमनुब्री–५ क्य्राक नजिकै मङ्गलबार बिहानदेखि निरन्तर सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए।
  • क्य्राकबाट सेराङ गुम्बा जाने बाटोको बुम्राङ क्षेत्रमा करिब ३०० मिटर लामो पहिरो झर्दा गुम्बामा रहेका करिब ४०० जनालाई रासन र सामग्री पुर्‍याउन समस्या भएको छ।
  • गोरखाको हिमाली भेगतिर सुक्खा पहिरो र हिमपहिरो धमाधम झर्न थालेपछि स्थानीयबासी चिन्तित भएका छन्।

१८ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ ।

चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिए।

“क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुक्खा पहिरो झरिरहेको छ”, वडाध्यक्ष लामाले भने “मङ्गलबार बिहान ११ः०० बजेतिर धुवाँ उडेर पहिरो झर्‍यो । हामी एक बजेतिर गएर हेरेर फर्किंयौं । फेरि अहिले गए राति उस्तैगरी झर्‍यो । अहिले हेर्न जाउँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन ।”

लामाका अनुसार साकिमा डाँडाबाट सेराङ खोलासम्म ३०० मिटरभन्दा लामो पहिरो झरेको छ । “आगो फुक्दा आएजस्तो सेतो धुवाँ उडेको छ”, उनले भने, “डाँडाबाट खोलासम्मचाहिँ करिब ३०० मिटर जति छ । अहिले पनि झरिरहेकाले कति फराकिलो छ भनेरचाहिँ थाहा पाउन सकिएन ।”

उक्त पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनालाई समस्या भएको छ । “गुम्बामा लामा पढ्ने विद्यार्थी २०० जना जति छन् । लामा गुरु र गुम्बाको वृद्धाश्रममा गरी २०० जना गुम्बामा छन्”, वडाध्यक्ष लामाले भने, “उनीहरुलाई रासनलगायत आवश्यक सामग्री उपलब्ध गराउन समस्या हुने भयो ।”

गोरखाको हिमाली भेगतिर धमाधम सुक्खा पहिरो र हिमपहिरो झर्न थालेपछि स्थानीयबासी चिन्तित छन् । “खै अचेल हाम्रो हिमालतिर के भएको हो ?”, वडाध्यक्ष लामाले चिन्ता व्यक्त गरे, “केही समयअघि गत असोज २५ गते सेराङ हिमालकै पूर्वी पाटोमा हिमपहिरो खसेर उङ्गिलुङ खोला थुनिएर बूढीगण्डकीमा विनाशकारी बाढी गएको थियो ।”

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?