+
+
Shares

पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास

२५ वर्षसम्म पिसाब चुहिने समस्याको सङ्कोच र मानसिक बोझ खेपेकी ५३ वर्षीया प्रमिला जोशीले ‘मिनिस्लिङ’ शल्यक्रियापछि आफ्नो आत्मविश्वास मात्र फर्काइनन्, परिवारको खुसीमा आफ्नै स्वास्थ्य बेवास्ता गर्ने महिलाहरूको यथार्थलाई पनि उजागर गरिन् ।

बिन्दु शर्मा बिन्दु शर्मा
२०८३ कात्तिक २० गते ९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धुलिखेल अस्पतालमा प्रमिला जोशीले २५ वर्षदेखि लुकाउँदै आएको पिसाब चुहिने समस्याको ‘मिनिस्लिङ’ शल्यक्रिया गराइन्।
  • पनौतीकी सम्झना केसीले पनि पिसाब चुहिने समस्याको शल्यक्रियापछि दुई महिनामा सुधार आएको अनुभव सुनाइन्।
  • प्रा. डा. आभा श्रेष्ठका अनुसार हाँस्दा, खोक्दा वा गह्रौँ सामान उठाउँदा पिसाब चुहिने समस्या ‘स्ट्रेस युरिनरी इन्कन्टिनेन्स’ हो।
  • धुलिखेल अस्पतालमा सन् २०१७ देखि यो समस्याको उपचार सुरु भएर ५११ महिलाको शल्यक्रिया गरिएको छ।
  • शल्यक्रियाबाहेक केगल व्यायाम, तौल व्यवस्थापन र जीवनशैली परिवर्तन पनि उपचारका विकल्प हुन्।

बनेपा–५ की ५३ वर्षीया प्रमिला जोशी धुलिखेल अस्पतालको स्त्रीरोग वार्डमा शल्यक्रियापछिको स्वास्थ्यलाभ गरिरहेकी थिइन् । उनको हातमा नसा हुँदै दिइने तरल पदार्थ (आईभी फ्लुइड) जोडिएको थियो ।

अस्पतालको शय्यामा बसेर उनी आफ्नी २५ वर्षीया छोरीसँग कुराकानी गरिरहेकी थिइन्। छोरीलाई खाजा खाइन् कि खाइनन् भनेर सोध्दै गरेकी प्रमिलाको अनुहारमा बिरामी अवस्थामै पनि सन्तानप्रतिको माया र चिन्ता प्रष्ट देखिन्थ्यो ।

आफू उपचाररत हुँदा पनि छोरीको खानपानबारे चासो राखिरहेकी उनलाई देख्दा मनमा एउटा प्रश्न उब्जियो, आफ्नो पीडा र असहजताबीच पनि परिवारको खुसीलाई प्राथमिकता दिन अभ्यस्त महिलाहरूले आफ्नै स्वास्थ्यका लागि कति समय निकाल्न पाउँछन् ?

यही प्रश्नले मलाई उनीसँग कुराकानी गर्न प्रेरित गर्‍यो । ‘अहिले कस्तो महसुस भइरहेको छ ? के समस्याका कारण शल्यक्रिया गर्नुपरेको हो ?,’ मैले सोधेँ।

कुराकानीकै क्रममा झन्डै २५ मिनेट बितिसकेको पत्तै भएन । अस्पतालको उक्त वार्डमा शल्यक्रियापछि डिस्चार्जको प्रतीक्षामा रहेका बिरामीहरूलाई राखिने भएकाले पनि उनीसँग खुलेर कुराकानी गर्ने अवसर मिल्यो ।

प्रमिलाले आफ्नो जीवनका भोगाइ सुनाउन थालिन् । उनको कथामा एउटा स्वास्थ्य समस्या मात्र थिएन; त्यहाँ महिलाले परिवारका लागि सहने पीडा, समाजको अपेक्षा, आफ्नै स्वास्थ्यप्रतिको बेवास्ता र वर्षौँसम्म मनभित्र दबाएर राखेको सङ्कोच पनि थियो ।

‘हामी महिलाहरू अरूको खुसीमा रमाउन आफ्नै पीडा लुकाउँछौँ,’ उनले भनिन् । उनका शब्दमा वर्षौको अनुभव र भोगाइ मिसिएको थियो ।

