+
+
Shares

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

‘सहरमा हुँदा राति सपनामा पनि गाउँ देख्थेँ। विगतका स्मृतिहरू रिलझैँ आँखाअगाडि आइरहन्थे,’ कमल सुनाउँछन्, ‘सहरको रमझम, भिडभाड र कोलाहलभन्दा पर आफ्नै गाउँको स्वच्छ हावा, माटोको सुगन्ध र प्राकृतिक सौन्दर्यमा रमाउन मन लाग्थ्यो।’

सुवास पण्डित सुवास पण्डित
२०८३ कात्तिक २६ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. कमल पण्डितले सहरको जागिर र सुविधा छाडेर तनहुँको बन्दीपुरमा करिब ५ करोड लगानीमा ‘बन्दीपुर फार्म हाउस स्टे’ सञ्चालन गरेका छन् ।
  • २०७७ सालदेखि निर्माण गरिएको फार्म हाउसमा १० कोठा र ३ टेन्ट हाउस छन्, जहाँ एक रात ३० देखि ४० जनासम्म बस्न सक्छन् ।
  • उनले फार्म हाउसलाई कृषि उत्पादन, स्थानीय संस्कृति र आरोग्य पर्यटन जोड्ने दिगो पर्यटकीय गन्तव्य बनाउने योजना बनाएका छन् ।

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको माटो, स्वच्छ हावा र प्रकृतिको काख प्रिय बन्यो। गाउँको सम्झनाले बारम्बार तानिरहने मनलाई उनले धेरै समय रोक्न सकेनन्। अन्ततः उनी गाउँ फर्किए र कृषि तथा पर्यटनलाई जोड्ने उद्देश्यसहित सुरु गरे, ‘बन्दीपुर फार्म हाउस स्टे’।

नेपाल र चीनका जनताबीचको जनस्तरीय सम्बन्ध विषयमा विद्यावारिधि गरेका कमलको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि पनि सामान्य छैन। कानुनमा स्नातक, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी चिनियाँ भाषामा समेत दख्खल राख्छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा २३ वर्ष काम गरेका उनले उपदान लिएर जागिर छाडे। चितवनको भरतपुरस्थित इन्द्रेणी चोकमा उनको पाँचतले घरसमेत छ। तर यी सबै सुविधा र अवसरले उनलाई गाउँको मोहबाट टाढा राख्न सकेनन्।

‘सहरमा हुँदा राति सपनामा पनि गाउँ देख्थेँ। विगतका स्मृतिहरू रिलझैँ आँखाअगाडि आइरहन्थे,’ कमल सुनाउँछन्, ‘सहरको रमझम, भिडभाड र कोलाहलभन्दा पर आफ्नै गाउँको स्वच्छ हावा, माटोको सुगन्ध र प्राकृतिक सौन्दर्यमा रमाउन मन लाग्थ्यो।’

उनलाई लाग्थ्यो, दिनभरि चारो खोज्न गएको चरा साँझ आफ्नै गुँडमा फर्किएझैँ मानिस पनि अन्ततः आफ्नो माटोमै फर्किनुपर्छ। यही भावनाले उनलाई गाउँ फर्कायो। गाउँ फर्किएपछि भने उनले केवल व्यक्तिगत जीवन बिताउने सोच बनाएनन्। बन्दीपुरको पर्यटन सम्भावनालाई कृषिसँग जोडेर नयाँ अभ्यास गर्ने योजना बनाए। त्यसैको परिणाम हो, बन्दीपुर फार्म हाउस स्टे।

तनहुँको पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट करिब ६ किलोमिटर दूरीमा रहेको फार्म हाउस बन्दीपुरको पुरानो बजार जाने बाटोमै पर्छ। यहाँबाट करिब दुई किलोमिटर उकालो चढेपछि बन्दीपुरको ऐतिहासिक बजार पुग्न सकिन्छ। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र शान्त वातावरणको संगम रहेको यो ठाउँलाई कमलले आफ्नो नयाँ कर्मथलो बनाएका हुन्।

