भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार संदिग्ध चरमपन्थीले गोली चलाउँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन् ।
सीआरपीएफका एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका अज्ञात आक्रमणकारीले प्रहरी टोलीमाथि गोली चलाएका थिए ।
गोली चलेको आवाज सुनेपछि स्थानीय पसलेहरूले पसल बन्द गरेका थिए भने सडकमा हिँडिरहेका सर्वसाधारण ज्यान जोगाउन भागेका थिए । आक्रमणपछि हमलाकर्ता घटनास्थलबाट फरार भएका छन् ।
घाइते जवानहरूलाई अनन्तनागस्थित सरकारी मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिलाल मुशर्रफ बन्देका अनुसार एक जवानको पेटमा, अर्काको हातमा र तेस्रोको खुट्टामा चोट लागेको छ ।
उनले तीनै जनाको अवस्था स्थिर रहेको जानकारी दिए। तर, अधिकारीहरूको अनुरोधमा एक जवानलाई थप उपचारका लागि श्रीनगरस्थित सैनिक आधार अस्पताल पठाइएको छ ।
अहिलेसम्म कुनै पनि चरमपन्थी संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन। घाइते जवानहरूको पहिचानसमेत सार्वजनिक भएको छैन ।
घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीको खोजीका लागि उक्त क्षेत्रमा तलासी अभियान सुरु गरेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार दक्षिण कश्मीरका कुलगाम र अनन्तनाग जिल्लाका विभिन्न स्थानमा सुरक्षा जाँच चौकी स्थापना गरी आवतजावत गर्ने व्यक्तिहरूको तलासी भइरहेको छ ।
दक्षिण कश्मीरमा चार महिनाअघि भएका आक्रमणमा जम्मु–कश्मीर प्रहरीका एक जवान र छत्तीसगढका दुई गैरस्थानीय प्रवासी मजदुरको गोली हानी हत्या गरिएको थियो ।
प्रतिक्रिया 4