परिवारको जिम्मेवारीमा बिर्सिएको आफ्नै स्वास्थ्य

प्रमिलाले करिब २५ वर्षअघिको जीवन सम्झिइन् । त्यतिबेला गर्भवती हुँदा पनि टाढाको धाराबाट पानी ल्याउनुपर्ने, गह्रौँ भारी बोक्नुपर्ने र सुत्केरी भएपछि पर्याप्त आराम गर्न नपाउने अवस्था थियो ।

‘गर्भवती हुँदा पनि गह्रौँ भारी बोक्नुपर्थ्यो । बच्चा जन्माएपछि एक महिना माइतीमा बसेर आराम गर्न पाउने अवस्था थिएन। घर फर्किएपछि फेरि उही काममा लाग्नुपर्थ्यो,’ उनले विगत सम्झिइन् ।

‘गर्भवती हुँदा पनि गह्रौँ भारी बोक्नुपर्थ्यो । बच्चा जन्माएपछि एक महिना माइतीमा बसेर आराम गर्न पाउने अवस्था थिएन। घर फर्किएपछि फेरि उही काममा लाग्नुपर्थ्यो,’ उनले विगत सम्झिइन् ।

घरायसी कामको बोझ र बुहारीले परिवारका सबै जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने सामाजिक मान्यताबीच आफ्नो स्वास्थ्यबारे सोच्ने फुर्सदसमेत नपाएको उनी बताउँछिन् ।

उनका लगातार दुई सन्तान छोरी भए । दोस्रो सन्तान पनि छोरी भएपछि परिवारमा छोरा चाहने अपेक्षा कायमै रहेको उनले सुनाइन् ।

परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेबारे सोच्दा पनि पारिवारिक दबाबका कारण आफूले चाहेको निर्णय लिन नसकेको उनको भनाइ छ ।

प्रमिलाको अनुभवले महिलाको प्रजनन् स्वास्थ्यसँग सम्बन्धित निर्णयमा उनीहरूकै इच्छा र आवश्यकताले सधैँ प्राथमिकता नपाउने सामाजिक यथार्थलाई उजागर गर्छ ।

‘मैले भोगेको पीडा मलाई मात्रै थाहा छ । मैले जस्तो दुःख अरू कसैले भोग्न नपरोस्,’ उनले भनिन् ।

परिवारको जिम्मेवारी सम्हाल्दै बितेको उनको जीवनमा आफ्नै स्वास्थ्यसँग जोडिएको एउटा समस्या पनि थियो, जसलाई उनले झन्डै २५ वर्षसम्म लुकाएर राखिन् ।

२५ वर्षसम्म लुकाएको पिसाब चुहिने समस्या

प्रमिलालाई विगत २५ वर्षदेखि पिसाब चुहिने समस्या थियो । भान्सामा काम गर्दा, हिँडडुल गर्दा वा आफन्तसँग भेटघाट गर्दा पनि उनलाई ‘कतै पिसाब चुहिने हो कि’ भन्ने चिन्ता लागिरहन्थ्यो ।

समस्या यति असहज थियो कि, महिनावारी नभएको अवस्थामा पनि पिसाब चुहिने डरले प्याड लगाउनुपर्ने बाध्यता थियो ।

दैनिक कामकाजदेखि सामाजिक जमघटसम्म उनले आफ्नो अवस्थालाई लुकाउँदै जीवन बिताइन् ।

‘कहिलेकाहीँ परिवारका सदस्यहरू भेला हुँदा सबै जना खुसी भएर बसेका हुन्थ्यौँ । तर, मलाई कतै पिसाबको गन्ध आइरहेको त छैन भन्ने चिन्ता लागिरहन्थ्यो ।

कोही नजिक आएर कुरा गर्दा पनि नराम्रो नजरले हेरेको त होइन भन्ने डर लाग्थ्यो,’ उनले आफ्नो पीडा सुनाइन् ।

अरूका लागि सामान्य लाग्ने भेटघाट र कुराकानी उनका लागि असहज बन्ने गर्थे । आफूले चाहेजसरी हाँस्न, बोल्न र सामाजिक गतिविधिमा सहभागी हुन समेत उनलाई अप्ठ्यारो लाग्थ्यो ।