उनले यो स्थान छनोट गर्नुको पछाडि पनि विशेष कारण छ। एकातिर आँखैअगाडि देखिने हिमालका शृङ्खला, अर्कोतिर पहाडका तरेली र नजिकैबाट बगिरहेको मस्याङ्दी नदीको सुसाहट। धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमालचुली, लमजुङ हिमालका दृश्य यहाँबाट अवलोकन गर्न सकिन्छ। हिमाल छोएर आउने चिसो हावाको स्पर्श र प्रकृतिको शान्त वातावरणले आफूलाई छुट्टै आनन्द दिने कमल बताउँछन्।

‘पर्यटन भनेको प्रकृतिसँग जोडिने विषय हो। यहाँ हिमाल छन्, पहाड छन्, नदीको आवाज छ। यी सबै कुराको अनुभूति एकै ठाउँमा गर्न सकिन्छ,’ उनी भन्छन्।

२०७७ सालदेखि निर्माण सुरु गरिएको फार्म हाउसका लागि कमलले करिब २० रोपनी जग्गा व्यवस्थापन गरेका छन्। करिब पाँच करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको फार्म हाउस उनको दृष्टिमा सामान्य होटल वा रिसोर्ट मात्र होइन। यो कृषि उत्पादन, स्थानीय संस्कृति, मौलिक खानपान र ग्रामीण जीवनशैलीलाई पर्यटकसँग जोड्ने एउटा प्रयास हो।

फार्म हाउसको विशेषता यसको बनोट र वातावरणमा पनि देखिन्छ। कंक्रिटका अग्ला भवन र आधुनिक संरचनाले भरिएका सहरबाट आउने पाहुनाले गाउँको मौलिकता अनुभव गर्न सकून् भन्ने उद्देश्यले उनले भवनको बाहिरी स्वरूप परम्परागत शैलीमा तयार पारेका छन्। ग्रामीण परिवेश र बन्दीपुरको पहिचान झल्किने गरी बनाइएको संरचनाले आगन्तुकलाई फरक अनुभूति दिने उनको विश्वास छ।

‘कंक्रिटको जंगलमा बस्दा वाक्कदिक्क भएका मानिसहरू यहाँ आएर शान्ति र आनन्दको सास फेर्न सकून् भन्ने चाहना हो,’ उनी भन्छन्, ‘धेरै पाहुनाले यहाँको डिजाइन र वातावरण मन पराउनुभएको छ।’

फार्म हाउसमा अहिले १० वटा कोठा र तीनवटा टेन्ट हाउस छन्। एक रातमा करिब ३० देखि ४० जनासम्म पाहुनालाई बसोबासको सुविधा उपलब्ध गराउन सकिन्छ। गाउँघरको मौलिक शैली झल्किने तर आवश्यक सुविधासहितका कोठा तयार पारिएका छन्। एक रात बसेको औसत प्रतिव्यक्ति १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म खर्च लाग्छ। दिनभरि बन्दीपुर बजार र आसपासका पर्यटकीय क्षेत्र घुमेर साँझ फार्म हाउसमा फर्किने पर्यटकका लागि खुला वातावरणमा रमाउने, स्थानीय परिकार खाने र आराम गर्ने व्यवस्था छ।

कमलको योजनामा फार्म हाउसको सबैभन्दा महत्त्वपूर्ण पक्ष भने कृषि उत्पादन हो। उनी आफूलाई फार्म हाउसको मालिक वा सञ्चालकका रूपमा मात्र सीमित राख्दैनन्। पाहुनाको स्वागत र व्यवस्थापनसँगै उनी आफैँ खेतबारीमा पुग्छन्। माटो खन्छन्, खनजोत गर्छन्, तरकारी लगाउँछन् र फलफूलका बिरुवा रोप्छन्।

‘यो मेरो भोक हो। बाल्यकालदेखि नै माटो खन्ने र खेतीपाती गर्ने रुचि थियो। माटो खन्दा आउने सुगन्ध नै मलाई मिठो लाग्छ,’ उनी भन्छन्।

