News Summary
Generated by OK AI. Editorially reviewed.- दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज २६औं जन्मदिन मनाउँदैछिन्।
- खुशीले सन् २०२३ मा जोया अख्तर निर्देशित नेटफ्लिक्स फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गरिन्।
- खुशी हाल ‘नेलिनिट’ नामको प्रेस–अन नेल्स ब्रान्डमा सहसंस्थापक तथा प्रमुख सिर्जनात्मक अधिकृतका रूपमा जोडिएकी छन्।
दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी कान्छी छोरी खुशी आज आफ्नो २६औं जन्मदिन मनाउँदैछिन् । बलिउडको नामी परिवारमा जन्मिएकी खुशीले अहिलेसम्म अभिनयमा लामो यात्रा तय गरिसकेकी छैनन् ।
तर, फिल्मभन्दा बाहिर उनको पहिरन, महँगा फेसन ब्रान्ड, सार्वजनिक उपस्थिति र जीवनशैलीले भने सधैं लाइमलाइटमा राख्ने गरेको छ ।
सन् २०००मा मुम्बईमा जन्मिएकी खुशीको बाल्यकाल सामान्य थिएन । आमा श्रीदेवी भारतीय फिल्मकी चर्चित अभिनेत्री थिइन् भने पिता बोनी कपूर बलिउडका स्थापित निर्माता ।

दिदी जाह्नवी कपूर पनि फिल्म क्षेत्रमा सक्रिय भएपछि खुसीको परिवार नै मनोरञ्जन जगतको चर्चित नाम बन्यो ।
तर, चर्चित परिवारमा जन्मिँदैमा आफ्नै पहिचान बनाउन सजिलो हुँदैन । खुसीले सन् २०२३ मा जोया अख्तर निर्देशित नेटफ्लिक्स फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गरिन् ।
यसमा उनले बेट्टी कुपरको भूमिका निर्वाह गरेकी थिइन् । सुहाना खान र अगस्त्य नन्दाजस्ता स्टारकिडसँग एउटै फिल्मबाट पर्दामा देखिएकी उनको अभिनयलाई लिएर प्रशंसा र आलोचना दुवै भए ।
त्यसपछि सन् २०२५ मा उनी ‘लभयापा’ र ‘नादानियाँ’मा देखिइन् । ‘लभयापा’मा जुनैद खानसँग र ‘नादानियाँ’मा इब्राहिम अली खानसँग पर्दा बाँडेकी खुसीले फरक भूमिकामार्फत आफूलाई चिनाउने प्रयास गरिन् ।
अर्थात्, उनको फिल्मी यात्रा अहिले पनि सिक्ने र आफ्नो ठाउँ बनाउने चरणमै छ ।

अभिनयसँगै सौन्दर्य व्यवसायमा सक्रिय
अब कुरा गरौँ, उनको फेसनमा रुचिको ।
खुशीको पहिरन र फेसन छनोटले उनलाई युवा पुस्तामाझ पनि चर्चित बनाएको छ । उनी सार्वजनिक कार्यक्रममा डिजाइनर पहिरनमा देखिन्छिन् ।
कहिले आकर्षक गाउन त कहिले परम्परागत पहिरनमा सजिएकी उनका तस्बिर सामाजिक सञ्जालमा छाइरहन्छन् ।

उनको सौन्दर्यप्रतिको रुचि पहिरनमा मात्रै सीमित छैन । नङको सजावट अर्थात् नेल आर्टमा पनि उनको विशेष रुचि छ ।
यही रुचिलाई उनले अहिले व्यावसायिक रूपसमेत दिएकी छन् । हालै ‘नेलिनिट’ नामको प्रेस–अन नेल्स ब्रान्डमा सहसंस्थापक तथा प्रमुख सिर्जनात्मक अधिकृतका रूपमा जोडिएकी छन् । अभिनयसँगै सौन्दर्य व्यवसायमा पनि हात हाल्ने उनको यो प्रयासले खुसीको अर्को पाटो देखाएको छ ।
खुसीको वार्डरोबमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डका पहिरन र सामग्री देखिन्छन् । उनी डिओर, च्यानल र लुइस भुइटनजस्ता ब्रान्डका सामग्रीमा देखिँदै आएकी छन् । सन् २०२५ को एक बिदाको तस्बिरमा उनी फ्लोरल पहिरनसँग लेडी डिओर ब्याग र च्यानलका स्यान्डलमा देखिएकी थिइन् ।
फिटनेस र सौन्दर्यमा पनि उत्तिकै ध्यान
खुसी आफ्नो शारीरिक तन्दुरुस्तीका लागि पिलाटेस गर्छिन् । उनले एक अन्तर्वार्तामा आफू पिलाटेसको पारखी भएको बताएकी थिइन् । कहिलेकाहीँ तौल उठाउने अभ्यास पनि गर्छिन् ।
छालाको हेरचाहमा मोइस्चराइजर, सनस्क्रिन र अनुहार सफा गर्ने नियमित प्रक्रियालाई प्राथमिकता दिने गरेको उनले बताएकी छन् ।

घुमफिर र छुट्टीको रमाइलो
खुसीको सामाजिक सञ्जालमा घुमफिरका तस्बिर पनि प्रशस्तै भेटिन्छन् । बाली, बार्सिलोना, लन्डन, इटाली र न्युयोर्कजस्ता ठाउँमा बिताएका पल उनले सार्वजनिक गरेकी छन् । उनको छुट्टीको शैलीमा पनि फेसन र आकर्षक पहिरनको झल्को देखिन्छ ।

कति छ सम्पत्ति ?
खुसीको सम्पत्तिबारे पनि उत्तिकै चर्चा हुने गर्छ । केही भारतीय सञ्चारमाध्यमले उनको कुल सम्पत्ति करिब ७० करोड भारतीय रुपैयाँ रहेको दाबी गरेका छन् ।
र, यो रकमको आधिकारिक पुष्टि भने भएको छैन ।
फिल्म, विज्ञापन, ब्रान्डसँगको सहकार्य र फेसनसम्बन्धी गतिविधि उनको आम्दानीका सम्भावित स्रोत हुन् ।

परिवारको आर्थिक पृष्ठभूमि पनि उनको विलासी जीवनशैलीको एउटा आधार हो । तर, खुसीको आफ्नै कमाइ र पारिवारिक सम्पत्तिलाई एउटै रूपमा हेर्न मिल्दैन ।
अहिले खुसीका लागि चुनौती चर्चित परिवारकी छोरी वा सुन्दर पहिरनमा देखिने अभिनेत्रीको परिचयमा सीमित नहुनु हो । अभिनयमा आफ्नो क्षमता प्रमाणित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
प्रतिक्रिया 4