पिसाब चुहिने समस्या शारीरिक असहजतामा मात्र सीमित थिएन । त्यससँग जोडिएको लाज, सङ्कोच र ‘अरूले के सोच्लान्‌’ भन्ने डरले उनको मानसिक बोझसमेत बढाएको थियो ।

समस्याबाट छुटकारा पाउने आशामा उनले विभिन्न अस्पताल धाइन् र औषधिसमेत प्रयोग गरिन् । तर, अपेक्षित राहत पाउन सकिनन् ।

पछि एक जना आफन्तमार्फत उनले धुलिखेल अस्पतालमा गरिने ‘मिनिस्लिङ’ शल्यक्रियाबारे जानकारी पाइन् । ती आफन्तले पनि पिसाब चुहिने समस्याका कारण शल्यक्रिया गराएको र त्यसपछि सुधार भएको अनुभव सुनाएकी थिइन् ।

त्यही अनुभवले प्रमिलामा पनि उपचारबाट राहत पाउन सकिन्छ भन्ने आशा जगायो । उनी धुलिखेल अस्पतालको स्त्रीरोग बहिरङ्ग विभागमा पुगिन् र प्राध्यापक तथा परामर्शदाता चिकित्सक डा. आभा श्रेष्ठसँग परामर्श लिइन् ।

आवश्यक परीक्षण तथा मूल्याङ्कनपछि उनको उपचार प्रक्रिया अघि बढ्यो। अन्ततः उनले पिसाब चुहिने समस्याका लागि ‘मिनिस्लिङ’ शल्यक्रिया गराइन् ।

वर्षौदेखि मनमा बोकेर हिँडेको पीडाको समाधान खोज्दै अस्पताल पुगेकी प्रमिलाका लागि यो उपचार शारीरिक समस्याबाट राहत पाउने प्रयास मात्र थिएन, आत्मविश्वासका साथ दैनिक जीवनमा फर्कने आशा पनि थियो ।

‘अब कोही नजिक आउँदा पिसाबको गन्ध आउँछ कि भन्ने डर छैन। यो सोच्न नपर्दा पनि अहिले मन हलुका भएको छ,’ उनले मुस्कुराउँदै भनिन् ।

उनका लागि उपचारपछि प्राप्त राहतको अर्थ पिसाब चुहिने समस्यामा सुधार आउनु मात्र थिएन । अरूले आफूलाई कसरी हेर्लान् भन्ने डर कम हुनु र सामाजिक भेटघाटमा सहज महसुस गर्न सक्नु पनि उत्तिकै महत्त्वपूर्ण थियो ।

दुई महिनामै सुधार अनुभव गरेकी सम्झना

प्रमिलाको अनुभवसँग मिल्दोजुल्दो कथा छ, पनौती नगरपालिका निवासी ५० वर्षीया सम्झना केसीको पनि ।

धुलिखेल अस्पतालमा शल्यक्रियापछि फलोअपका लागि आएकी सम्झनालाई पिसाब चुहिने समस्याले दैनिक जीवनसँगै पारिवारिक तथा सामाजिक गतिविधिमा समेत असहज बनाएको थियो ।

परिवारका सदस्यहरू भेला हुँदा पनि उनी पहिलेझैँ खुलेर सहभागी हुन सक्दिनथिन्। कतै पिसाब चुहिने हो कि भन्ने चिन्ताले उनलाई सधैँ सताइरहन्थ्यो ।

तर, उपचारपछि उनको अवस्थामा सुधार आएको छ । शल्यक्रियाको करिब दुई महिनापछि फलोअपका लागि अस्पताल आएकी सम्झनाले पिसाब चुहिने समस्या बन्द भएको अनुभव सुनाइन् ।

उनको अनुभवले सही उपचारपछि दैनिक जीवनमा सुधार आउन सक्ने देखाउँछ। यद्यपि, उपचारको प्रभाव व्यक्तिअनुसार फरक हुन सक्छ र नियमित फलोअप पनि महत्त्वपूर्ण हुन्छ।

प्रमिला र सम्झनाका अनुभव फरक भए पनि दुवैको अवस्थामा एउटा समानता छ । पिसाब चुहिने समस्याले उनीहरूको शारीरिक अवस्थासँगै आत्मविश्वास र सामाजिक जीवनमा समेत असर पारेको थियो ।

यही समस्याबारे थप बुझ्न धुलिखेल अस्पताल (काठमाडौँ विश्वविद्यालय अस्पताल) को प्रसूति तथा स्त्रीरोग विभागकी प्राध्यापक तथा परामर्शदाता चिकित्सक प्रा. डा. आभा श्रेष्ठसँग कुराकानी गरियो ।

के हो पिसाब चुहिने समस्या ?