फार्म हाउसको जमिनमा मौसमअनुसार सागपात, मुला, लेमनग्रास, आलु, लसुन र तोरी उत्पादन गरिन्छ। कागती, केरा, अम्बा, आँप, लिची, भुइँकटहर र रुखकटहरका बिरुवासमेत रोपिएका छन्। मौरीका घार पनि राखिएका छन्। आफ्नो फार्ममा उत्पादन हुने कृषि उपज पाहुनालाई खुवाउने र नपुग्ने वस्तु स्थानीय किसान तथा समुदायबाट खरिद गर्ने उनको योजना छ। नजिकैको बाख्रा फार्ममा उत्पादन हुने वस्तु पनि पाहुनालाई उपलब्ध गराउने तयारी छ।

उनको उद्देश्य पाहुनालाई स्वादिष्ट खाना खुवाउनु मात्र होइन, खानाको स्रोत र उत्पादन प्रक्रियासँग पनि परिचित गराउनु हो। पाहुनाले आफ्नै आँखाअगाडि बारीबाट ताजा तरकारी टिपेर खान पाउँदा त्यसको आनन्द नै फरक हुने उनको बुझाइ छ। स्थानीय रैथाने खाद्य परिकारलाई प्राथमिकता दिँदै अर्गानिक र स्वस्थकर खानपानलाई फार्म हाउसको पहिचान बनाउने प्रयास भइरहेको छ।

‘खाना स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। थोरै खाने, मिठो खाने, राम्रो र शुद्ध खाने हाम्रो अवधारणा हो,’ उनी भन्छन्।

मासुजन्य परिकार मन पराउने पाहुनाका लागि आफ्नै फार्ममा कुखुरा, हाँस र कालिज पाल्ने तयारी पनि कमलले गरेका छन्। यसका साथै बन्दीपुरका स्थानीय किसानलाई व्यावसायिक रूपमा अर्गानिक तरकारी उत्पादनतर्फ आकर्षित गर्ने उनको योजना छ। फार्म हाउसमा आवश्यक पर्ने कृषि उपज स्थानीय समुदायबाट खरिद गर्दा किसानको उत्पादनले बजार पाउने र पर्यटनको आम्दानी गाउँमै रहने उनको अपेक्षा छ।

कमलका लागि फार्म हाउस केवल पर्यटकले रात बिताउने ठाउँ पनि होइन। उनी यसलाई सिकाइ, ज्ञान र अनुभव आदानप्रदान गर्ने थलो बनाउन चाहन्छन्। पाहुनासँग आफ्ना योजना र विचार सुनाउने, उनीहरूका सुझाव सुन्ने र नयाँ सम्भावनाबारे छलफल गर्ने उनको दैनिकीको हिस्सा बनेको छ।

उनको विचारमा बन्दीपुर आउने पर्यटक केवल होटलमा बस्न वा दृश्य हेर्न मात्र आउँदैनन्। उनीहरू ग्रामीण जीवनशैली, स्थानीय संस्कृति, रीतिरिवाज, मौलिक खानपान र प्रकृतिसँग नजिकिन चाहन्छन्।

‘नेपालका ग्रामीण क्षेत्र, अझ भनौँ बन्दीपुरजस्ता ठाउँमा आउने पर्यटक यहाँको मौलिकता हेर्न, बुझ्न र सिक्न आउँछन्। कंक्रिटको जीवनबाट केही दिन भए पनि प्राकृतिक जीवनमा फर्काउने गन्तव्य बन्दीपुर बन्न सक्छ,’ कमल भन्छन्।