प्रा. डा. श्रेष्ठका अनुसार हाँस्दा, खोक्दा, हाच्छ्युँ गर्दा, उफ्रिँदा वा गह्रौँ सामान उठाउँदा अनायासै पिसाब चुहिने अवस्थालाई चिकित्सकीय भाषामा ‘स्ट्रेस युरिनरी इन्कन्टिनेन्स’ भनिन्छ ।’

यस अवस्थामा पिसाब लागेको महसुस भएर शौचालय जान खोजेको नभए पनि पेटभित्रको दबाब बढ्दा पिसाब चुहिन सक्छ । कसैलाई केही थोपा मात्र चुहिन्छ भने कसैको भित्री वस्त्र नै भिज्ने गरी पिसाब निस्कन सक्छ ।

प्रा. डा. श्रेष्ठका अनुसार पिसाब चुहिने समस्याका प्रकार फरक–फरक हुन्छन् । हाँस्दा वा खोक्दा पिसाब चुहिनु र पिसाब लागेपछि शौचालय पुग्नुअघि नै थाम्न नसक्नु फरक अवस्था हुन् ।

त्यसैले, समस्याको प्रकृति पहिचान गरेर मात्रै उपयुक्त उपचार तय गर्नुपर्छ ।

किन हुन्छ यस्तो समस्या ?

प्रा. डा. श्रेष्ठका अनुसार गर्भावस्था, प्रसव तथा उमेरसँगै शरीरमा आउने परिवर्तनले महिलामा पिसाब चुहिने समस्या देखिन सक्छ ।

विशेषगरी बच्चा जन्माउने क्रममा पिसाबथैली, पाठेघर र अन्य श्रोणी अङ्गलाई सहारा दिने मांसपेशी तथा तन्तुहरू तन्किन वा कमजोर हुन सक्छन् । यी संरचनालाई ‘पेल्भिक फ्लोर’ भनिन्छ ।

पिसाबथैलीबाट पिसाब बाहिर निकाल्ने नली अर्थात् युरेथ्रालाई पनि वरपरका मांसपेशी र तन्तुले सहारा दिएका हुन्छन् ।

यी संरचनाले पर्याप्त सहारा दिन नसक्दा हाँस्दा, खोक्दा वा अन्य कारणले पेटभित्रको दबाब बढेपछि पिसाब चुहिन सक्छ ।

गर्भावस्था र प्रसवबाहेक उमेर बढ्दै जाँदा, मोटोपन तथा अन्य स्वास्थ्य अवस्थाका कारण पनि यस्तो समस्या देखिन सक्छ । रजोनिवृत्तिपछि हुने शारीरिक परिवर्तनले समेत केही महिलामा यसको जोखिम बढाउन सक्छ ।

यद्यपि, सबै महिलामा एउटै कारणले समस्या उत्पन्न हुन्छ भन्ने होइन । पिसाब चुहिने समस्या भएकै कारण पिसाबको सङ्क्रमण भएको निष्कर्ष निकाल्न मिल्दैन ।

समस्या लामो समयदेखि भइरहेको छ वा दैनिक जीवनमा असर पारिरहेको छ भने स्वास्थ्यकर्मीसँग परामर्श लिएर यसको कारण पहिचान गर्नु आवश्यक हुन्छ ।

लाज र सङ्कोचले उपचारमा ढिलाइ

प्रा. डा. श्रेष्ठको करिब २३ वर्षको चिकित्सकीय अनुभवमा पिसाब चुहिने समस्याबाट प्रभावित कतिपय महिला सामाजिक लाज र सङ्कोचका कारण आफ्नो समस्या खुलेर बताउन हिचकिचाउँछन् ।

कतिपयले चिकित्सकले पटक–पटक सोधेपछि मात्रै वर्षौँदेखि यस्तो समस्या भोगिरहेको कुरा खुलाउने गर्छन् ।

पिसाब गन्हाउँछ कि भन्ने चिन्ता, अरूले थाहा पाउलान् भन्ने डर र सामाजिक भेटघाटमा हुने असहजताले महिलालाई मानसिक रूपमा समेत प्रभावित पार्न सक्छ ।

यही कारण कतिपयले उपचार खोज्न ढिलाइ गर्ने गरेको उनको अनुभव छ ।

पिसाब गन्हाउँछ कि भन्ने चिन्ता, अरूले थाहा पाउलान् भन्ने डर र सामाजिक भेटघाटमा हुने असहजताले महिलालाई मानसिक रूपमा समेत प्रभावित पार्न सक्छ ।

यही कारण कतिपयले उपचार खोज्न ढिलाइ गर्ने गरेको उनको अनुभव छ ।

कतिपय महिलाले चिकित्सकीय परामर्शबिना एन्टिबायोटिक वा अन्य औषधि प्रयोग गर्ने गर्छन् । तर, पिसाब चुहिने सबै समस्या सङ्क्रमणका कारण हुँदैनन् ।

कारण नपहिचानी औषधि प्रयोग गर्नु उपयुक्त हुँदैन । समस्याको प्रकृति र गम्भीरता पहिचान गरेर आवश्यक परामर्श, व्यायाम, औषधि वा शल्यक्रियामध्ये उपयुक्त उपचार रोज्नु महत्त्वपूर्ण हुन्छ ।

धुलिखेल अस्पतालमा नौ वर्षदेखि उपचार

महिलाले भोगिरहेको यो समस्या र त्यसले उनीहरूको जीवनमा पारिरहेको प्रभावलाई नजिकबाट बुझेपछि प्रा. डा. श्रेष्ठले यसको उपचारलाई प्राथमिकता दिने प्रयास गरिन् ।

उनका अनुसार धुलिखेल अस्पतालमा सन् २०१७ देखि पिसाब चुहिने समस्याको उपचारका लागि ‘मिनिस्लिङ’ शल्यक्रियाको अभ्यास सुरु गरिएको हो ।

त्यसयता ५११ जना महिलाको उपचार गरिएको उनी बताउँछिन्।

यस प्रयासको उद्देश्य पिसाब चुहिने समस्याको उपचार गर्नुका साथै महिलालाई दैनिक जीवनमा सहजता र आत्मविश्वास फर्काउन सहयोग गर्नु हो । उनका अनुसार शल्यक्रियामा प्रयोग हुने विशेष टेप विदेशबाट ल्याइन्छ ।

यस्तो सामग्री प्रयोग हुने भएकाले उपचार महँगो होला भन्ने लाग्न सक्छ । तर, अस्पतालमा सेवा तुलनात्मक रूपमा सुलभ मूल्यमा उपलब्ध गराउने प्रयास गरिएको उनी बताउँछिन् ।

‘सामान्य आर्थिक अवस्था भएका महिलासमेत उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ उनको भनाइ छ।

आफूले चिकित्सकीय शुल्क नलिई सेवा दिँदै आएको डा. श्रेष्ठ बताउँछिन्। प्रयोगशाला परीक्षण तथा अस्पताल बसाइको खर्चबाहेक उपचारको कुल खर्च सामान्यतया २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्ने गर्छ ।

वास्तविक खर्च भने बिरामीको अवस्था र आवश्यक सेवाअनुसार फरक पर्न सक्छ।

के हो मिनिस्लिङ शल्यक्रिया ?

प्रा. डा. श्रेष्ठका अनुसार मिनिस्लिङ शल्यक्रिया पिसाबथैलीबाट पिसाब फेर्ने नली अर्थात् युरेथ्रालाई सहारा दिन विशेष टेप प्रयोग गरिने शल्यक्रियात्मक विधि हो ।

यसको उद्देश्य पेटभित्रको दबाब बढ्दा युरेथ्रालाई आवश्यक सहारा दिएर पिसाब चुहिने समस्या कम गर्नु हो ।

यस प्रक्रियामा युरेथ्राको तलतिर विशेष टेप राखिन्छ। टेप राख्ने तरिका शल्यक्रियाको प्रकारअनुसार फरक हुन सक्छ ।