उनको सोच फार्म हाउसमा बसोबास र कृषि पर्यटनमा मात्र सीमित छैन। आगामी दिनमा यसलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उनको योजना छ। नेपाललाई ऋषिमुनिहरूको तपोभूमि, ज्ञानको भण्डार तथा आयुर्वेद र योग साधनाको उद्गम भूमिका रूपमा विश्वसामु चिनाउनुपर्ने उनको धारणा छ। त्यसैले योग, ध्यान, प्राकृतिक जीवनशैली र स्वस्थ खानपानलाई पर्यटनसँग जोडेर नयाँ अभ्यास गर्न सकिने उनी ठान्छन्।

‘पर्यटनलाई हामीले सानो दृष्टिकोण र सीमित परिभाषाभित्र राखेका छौँ। नेपालसँग विश्वलाई देखाउन सक्ने ज्ञान, संस्कृति र प्राकृतिक सम्पदा धेरै छन्। त्यसलाई पर्यटनसँग जोड्न आवश्यक छ,’ उनी भन्छन्।

भौगोलिक अवस्थिति पनि बन्दीपुरको अर्को सम्भावना हो। काठमाडौं, चितवन र पोखराजस्ता प्रमुख सहरको बीचमा पर्ने भएकाले बन्दीपुरलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज गन्तव्य बनाउन सकिने कमलको बुझाइ छ। पृथ्वी राजमार्गबाट नजिकै रहेकाले मनाङ, मुस्ताङ र पोखरा जाने पर्यटकका लागि समेत बन्दीपुर विश्रामस्थल अर्थात् ट्रान्जिट पोइन्ट बन्न सक्छ।

फार्म हाउसमा बस्ने पर्यटकले बन्दीपुरका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्न सक्छन्। ढुंगा बिछ्याइएको ऐतिहासिक बजार, परम्परागत नेवारी शैलीका घर, ग्रेटवालको झल्को दिने पर्खाल, केबलकार, टुँडिखेल, तीनधारा र आसपासका पहाडी दृश्य यहाँका आकर्षण हुन्। टुँडिखेलबाट देखिने नागबेली पहाड र तल बगिरहेको मस्याङ्दी नदीको दृश्यले पर्यटकलाई आकर्षित गर्छ। मौसम खुलेका बेला हिमालको मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ।

जाडोमा बिहानको न्यानो घाम र गर्मीमा शीतल वातावरण बन्दीपुरका थप विशेषता हुन्। ग्रामीण घर र होमस्टेमा बस्दै स्थानीय जीवनशैली बुझ्ने अवसर पनि यहाँ उपलब्ध छ।

कमलले बन्दीपुरको सम्भावना देखेर लगानी गरेका हुन्, तर उनको उद्देश्य छोटो समयमा धेरै नाफा कमाउनु मात्र छैन। कृषि उत्पादन, स्थानीय समुदायको सहभागिता, मौलिक संस्कृति र प्रकृतिको संरक्षणमार्फत दिगो पर्यटन विकास गर्नु उनको प्राथमिकता हो।

सहरको सुविधा छाडेर गाउँ फर्किएका कमल अहिले दिनहुँ आफ्नो फार्म हाउसमा नयाँ सम्भावना खोजिरहेका छन्। कहिले खेतबारीमा तरकारी रोपिरहेका हुन्छन्, कहिले पाहुनासँग पर्यटनका विषयमा छलफल गरिरहेका हुन्छन् त कहिले आरोग्य पर्यटनको योजना बनाइरहेका हुन्छन्।

पीएचडीको उपाधि, लामो जागिरे अनुभव र सहरमा स्थापित जीवन हुँदाहुँदै गाउँको माटो रोजेका कमलका लागि बन्दीपुर फार्म हाउस व्यवसाय मात्र होइन, आफ्नो रुचि, ज्ञान र गाउँप्रतिको प्रेमलाई व्यवहारमा उतार्ने माध्यम बनेको छ। उनी चाहन्छन्, बन्दीपुर आउने पर्यटकले यहाँको सुन्दरता हेरेर मात्र नफर्किऊन्, बरु गाउँको स्वाद, संस्कृति, प्रकृति र स्वस्थ जीवनशैलीको अनुभव पनि लिएर जाऊन्।

लेखक
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?