त्यसैले, मिनिस्लिङ र ट्रान्सअब्टुरेटर टेप जस्ता विधिलाई एउटै प्रक्रिया ठान्नु हुँदैन ।

प्रा. डा. श्रेष्ठका अनुसार आफूहरूले गर्ने मिनिस्लिङ शल्यक्रिया करिब १५ मिनेटमा सम्पन्न हुने गरेको छ । यद्यपि, शल्यक्रियामा लाग्ने समय बिरामीको अवस्था र प्रयोग गरिएको विधिअनुसार फरक पर्न सक्छ ।

पिसाब चुहिने समस्या भएका सबै महिलालाई शल्यक्रिया आवश्यक पर्दैन। समस्याको प्रकार, गम्भीरता, परीक्षणको नतिजा र बिरामीको स्वास्थ्य अवस्थाका आधारमा चिकित्सकले उपचारको योजना बनाउँछन् ।

शल्यक्रियाबाहेक पनि छन् उपचारका विकल्प

पिसाब चुहिने समस्या देखिनासाथ शल्यक्रिया गर्नुपर्छ भन्ने होइन। स्ट्रेस युरिनरी इन्कन्टिनेन्स भएका महिलामा पेल्भिक फ्लोर मांसपेशी बलियो बनाउने केगल व्यायाम उपयोगी हुन सक्छ ।

आवश्यकताअनुसार तौल व्यवस्थापन, जीवनशैलीमा परिवर्तन तथा अन्य उपचारका विकल्प पनि अपनाउन सकिन्छ । चिकित्सक वा प्रशिक्षित स्वास्थ्यकर्मीको सल्लाहमा नियमित व्यायाम गर्दा केही महिलामा लक्षण कम हुन सक्छन् ।

व्यायाम र अन्य प्रारम्भिक उपचारपछि पनि समस्या कायम रहेमा थप परीक्षण गरेर शल्यक्रियालगायतका विकल्पबारे चिकित्सकसँग छलफल गर्न सकिन्छ ।

कुन उपचार उपयुक्त हुन्छ भन्ने कुरा समस्याको प्रकार, गम्भीरता र व्यक्तिको स्वास्थ्य अवस्थाले निर्धारण गर्छ ।

त्यसैले, पिसाब चुहिने समस्या भएमा आफैँ औषधि प्रयोग गर्नु वा यसलाई उमेरको सामान्य असर ठानेर बेवास्ता गर्नुको सट्टा स्वास्थ्यकर्मीसँग परामर्श लिनु आवश्यक हुन्छ ।

आफ्नो स्वास्थ्यका लागि बोल्नु पनि साहस हो

प्रमिला जोशीले झन्डै २५ वर्षसम्म पिसाब चुहिने समस्या लुकाएर राखिन्। सम्झना केसीले पनि यही समस्याका कारण पारिवारिक तथा सामाजिक गतिविधिमा असहजता भोगिन् ।

उपचारपछि दुवैले सुधार अनुभव गरेका छन् । उनीहरूका अनुभवले पिसाब चुहिने समस्या महिलाको शारीरिक स्वास्थ्यसँग मात्र सम्बन्धित नभई आत्मसम्मान, मानसिक सहजता र सामाजिक सहभागितासँग पनि जोडिएको देखाउँछन् ।

महिलाको स्वास्थ्यलाई लाज वा कमजोरीसँग जोडेर हेर्ने सोच बदल्न आवश्यक छ ।

गर्भावस्था र सुत्केरी अवस्थामा पर्याप्त आराम, घरायसी कामको न्यायोचित बाँडफाँड, परिवार नियोजनसम्बन्धी निर्णयमा महिलाको स्वायत्तता र समयमै स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरले महिलाको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ ।

(यस सामग्रीमा उल्लेख गरिएका नामहरू सम्बन्धित बिरामीको सामाजिक तथा पारिवारिक प्रतिष्ठा र गोपनीयतामा आँच नपुगोस् भन्ने उद्देश्यले परिवर्तन गरिएका हुन्। बिरामीसँग आवश्यक सहमति लिइएको भए तापनि उनको पहिचान गोप्य राख्ने र व्यक्तिगत मर्यादाको सम्मान गर्ने हेतुले नाम परिवर्तन गरिएको हो।)

लेखक
बिन्दु शर्मा

शर्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?